Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसधैँको व्यापारघाटा

सधैँको व्यापारघाटा


काठमाडौं । आन्तरिक र अति धेरै बाह्य ऋण, असह्य व्यापारघाटा अन्ततः श्रीलङ्का देशै टाट पल्टियो । राष्ट्रपति भागे । राजनीतिक संक्रमण छ र त्यहाँको अर्थतन्त्रले गति लिन सकेको छैन । करिब तीन सय प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ उसले अहिले । धान्न नसकिएको देशको राजनीतिक संरचनाले नेपालले वार्षिक बजेटभन्दा बढी व्यापारघाटा सहनुपरेको छ । भर्खरै विदा भएको आव ०७८/७९ मा देशमा १७ खर्ब २० अर्बको व्यापारघाटा देखिन्छ । निर्यातको तुलनामा जब आयातको अङ्कार ठूलो हुन्छ व्यापारघाटा हुने हो । सबैभन्दा बढी आर्थिक कारोबार हुने छिमेकी देशसँगै व्यापारघाटा उच्च छ हाम्रो । निर्यात हुने हाम्रो चियालाई भारतले विभिन्न बहाना बनाउँदै आएको थियो र अहिले पनि त्यो कायमै छ ।

हालको आव सुरु भएको साउन एक महिनामै नेपालले दुई अर्ब रकमको बिजुली निर्यात गरेछ, संकेत शुभ होला, तर कति युनिट निर्यात गरेर त्यति पैसा आएको हो सार्वजनिक भए राम्रो हुन्थ्यो, कारण विद्युत् उत्पादनमा यहाँ लागत बढी देखाइन्छ । जसका कारण यहाँ बिजुलीको भाउ बढी छ । सस्तोमा निर्यात पक्कै गर्न नसकिएला र अर्को कुरा बँगलादेशसँग पनि विद्युत् व्यापारको कुरो चलेको धेरै भएको छ । हाम्रोभन्दा सस्तो मूल्यमा उसले भारतबाटै पायो भने हामीले के गर्ने ? भाउ घटाएर स्वदेशीलाई नै बढी उपभोग गराउने या उद्योग कलकारखाना खोलेर सामान आयातमा कटौती गर्दै व्यापारघाटा कम गर्नुपर्ने हो नि त ।

सरकारले यस आवको बजेटमा आयात घटाउने भनेको छ । नभन्दै यसै साउनमा अघिल्लो साउनको तुलनामा १२ दशमलव ९ प्रतिशतले सामानको आयात घटेछ । भन्सार विभागको यो तथ्याङ्कले राम्रो सङ्केत गर्ला तर आयातसँगै निर्यात पनि पो घटेको छ त । अघिल्लो साउनको तुलनामा यो साउनमा २६ दशमलव ६८ प्रतिशतले निर्यात घटेर जम्मा १४ अर्ब ८० करोडको मात्रै अङ्क देखिन्छ । आयात भने अघिल्लो साउनमा एक खर्ब ५० अर्ब ७३ करोडबराबरको हुँदा यो साउनमा एक खर्ब ३१ अर्ब २८ करोडको देखिन्छ । आयातमा सबैभन्दा बढी डिजेल आठ अर्ब ९८ करोडबराबरको छ भने पेट्रोल छ अर्ब ३८ करोडको छ । एलपीजी ग्यास आयात भएको छ, पाँच अर्ब २७ करोड ८० लाखको, कच्चा भटमासको तेल छ अर्बको, कच्चा पाम आयल चार अर्ब १६ करोडको देखिन्छ ।

वैदेशिक व्यापारमा सामान्य गिरावटका कारण विगत साउनमा भएको व्यापारघाटा अङ्क एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाखको तुलनामा यो साउनमा १४ दशमलव ८१ प्रतिशतले कम भई जम्मा एक खर्ब १६ अर्ब ४७ लाखको अङ्क देखिन्छ । जलस्रोतको धनी देश, विद्युत् निकासी गर्छु भन्ने देशले मासिक यत्रो रकमको पेट्रोलियम पदार्थको आयात गर्नु र कृषि प्रधान भनिने देशमा तोरीको उत्पादन गर्न नसकेर तेस्रो देशबाट खाने तेललगायत अन्य सामान अधिकरूपमा निरन्तर आयात गर्नुुपर्ने लज्जास्पद विषय हो, यसले उत्पादनमा ध्यान नदिएर सजिलो व्यापारको काम गरेको पुष्टि हुन्छ, केवल भन्सार राजस्व बढाउन, व्यापारघाटाले देशलाई थिचिरहन प्रेरित गरेको स्पष्ट हुन्छ ।

