Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीडीओ र गुठी संस्थान कर्मचारीको मिलेमतोमा कीर्ते मोही खडा गरी सवा २ करोड हिनामिना

सीडीओ र गुठी संस्थान कर्मचारीको मिलेमतोमा कीर्ते मोही खडा गरी सवा २ करोड हिनामिना


काठमाडौं । धनुषा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ), गुठी संस्थान शाखा कार्यालयका तत्कालीन कार्यालय प्रमुख, सहायक प्रशासक, वरिष्ठ लेखा सहायक गरी १३ जना सदस्यहरुको मिलेमतोमा धनुषा जिल्लाको भरतपुर गाउँ विकास समितिमा रहेको गुठीको स्वामित्व रहेको जग्गामा कीर्ते मोही कायम गरी सार्वजनिक सम्पत्ति माथि हानि/नोक्सानी पु-याएका छन् ।

गुठी स्वामित्वमा रहेको जग्गामा कीर्ते मोही कायम गरी मुआब्जा वितरण गर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोज कुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल छन् । यसका साथै कीर्ते मोही तथा बिचौलियाको काममा संलग्न गायत्रीदेवी जयसवाल र निजका छोरो शत्रुधन जयसवाल, सुमनकान्त ठाकुर, उपेन्द्रलाल कर्ण कायस्थ, मनोजलाल कर्ण, सूर्यनारायण लालकर्ण, उपेन्द्रलाल कर्ण कायस्थ, बिन्दादेवी कर्ण र उनका छोरा मनोजलाल कर्ण छन् । उनीहरु नक्कली जग्गाधनी बनी रकम एक अर्कामा बाँडफाँट गरेका थिए ।

नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्वमा रहेको उक्त जग्गामा सीडीओ, गुठी संस्थानका कर्मचारीहरुले मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी दुई करोड २९ लाख ३३ हजार रुपैयाँ वितरण गरी सार्वजनिक सम्पत्तिमाथि हानि/नोक्सानी पु-याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । जसमा सीडीओ गौतम तथा प्रमुख पाण्डे, सहायक प्रशासक आचार्य, वरिष्ठ लेखा सहायक भुसालले गुठी संस्थानको खातामा भुक्तानी हुनुपर्ने एक करोड १४ लाख ६६ हजार रुपैयाँ नक्कली मोही खडा गरी वितरण गरेका थिए । यस्तै, मुआब्जा रकम ८९ लाख ८३ हजार रुपैयाँ बुझ्नेमा कीर्ते मोही गायत्रीदेवी जयसवाल र छोरा शत्रुधन जयसवाल, विचौलिया सुमनकान्त ठाकुर रहेका छन् । गैरकानुनी रुपमा मुआब्जा बुझनेमा सूर्यनारायाण लालकर्ण र उसलाई सहयोग गर्नेमा उपेन्द्रलाल कर्ण कायस्थ र मनोजलाल कर्ण रहेका छन् । उनीहरुले २४ लाख ८३ हजार रुपैयाँ बुझेका छन् ।

उनीहरुले सो जग्गामा कीर्ते मोहि कायम गरी मुआब्जा वितरणको नाममा नगद रकम वितरण गरी आर्थिक अनियमितता तथा भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा कीर्ते मोही तथा विचौलियाहरु विरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । उनीहरुले भ्रष्टचार निवारण ऐन २०५९ को दफा १७ विपरित काम गरेको ठहर गर्दै अख्तियारले बिगो जरिवाना तथा कैद सजायको माग गर्दै अदालत समक्ष आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् । प्रवक्ता भण्डारीका अनुसार अदालत समक्ष घटनामा संलग्न १३ जना विरुद्ध वितरण गरिएको रकम बराबर नै बिगो असुल उपर तथा कैद सजाय समेत माग गरिएको छ । सीडीओ र कर्मचारीहरुको मिलेमत्तोमा नक्कली जग्गाधनीलाई गैरकानुनी रुपमा उक्त नगद रकम वितरण गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टचार गरेको अख्तियारको ठहर छ ।

यस्तै, घटनामा जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार डि.हविव साह, गुठी संस्थान शाखा कार्यालय, धनुषाका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोद कुमार कर्णको समेत संलग्नता रहेको छ । उनीहरुले अदालतबाट जारी भएको म्याद सूचना गलत प्रयोग गरेका थिए । तामेल्दार साह, कार्यालय सहयोगी राय र कर्णले गैरकानुनी रुपमा भुक्तानी लिएको मुआब्जा रकम गुठी संस्थानको नाममा फिर्ता गरिपाउँ भनि उच्च अदालत जनकपुरमा दायर भएको मुद्धाका विषयमा अदालतले जारी गरेको म्याद सूचना उनीहरुले सम्वन्धित कार्यालयमा पुग्न नदिने काम गरी गरेका थिए । उनीहरुले अदालतबाट प्राप्त गुठी संस्थान धनुषा तथा जिल्ला प्रशासन कार्यालय धनुषामा जानुपर्ने सूचना लुकाई छिपाई/नष्ट गरेका थिए । जसले गर्दा कीर्ते मोहिको पक्षमा फैसला गराउने उनीहरुको उद्देश्य रहेको थियो । जसबाट गुठी संस्थानले नोक्सानी व्यहोर्नु परेको छ । उनीहरुले पनि भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम काम गरेको भन्दै अख्तियारले कैद र जरिवाना माग गरेको छ । सो घटनामा अर्का लेखापढी व्यवसायी प्रमोद कुमार कर्णको समेत संलग्नता रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x