Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अफ सिजन’ पनि पर्यटकको आगमनले खुम्बुका व्यवसायी उत्साहित

‘अफ सिजन’ पनि पर्यटकको आगमनले खुम्बुका व्यवसायी उत्साहित


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौं हिमालहरूको प्रवेशद्वार मानिने खुम्बुमा यसवर्ष ‘अफ सिजन’मा पनि पर्यटक आवागमन रोकिएको छैन । सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र ‘अफ सिजन’मा प्राय सुनसान हुने गर्दछ । तर यस पटक अफ सिजनमा पनि पर्यटक आवागमन नियमित हुँदा व्यवसायीहरू उत्साहित बनेका छन् ।

खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । विगतका वर्षहरूमा सिजन सकिएपछि सुनसान हुने खुम्बु क्षेत्रमा यस वर्ष पर्यटकको आवागमन नियमित हुँदा आफूहरूमा उत्साह थपेको नाम्चेकी होटल व्यवसायी आङ डोल्मा शेर्पाले बताइन् । सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आवागमन नरोकिदा लुक्लामा हवाई उडानसमेत बाक्लिएको छ । तर मौसमले भने केही चुनौती थपेको तारा एयरलाइनस लुक्लाका इञ्चार्ज अमृत मगरले बताए । उनले भने, ‘मौसमले च्यालेन्ज दिँदा उडान प्रभावित भइरहेको छ, नत्र उडान हुँदा त विदेशी तथा स्वदेशी पर्यटकहरू आइरहेका छन्, राम्रो छ यो सिजन त पर्यटकको ।

अघिल्लो वर्ष अफ सिजनमा बन्द हुने होटलहरू पनि अहिले खुला छ, पर्यटकको चाप अझ बढ्दै छ ।’ अफ सिजनमा खुम्बु भ्रमण गर्ने पर्यटकहरूबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ३२ लाख ७० हजार एक सय रूपैयाँ राजस्व संकलन गरेको छ । गत असारदेखि भदौ १५ सम्मको पर्यटक प्रवेश शुल्कबाट सो राजस्व संकलन भएको हो । निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय रूपैयाँ, अन्य मुलुकका पर्यटकबाट तीन हजार र नेपालीबाट एक सय रूपैयाँ प्रवेश शुल्क लिनेगरेको छ । पर्यटकसंख्या बढेसँगै उनीहरूको इन्ट्री तथा चेकजाँच गर्नमा निकुञ्जका कर्मचारीहरूमा व्यस्तता बढेको निकुञ्जका निमित्त प्रमुख विष्णु रोकायले बताए । ‘अघिल्ला वर्षमा त यतिखेर पर्यटक आगमन ठप्प नै हुन्थ्यो, हाम्रा निकुञ्जका कर्मचारीहरू पनि फु्र्सदिला हुन्थे, तर यो वर्ष त अफ सिजनमा पर्यटक आवागमन बढेसँगै चेकपोस्टका हाम्रा साथीहरूमा पनि व्यस्तता बढेको छ’, उनले भने ।

अघिल्लो वर्षहरूमा कोरोनाका कारण लामो समय घर तथा कोठाभित्रै सीमित बनेका पर्यटकहरू अहिले अफ सिजनको समेत प्रवाह नगरी भ्रमणमा निस्किन थालेका छन् । लामो समय कोरोनाले थलिएको पर्यटनलाई उकास्नका लागि स्थानीय सरकारसँगै होटलव्यवसायी संघले विशेष प्याकेजका कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा अफ सिजनमा अझ बढी खुम्बुमा पर्यटकको आवागमन हुने सरोकारवालाको सुझाव छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x