प्रमुख खाद्यान्न बाली धानको उत्पादन विगतदेखि नै घटेको हो । विगतमा त वार्षिक १२ लाख टनभन्दा बढीले उत्पादन घटेको छ । यस वर्ष सुरुमा अधिकवृष्टिले बाली उठाउन सकिएन । धानको बीउ राम्रो भएन । धान रोप्नेताका सुरुमा केही वर्षा भए पनि मनसुनमा देखिएको उतारचढावले रोपाइँ राम्रो हुन सकेन सबैतिर र भएको रोपोमा सिँचाइ दिन सकिएन । बोटै सुके, खेतमा धाँजा फाटे, रासायनिक मल त धेरै टाढाको विषय नै भयो । मूल्यवृद्धि बहाना भयो, मल आपूर्ति भएन । सिँचाइमा अर्बौँ अर्बको लगानी छ तर हाम्रा खेत मनसुनमा भर परेका छन् । यसो हुँदा स्वतः उत्पादनमा कम हुने हो । खाद्यान्नमा पनि देश पर निर्भर नै हुने हो आउने दिन पनि । श्रम गर्ने पाखुरीहरूलाई राजस्व वृद्धिकै लागि बाह्य देशमा निर्यात गरियो । तिनले पठाएका रेमिट्यान्स रकमले यहाँ पजेरो चढियो, हाम्रो खोक्रो अर्थतन्त्र आकाशमा बादल लागे पनि सीमा वारिपारि पानी खडेरी परोस् वा सात समुद्रपारि कुनै सामान्य घटना घटोस् जस्ताको त्यस्तै नक्कल भइहाल्छ यहाँ । महँगीले सगरमाथा शिखर चुमिरहने, बेस क्याम्प झर्न नमान्ने, झन् चुनाव भनिसकेपछि त लुट्न सके लुट भइहाल्छ यहाँ ।

जीवित छ कोरोनाको सन्त्रास । घर–घरमा छ आर्थिक संकट । सबैतिर चिन्ता छ भविष्यको । प्राकृतिक विपत्ति पनि कम छैन देशमा । रोजगारी नहुँदा बजार धान्न सकिएको छैन । बाढीपहिरोको सङ्कट त छँदै छ, कैयन पल्ट भूकम्पले मिस्कल दिएको छ । सतर्क हुनसक्ने स्थिति छैन । बस्ती साँघुरिएको छ । थप फोहोरको डुंगुर सडकमै पछारिन थालेका छन् । महानगर संरचना भत्काउनतिर लागेको छ । पानीमा निर्धक्क छैन । मेलम्ची कता गयो गयो । कोरोनाकै उदयपछि आईएमएफले विश्व आर्थिक वृद्धिको प्रक्षेपणलाई संशोधन गर्दै पाँच प्रतिशत ऋणात्मक हुने भनेको थियो । हामी बढाइरहेका छौँ प्रक्षेपण अङ्क । देश लामो समयदेखि घाटा व्यापारको अर्थतन्त्रमा चलेको छ । समग्र संरचनाहरू ध्वस्तप्राय छन् र मनोवैज्ञानिक खाडल पुरी नसक्नुको छ । निजी क्षेत्रहरू लगानीमा उत्सुक छैनन् । राहतको अपेक्षामा छन् । सरकारी ढुकुटी कम छ, चुनाव खर्चिलो छ, दातृ निकायहरूलाई पनि कोरोनाको चोट छ र पनि उनीहरूले सक्दो सहयोग गरेका छन् । आईएमएफ, एडीबी, विश्व बैंकहरूले सहयोग मनग्गे गरेका छन् अहिले पनि । आर्थिक परनिर्भर हुनु, उत्पादन नहुनु हाम्रो अभिशाप हो । जनसंख्या तीन करोड छ, सबै यहाँ छैनन्, सरकारी चालू खर्च भारी वृद्धि भएको छ, विकास खर्च बढ्न सकेको छैन, केही भए पनि त्यो असारे र डोजरे भएको छ । विश्वबजारमा तेलको मूल्य तीन पल्ट घट्दा पनि यहाँ घटेन, मुडेवल प्रयोग भयो, ग्यासको भाउ पनि घटेर आयो यहाँ जनताप्रति जिम्मेवार हुन सकिएन, चुनाव लाग्यो, जे गरे पनि भइहाल्छ, जन्मदै ऋण ६९ हजार पुग्यो ।

कृषि प्रधान भनिने देशमा खाद्यान्न, तरकारी, दलहन र गेडागुडी, फलफूल, दुग्ध पदार्थ, र औषधिका कच्चा पदार्थ एवं तयारी औषधि ठूलो मात्रामा आयात हुने गरेको छ । लकडाउनको सेरोफेरोमा पनि निर्यात ठप्प आयात झन् उच्च भएकै हो विगतमा । त्यस्तै तयारी पोशाक, एमएस बिलेट, मास्क समेत आयात हुन्छ । चीनबाट मात्रै सुरुमै स्यानिटाइजर ९३ हजार लिटर, त्यहीँबाट मास्क ३९ लाख ९५ हजार दुई सय १० किलो, भारत, चीन र युरोपियन देशबाट ४१ लाख किलो मास्क र थुप्रै स्यानिटाइजर आयात भएको देखिन्छ । निर्यात देखिन्छ केही, तर आफ्नो उत्पादन नभएर रिफाइन गरेको आयातीत तेल हो भने केही पाम आयल, धागो, कार्पेट, भटमासको तेल, केही तयारी पोशाक, केही जडीबुटी ।

