फोहोरमैला व्यवस्थापन : आजको आवश्यकता
काठमाडौं । काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेला–बेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न असमर्थ भई फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको कुरा नौलो होइन । साँच्चै भन्नुपर्दा छवटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगी नसक्नु, बुझ्नेलाई बुझी नसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहुँ तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडाँं उपत्यकालगायत हाम्रो देशका अन्य सहरी क्षेत्र दूषित भई सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्ति झाडापखाला, विषम ज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था सिर्जना भएको नौलो होइन ।
फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगडी, सुर्खेत, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न सहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडौं उपत्यकाको हाल दैनिक निष्काशन हुने करिब १२ सय मेट्रिक टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न बहानामा फोहरमैला डम्पिङ गर्न नपाई काठमाडौंलगायत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थमा तीव्र असर पारेको हुन्छ ।
फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा काठमाडौं महानगरपालिकाको गर्नु उपयुक्त होला । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा निष्काशन गर्न थालेको करिब १७ वर्ष पुगिसक्यो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माणकार्य सम्पन्न हुँदै छ । दुई वर्षको लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १७ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीयवासी आक्रान्त हुनु स्वाभाविक नै हो ।
फोहोर कुहिई बगेको अर्धठोसको कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ, गाइवस्तु एवं कृषि उपज, जलथल, वातावरणमा नै नकरात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकोले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभइ फोहोर छुट्टयाएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सो पनि ढिलाइ भइरहेको छ । सिसडोल ल्यान्डफिल्ड साइट हाल पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । केही किलोमिटर सडक फोहोर पुरी बनाएकोले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी बेलाबखत फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले जनस्वास्थ्यमा समेत असर परेको सर्वविधितै छ । ल्यान्डफिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडी ल्यान्डफिल्ड साइटमा पुग्न समेत मौसमी समयमा कठिन हुनेगरेको छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल्ड साइट माथि भनेजस्तै बेलाबखत समस्याग्रस्त हुनेगरेको छ ।
यसै सिलसिलामा काठमाडौं महानगरपालिकाको गल्ली, चोक, सडक दुई सातादेखि पुनः फोहोरमैलामय भई उठ्न सकेको थिएन । फोहोर उठ्न रोकिएपछि उपत्यका कुरूप देखिएको र वैशाख २५ गते परेको मुसलधारे पानीले थप दुर्गन्धित पारी सोको कारण जनस्वास्थ्यमा असर परेको छ । पछिल्लो समय फोहोरमैलासम्बन्धी प्रकाशित समाचारअनुसार पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु भएको समाचार प्रकाशित भएको छ, सो समाचारअनुसार दुई हप्तादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन २०७९ वैशाख २४ गते विहानदेखि सुरु भएको जनाएको थियो । स्मरण रहोस् काठमाडौं उपत्यकाका मतदाता वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा फोहोरमैलाको डंगुर पार गर्दै मतदानमा भाग लिन बाध्य भएका थिए । यसै सिलसिलामा निर्माण कम्पनीले ठेक्का लिएर सडक निर्माण नगर्दा स्थानीयवासीहरू आठ वर्षदेखि धुलो र हिलोको सास्ती भोगको भन्दै काठमाडौंको फोहोर सिसडोलसम्म ढुवानीमा बेलाबखत अवरोध गरेको पाइन्छ ।
बेलाबखत सिसडोल क्षेत्रमा ल्यान्डफिल्ड साइट बनाउनुपूर्व स्थानीयको सडक मर्मतलगायतका मागलाई सम्बोधन गर्ने सहमति भएको थियो । सहमतिअनुरूप फोहोर विसर्जनस्थलको पहुँचमार्ग मुड्खु–तीनपिप्ले सडकखण्ड मर्मत तथा स्तरोन्नतिको लागि कार्य अगाडि बढाउनुपर्ने थियो । यसै सिलसिलामा बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १७ सय रोपनी जग्गा ओगोटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् ।
फोहोरलाई स्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याएमा यो ल्यान्डफिल्ड साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । आशा गरौँ, बन्चरे डाँडा ल्यान्डफिल्ड साइटबाट माहामारीजन्य संक्रमित फोहोरको पनि आवश्यक व्यवस्थापन हुनेछ । साथै स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कतिसम्म टिक्ने हो, अहिले किटान गर्नचाँहि नसकिएला कि ? जे होस् सोचचैँ सकारात्मक नै राखौँ । आशा छ, वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट विजयी स्थानीय सरकारले आफ्नो घोषणापत्रमा भएको अबको बाटो, फोहोरमैला उचित व्यवस्थापनको पाटो कार्यान्वयन हुने नै छ ।
यसै सिलसिलामा गत २०७९ नयाँ वर्षदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्नको लागि विज्ञप्ति निकालेको पाइन्छ । सोअनुसार, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्नको लागि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्नुपर्ने जनाएको छ ।
महानगरले हप्ताको तिन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर संकलन गर्ने निर्णय गरेको जानकारी बाहिर आएको छ । यसको मुख्य उद्देश्य फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याई फोहोरमैला निष्काशनमा कमी गरी स्रोत परिचालनसहित वैज्ञानिक व्यवस्थापन गर्नु हो । सहरवासीले फोहोर संकलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ । कुहिने र नकुहिने वर्गीकरण नगरी संकलन गर्ने सवारीसाधानसम्म फोहोर ल्याई सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काई सो घरधनीलाई कारबाहीस्वरूप पाँच सय रुपैया जरिवाना गर्ने समेत जनाएको छ । यो कदम धेरै राम्रो हो । सोसम्बन्धी नगरवासीलाई समयमा नै फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना शिक्षा दिन भने आवश्यक छ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्नलिखित छन्ः
नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमी हुने, फोहोरमैला व्यवस्थापनको लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापनकार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, आवश्यक भौतिक पूर्वाधारहरू जस्तै– पुनः प्रयोगशाला, ल्यान्डफिल साइटको अभाव, फोहोरमैला ब्यवस्थापन मा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमभैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यांक र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्यांकनको अभाव, निहित स्वार्थ, राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्व तथा माहामारीको प्रभाव, फोहोरमैला व्यवसथापनमा अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागतरूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बौैँ धनराशि नोक्सानी भएको । यी माथिका कारणबाट काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा कमजोर क्षमता विकासको कारण फोहोरमैलाको व्यवस्थानमै राष्ट्रियरूपमा चुनौतीपूर्ण बन्नु दुःखको कुरा हो ।
फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय फोहोरमैला व्यवस्थापनमा नगरवासीको अहम् भूमिकाबारे जानकारी गराउने, स्थानीय बासिन्दाको आवश्यक मागलाई सम्बोधन गर्नुपर्ने, नगरपालिकाले फोहोरमैला व्यवस्थापनकार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्यांकलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरूपमा उल्लेख हुनु पर्दछ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा वढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले फोहोरबाट मोहोर आर्जन गरी कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल्ड साइडको व्यवस्था गर्ने, पब्लिक—प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यामान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकोले कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यामान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, माध्यामिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्ने, प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्दछ ।
२०७९ वैशाख ३० गतेको स्थानीय निर्वाचनबाट विजयी भई आउने स्थानीय सरकारले आफ्नो राजनीतिक घोषणापत्रमा भएको अबको बाटो, जनताको समृद्धिको पाटोलाई सफलीभूत पार्न फोहोरमैलाको उचित व्यवस्थापन गरी नगरवासीको स्वास्थ्य गुणस्तरीय पार्नु आजको आवश्यकता हो ।लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया