Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजुम्लीको विकासमा स्याउको योगदान

जुम्लीको विकासमा स्याउको योगदान


काठमाडौं । नेपालको ७७ जिल्लाहरूमध्ये उच्च तथा मध्यपहाडका ५४ जिल्लाहरूमा स्याउखेती गरिँदै आएको छ । यसमध्ये पनि धेरैजसो हिमाली क्षेत्रका १२ जिल्लाहरूमा सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, मुस्ताङ, रुकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, मुगु, बझाङ र बैताडी जिल्लाहरूमा स्याउको खेती धेरै हुन्छ । यसको साथै कर्णालीको पाँचवटै जिल्लाहरूमा स्याउको राम्रो उत्पादन हुनेगरेको र यी पाँचमध्ये जुम्ला जिल्लालाई अति राम्रो प्रांगारिक स्याउखेतीको प्रमुख मानिएको छ । यसै कारणले गर्दा स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । फलतः हाम्रो देशमा शीतोष्ण फलफूलमध्ये स्याउ सबैभन्दा पुरानो र सबैले मन पराउने फल पनि हो । यसरी ७२ वर्षअघि नै तत्कालीन समयका राणा प्राइममिनिस्टर चन्द्रशमशेरले जापान र इटालीबाट स्याउका राम्रा जातका बिरुवा झिकाएर काठमाडौंका छाउनी, बालाजु र गोदाबरीमा लगाएपछि स्याउको नेपाली इतिहास सुरु हुन्छ ।

यसरी जुम्लालगायत जिल्लामा व्यावसायिक खेती भने चार दशकअघि मात्र सुरु भएको देखिन्छ । यसर्थ कर्णाली अञ्चल कृषि विकास आयोजना सुरु भएपछि किसानलाई स्याउखेतीको भविष्य देखाउँदै आयोजनाले नै बिक्रीवितरण गरेपछि यहाँका किसानमा स्याउ मोह बढेको हो । यसको साथसाथै जिल्ला परिषद् बैठकले विसं २०६३ सालमै जुम्लालाई रासायनिक मलमुक्त ‘जैविक जिल्ला’ घोषणा गरेको थियो । यसरी उत्पादन हुन थालेपछि जुम्लाको स्याउलाई जिल्ला कृषि विकास कार्यालयले जैविक प्रमाणित गर्नेगरेको थियो । यसमा खासगरीकन कार्कीस्वामी, महत, पटमारालगायतका गाउँलाई त जैविक स्याउ उत्पादन नमूना गाविस समेत घोषणा गरिएको थियो ।

जुम्ला स्याउखेतीको लागि हावापानी ज्यादै राम्रो रहेको सम्बन्धित विज्ञहरूको भनाइ छ । यहाँ स्याउलाई आवश्यक पर्ने प्राकृतिक वातावरणले भरिभराउ भएको छ । यस जिल्लाको सबै गाविसहरूमा प्राविधिक दृष्टिकोणबाट उत्तम स्याउखेती गर्न सकिन्छ । यसर्थ स्याउसम्बन्धी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि जुम्लालगायत कर्णाली अञ्चलकै आर्थिक, प्राविधिक, प्रशोधन कार्यमा सहयोग गर्दै आएको देखिएको छ । यसमा सरकारी स्तरमा पनि जुम्लाको स्याउ विस्तार गर्न ‘एक घर एक बगैँचा’ जस्ता कार्यक्रमलाई घोषणा गरी आर्थिक विकासको प्रथम प्राथमिकतामा स्याउखेतीलाई राखेको देखिन्छ । तर, अझ यसको गुणस्तरलाई वृद्धि गर्न प्रांगारिक स्याउ उत्पादन गरी भविष्यमा स्वदेशी तथा विदेशी बजारमा उच्च भाउमा बिक्री गरी स्याउखेतीलाई प्रांगारिक व्यवसायिकीकरण गर्न सकिने उद्देश्य लिएको छ । अतः जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि जुम्लाका स्थानीय तहले स्याउ संकलन र बिक्रीमा रोक लगाएका थियो । यसरी जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका किसान स्याउखेतीमा लागिपरेका छन् ।

देशको कुल स्याउ उत्पादनको ४३ प्रतिशत स्याउ कर्णालीमा फल्छ । पछिल्लो समय सरकारी प्रोत्साहनका साथै सडक सञ्जालले बजारीकरणमा सहज हुन थालेपछि स्याउ उत्पादनमा वृद्धि भएको बताइएको छ । त्यसरी नै कर्णालीमा स्याउ लगाइएको क्षेत्र हेर्दा केही वर्षभित्र स्याउले थप समृद्धि भित्र्याउने अनुमान गर्न सकिन्छ । हाल कर्णालीको छ हजार सात सय ९८ हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । त्यसमध्ये २ हजार ४५ हेक्टरमा मात्र स्याउ फल्छ  । यो स्थानमा लगाएजति सबै बोटमा स्याउ फल्न थाल्ने हो भने त कर्णालीलाई स्याउले सजिलै पाल्न सक्छ, यहाँका युवाले वैदेशिक रोजागारीमा जानु पर्दैन यहाँ नै प्रशस्त पैसा कमाउन बाहिर जानै पर्दैन ।

जुम्लामा स्याउखेतीलाई अवलोकन गर्दा विसं २०२४ सालदेखि स्याउखेती गरिएको भन्ने भनाइ त्यहाँका स्थानीय किसानहरूले बताएका छन् । त्यसै बेला स्थापना भएको केही स्याउका बगैँचाहरूबाट हालसम्म उत्पादन भइरहेको बुझिन्छ । यसैअनुरूप सरकारीस्तरमा विसं २०३१ सालमा बागबानी विकासको लागि चन्दननाथ गाविसअन्तर्गत पर्ने राजीकोटमा बागबानी अनुसन्धान फार्मको स्थापना भयो । यसै क्रममा विसं २०३२ सालमा तत्कालीन कृषि तथा सहकारी मन्त्रालयले कृषि वर्ष–२०३२ मनायो । उक्त कृषि वर्षमा छिमेकी राष्ट्र भारतको हिमाञ्चल प्रदेश तथा युरोपियन देशहरूबाट स्याउका विभिन्न जातहरू कृषकहरूलाई वितरण गरियो । उक्त कार्यक्रमले दिएको परिणामस्वरूप जुम्लामा बागबानी विकासको लागि ठूलो कोशेढुंगा सावित भयो । हालसम्म जुम्लामा खेती भइरहेका भारतबाट झिकाइएका स्याउका पुराना जातहरूमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस आदि जातको खेती हुँदै आएको छ ।

जुम्लामा एक हजार छ सय घरपरिवारमध्ये ७५ प्रतिशत अर्थात् एक हजार दुई सय घरपरिवारभन्दा बढी स्याउखेतीमा निर्भर रहेको अनुमान गरिएको छ । हालसम्म चार हजार एक सय २० हेक्टर क्षेत्रफल स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरिएको छ । यसरी विभिन्न प्रकारको स्याउखेती गरिएको एकातिर छ भने अर्कोतिर उत्पादन एवं क्षेत्रफलमा पनि क्रमिकरूपमा बढ्दै व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै छ ।

देशमा उत्पादन हुने स्याउले जम्माजम्मी १२ प्रतिशत मात्रै आपूर्ति मागलाई धान्न सकेको छ भने बाँकी ८८ प्रतिशत स्याउको मागको आपूर्ति विभिन्न छिमेकी राष्ट्रहरूबाट हुनेगरेको पाइन्छ । यसमा हालका दिनहरूमा सबैभन्दा बढी चीनबाट ६३ प्रतिशत, भारतबाट २० प्रतिशत र अन्य मुलुकहरूबाट ५ प्रतिशत स्याउ आपूर्ति हुनेगरेको अनुमान गरिएको छ । मुलकमा स्याउको आयात खासगरी भारतको हिमाञ्चल प्रदेश र काश्मिरबाट श्रावणदेखि कात्तिक महिनासम्म आउँछ भने बाँकी मंसिरदेखि असार महिनासम्मको लागि चीनबाट आयात हुनेगरेको व्यवसायीहरूको भनाइ रहेको पाइन्छ । यी दुई मुलुकबाहेक समुद्रपारका देशहरूमा अमेरिका, न्यूजिल्यान्ड र अष्ट्रेलियाबाट समेत ल्याई सुपरमार्केट, डिमार्टमेन्टल स्टोरमा स्याउ बिक्रीवितरण हुनेगरेको पाइन्छ । देशमा नगण्यरूपमा मात्र स्याउका प्रशोधित उपजहरू उत्पादन हुनेगरेको छ । अतः राम्रो किसिमका चाना, ब्रान्डी, जाम, जेली, रक्सी आदिको आन्तरिक माग बढी भए पनि करोडौँ रुपैयाँबराबरको प्रशोधित स्याउका विभिन्न किसिमका परिकारहरू विदेशबाट आयात हुनेगरेको छ ।

समग्रमा भन्नुपर्दा विगतका विभिन्न वर्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूले जुम्लाको स्याउको बगैँचा निर्माण गर्न ९० प्रतिशतसम्म अनुदान दिँदै स्याउमा बिरुवा वितरण गर्दै आएको एकातिर देखिएको छ भने अर्कोतिर स्याउको उत्पादनलाई बजारसम्म पु-याउनको लागि जुम्लाको हवाईमार्गबाट ढुवानी गर्दा प्रतिकिलो ग्राम सातदेखि १० रुपैयाँ अनुदान दिँदै आएको सम्बन्धित निकायको भनाइ रहेको पाइन्छ । यसमा स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ ।

यहाँको स्याउ आन्तरिक खपतबाहेक खासगरी सुर्खेत, नेपालगञ्ज निर्यात हुँदै आएको छ । स्याउको बजार मूल्यलाई हेर्ने हो भने जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी ४० र ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपैयाँभन्दा माथि बिक्री भइरहेको छ । यसरी जुम्लामा उत्पादन भएको स्याउमध्ये ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिक टन स्याउ प्रतिकेजी ५५ रुपैयाँका दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब ५० करोड रुपैयाँ आम्दानी हुँदा जुम्लाको आर्थिक अवस्थामा आमूल परिवर्तन हुने देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x