Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठेला व्यवसायको लागि ठाउँ नतोक्दा सास्ती भोग्दै व्यवसायी

ठेला व्यवसायको लागि ठाउँ नतोक्दा सास्ती भोग्दै व्यवसायी


कञ्चनपुर, फागुन १५

कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार नगर क्षेत्रमा साना–साना ठेला व्यवसाय गर्ने व्यवसायीहरूका लागि उपयुक्त र उचित ठाउँ हालसम्म तय गर्न नसक्दा साना ठेला व्यवसायीहरूले दिनहँु सास्ती भोगिरहेको ठेला व्यवसायीहरूले गुनासो गरेका छन् । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा ठेला व्यवसाय गरिहेका स्थानीय व्यापार व्यावसायीहरूमाथि तानाशाही प्रकृतिको व्यवहारसमेत देखाएको ठेला व्यवसायीले गुनासो गरेका छन् ।भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा स–साना ठेला व्यवसाय गर्ने व्यवसायीहरूका लागि उचितरूपमा स्थानको व्यवस्थापन नगर्दा स्थानीय साना ठेला व्यापार व्यावसायीहरू लामो समयदेखि मर्कामा पर्दै आएका छन् । विगतमा नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा ठेला व्यवसायीका लागि तोकिएको थियो तर पछि व्यवसायीहरूले संविधान चोकलगायत सडकको किनारामा ठेलामा व्यवसाय गर्दै आइरहेका छन् । नगरपालिकाले तरकारी व्यवसायीका लागि होटेल ओपेराछेउ अगाडि ठाउँ तोकिदिएको भए पनि उक्त ठाउँ सबै ठेला व्यवसायका लागि उपयुक्त र पर्याप्त नभएको ठेला व्यवसायीहरूको गुनासो रहेको छ । उनीहरूले सडकछेउमा व्यापार व्यवसाय गरी जीविकोपार्जन गरिरहेका साना व्यवसायीहरूलाई नगरपालिकाले दुःख दिँदै आएको बताएका छन् ।

व्यवसायीहरूबाट चर्को दरमा कर असुलेको भीमदत्त नगरपालिकाले व्यवसायमा प्रोत्साहन गर्नुको साटो साना व्यवसायप्रति कठोर हुँदै गएको समेत उनिहरूको गुनासो रहेको छ । सडक किनारामा व्यवसाय गरी घरधन्दा चलाइरहेका व्यवसायीका ठेला, तराजुलगायतका सरसामान भीमदत्त नगरपालिकाले नगरप्रहरी खटाएर कब्जामा लिने गरेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अधिकांश महिलाहरू ठेला व्यवसाय गरेर जीविकोपार्जनमा लागेका छन् । तर, नगरपालिकाले नै व्यवसायमा गर्न बन्देज लगाउने गरी गरेको कार्यले व्यसायीहरू मारमा परेका छन् । नगरपालिकाले कब्जा गरी लगेको समान उल्टै व्यवसायीहरूबाट दुई सयदेखि पाँच सय रूपैयाँसम्म जरिवाना तिराउने गरेको छ । मंगलबार भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा ठेला व्यवसाय गरिरहेका व्यापारीहरूको ठेलासहित सामानहरू उठाएर लगेको छ, स्थानीय व्यापारीको सामान जफत गरेपछि व्यापारीहरू नगरपालिकामा पैसा बुझाएर फिर्ता लिन बाध्य भएका छन् । भीमदत्त नगरपालिकाले भने नगर क्षेत्रमा अवैधानिकरूपमा निषेधित क्षेत्रमा ठेला व्यवसाय चलाइरहेका व्यवसायीको पटक–पटक सूचना गर्दासमेत सूचनाको बेवास्ता गर्नेको ठेला समातेको बताएको छ । तर, स्थानीय व्यापारीहरूले वैधानिकरूपमै अनुमति लिएर नगरपालिकाको निर्णय र निर्देशनअनुसार नै व्यवसाय चलाएको ठोकुवा गरेका छन् । सडकभन्दा २५ मिटर टाढा रहेका ठेलालाई समेत नगरपालिकाले समातेको बताएका छन् । स्थानीय ठेला व्यवसायी खडक रोका मगरका अनुसार नगरपालिकाले दोहोर चरित्र देखाइरहेको छ ।, उनले भने – ‘कसैलाई लाखा कसैलाई पाखा गर्ने काम गरिरहेको छ ।’

अर्का व्यापारी मानमति भट्टले फलफूलसहित समानहरू नगरपालिकाले सूचनाविना नै लगेको बताइन् । ‘आफूले नालीभन्दा पछाडि बसेर स–साना ठेलागाढामा व्यवसाय गरेर जीविका गरिहँदा पनि नगरपालिकाले खान दिएको छैन् ।’ शुशीला भट्टले अर्काको पसलमा भाडा तिरेर ठेला चलाउँदा पनि सामान उठाएर लगेको बताइन् । उनले रोडभन्दा २५ मिटर पछाडि नै ठेला चलाएको बताइन् । नगरपालिकाले बजारको सडकछेउमा ठेलागाढा नचलाउन आग्रह गर्दै आएको छ तर व्यापारीले पनि उक्त कुराको अवज्ञा गर्दै आएका छन् । एकातिर नगरपालिका ठेलागाढा व्यवसायीका लागि निश्चित ठाउँ तय गर्न सकिरहेको छैन भने अर्कातिर पटक–पटक अनेक प्रकारका निर्णय दिँदै कहिले कतै कहिले कतै ठाउँ तय गराउने गर्दछ, यसले पनि व्यापारीहरू अन्यौलमा पर्ने गरेका छन् जसले गर्दा उनीहरू बढीजसो मदन चोकदेखि बसपार्क रोडको दुवै छेउमा ठेला लगाउने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x