Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतल्लो आयोजनाको सहमतिविना माथिल्लो क्षेत्रमा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पाइने

तल्लो आयोजनाको सहमतिविना माथिल्लो क्षेत्रमा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पाइने


काठमाडौं । पीआरओआर (अर्धजलाशययुक्त) जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले तल्लो भेगमा रहेको जलविद्युत् आयोजनाको सहमतिविना नै ऊर्जा मन्त्रालय वा विद्युत् विकास विभागबाट सहमति लिएर माथिल्लो क्षेत्रमा विद्युत् आयोजना निर्माण गर्न पाउने भएको छ ।

यसअघिको व्यवस्थामा तल्लो तटीय क्षेत्रको आयोजनाको अग्रिम सहमति लिएर मात्र माथिल्लो क्षेत्रमा अर्को पीआरओआर जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने व्यवस्था थियो । मन्त्रालय/विभागबाट सहमति लिँदा तल्लो तटीय क्षेत्रको आयोजनाको औसत मासिक विद्युत् उत्पादनलाई असर पार्न भने हुँदैन । यसअघि दैनिक उत्पादनमा असर पार्ने भन्दै तल्लो तटीय क्षेत्रका आयोजनाले सहमति दिने गरेका थिएनन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस्तो व्यवस्थाले पीआरओआर किसिमका विद्युत् आयोजना निर्माणमा प्रगति हुनेछ । अहिले नेपालमा अधिकांश विद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) छन् । पीआरओआर आयोजनाले विद्युत् माग बढी भएको बेला उत्पादन दिनेछ । यसले ऊर्जा संकट घटाउन सहयोग गर्नेछ ।

मन्त्री भुसालले दिएको जानकारीअनुसार अब आर्थिक वर्ष २०८९/०९० सम्म व्यापारिक उत्पादन सुरु गर्ने जलविद्युत् आयोजनाको ‘टेक अर पे’मा आधारित पीपीए अर्थात् विद्युत् खरिद सम्झौता हुने भएको छ । यसअघि २०८४/०८५ सम्म व्यापारिक उत्पादन सुरु गर्ने आयोजनाको मात्र ‘टेक अर पे’मा आधारित पीपीए हुने व्यवस्था नेपाल विद्युत् प्राधिकरणले गरेको थियो । पाँच वर्ष सीमा थप भएपछि विद्युत् उत्पादन गर्न आयोजनाहरु थप अग्रसर हुने अपेक्षा मन्त्रालयको छ ।

‘टेक अर पे’मा आधारित पीपीए भएका आयोजनाको बिजुली जसरी पनि प्राधिकरणले किन्नुपर्छ । यदि किन्न नसकेर वा खेर गएमा प्राधिकरणले नै क्षतिपूर्ति तिर्नुपर्छ । अर्थात् बिजुली खपत नगरे पनि भुक्तानी गर्नुपर्नेछ । यसअघि उपयोग भएजति भुक्तानी गर्ने (टेक एण्ड पे) को सिस्टम हुँदा विद्युत् उत्पादकहरुले उत्पादनमै रुचि नदिएपछि वर्षमान पुन ऊर्जामन्त्री भएको बेला ‘टेक अर पे’मा पीपीए गर्ने निर्णय भएको हो ।

यस्तै पत्रकार सम्मेलनमा मन्त्री भुसालले आर्थिक वर्ष २०७८/०७९ मा मात्रै मुलुकको केन्द्रीय प्रणालीमा सात सय ७१ मेगावाट बिजुली थप भई कुल विद्युत् उत्पादन क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको जानकारी दिइन् । त्यसैगरी ६६ केभीभन्दा माथिको प्रसारणलाइन चार सय ४६ मेगावाट सर्किट किलोमिटर थप भई पाँच हजार ८६ सर्किट किलोमिटर बराबर निर्माण भएको छ । यस्तै बिजुलीको चुहावटसमेत १७ दशमलमव १८ बाट घटेर १५ दशमलव ३८ प्रतिशत कायम भएको छ ।

मुलुकको ९५ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । पछिल्लो पाँच वर्षको विद्युत्को वार्षिक औसत खपतदर १८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कुल २१ हजार छ सय ४२ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भई सिँचाइ सुविधा उपलब्ध भई कुल सिञ्चित क्षेत्रफल १५ लाख ३१ हजार ६९ हेक्टर बराबर पुगेको छ । यस्तै, विद्युतीय पूर्वाधारको विकास तथा विस्तार गर्दै विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि सहुलियत दरमा महसुल निर्धारण गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x