कृषिक्षेत्रबाट देश औद्योगिकीकरणतर्फ उन्मुख हुनुपर्ने हो तर लामो समयदेखि कृषिक्षेत्र अल्मलिएको छ, भएका १० औद्योगिक क्षेत्रबाट हुने औद्योगिक उत्पादन आशालाग्दो छैन । उद्योग मन्त्रालय आफैँ भन्छ : उद्योग सञ्चालनमा कच्चा पदार्थको अभाव छ, श्रमिकहरूको समस्या छ, उद्यमीहरू लगानी इच्छुक छैनन् । लकडाउनमा त श्रमिकहरूको झन् अभाव भयो, उत्पादन आधा पनि भएन । १० औद्योगिक क्षेत्रमा लकडाउन अवधिमा अत्यावश्यक सामग्री उत्पादन समेत ४६ प्रतिशत नाघेन । यी औद्योेगिक क्षेत्रहरूमा पाँच सय ९७ उद्योगहरू छन्, जसमध्ये तीन सय ३८ वटाले अत्यावश्यक वस्तुको उत्पादन गर्छन् । यिनमा काम गर्ने श्रमिकहरू वस्तु उत्पादनमा संलग्न थिए, तीमध्ये कति लकडाउनमा परे, संख्या कम भयो । चिया उद्योग सञ्चालन ७० बाट ३० प्रतिशतमा, डेरी उद्योग ८० बाट ६० प्रतिशतमा झरे । दाना, ह्याचरी पोल्ट्री उद्योगहरू आधामा । औषधि उद्योग ६० प्रतिशतमा, खानेपानी ६० प्रतिशतमा, निर्माण उद्योग २० प्रतिशतमा झरे भने इँटा उद्योग त बन्द नै भए । खाद्यान्नका अधिकांश उद्योगहरू तराई क्षेत्रमा थिए । तराईमै कोरोनाको प्रभाव धेरै देखियोे । कतिपय कच्चापदार्थ नाकामै रोकिए भने ढुवानी हुन नसक्ता एक ठाउँबाट अर्को ठाउँमा माल वस्तु पुग्न सकेनन्, त्यसको प्रभाव लामो समयसम्म देखिँदै छ, अहिले पनि ।

निर्यातको उत्तरी नाका रसुवा, तातोपानी सहज भइसकेको अवस्था छैन भने वर्षामा त्यताको यातायात मार्ग अवरुद्ध हुनेगरेको छ । हामीले उत्पादन गर्ने जुट, ऊनी गलैँचा, दाल, पोलिस्टर, अलैँची, जुत्ता, चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन आदिको निर्यात घट्न दिइनु हुन्न । मुलुकगत हेर्र्दा भारतबाट २२ प्रतिशतले आयात बढ्दा, चीनबाट ३८ प्रतिशतले र अन्य देशहरूबाट आयात २१ प्रतिशतले बढेको तथ्याङ्क थियो पहिले । उद्योग, उत्पादन र सेवा व्यापार आर्थिक विकासको मेरुदण्ड हो । वाणिज्य क्षेत्रको समृद्धिले वस्तु र सेवाको सहज आपूर्ति हुन्छ । आन्तरिक र बाह्य बजारमा स्वस्थ्य र गुणात्मक प्रतिस्पर्र्धी बन्दै विश्वका धेरै मुलुकहरू आर्थिक, कूटनीतिक र वस्तु एवं सेवा व्यापारमा धेरै अगाडि छन् । नेपालले पनि अन्तर्राष्ट्रिय बजार पाएको छ । धेरै क्षेत्रमा विश्व व्यापार संगठन, डब्लूटीओको सदस्य, बिमस्टेक, साफ्टा, सार्कजस्ता क्षेत्रहरूबाट उसले लाभ लिन सक्ने बाटाहरू धेरै छन् । क्षेत्रीय कनेक्टीभिटीमा नेपालको पहुँच कम छैन र पनि व्यापार सफलता र सहजीकरणमा निजी क्षेत्रको संलग्नता उत्साहजनक देखिन्न । साझा अवधारणा, सहकारी प्ररणा र समन्वय आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनका आधारस्तम्भहरू हुन् तर यस्ता संस्थाहरू अनुत्पादक लगानीमा तल्लीन छन्, कोही बचत जम्मा गरेर भाग्दै छन् र सबैजसो राजनीतिको रङ्गले मुछिएका छन् ।

तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रको पहिचान, वाणिज्य क्षेत्रको विस्तार आजको आवश्यकता हो तर यसका लागि सामानको गुणस्तरीयता र कम मूल्य पनि भएको हुनुपर्छ । यसका लागि लागतरकम नै कम हुनुपर्छ, तर निर्यात गर्ने भनिएका हाम्रा सामानको कच्चापदार्थ पनि आउने विदेशबाटै हो । ‘विश्व एक परिवार’ भन्ने आधुनिक र सभ्य सोचाइमा विश्वको एक कुनामा उत्पादित वस्तु र सेवा विश्वकै अर्को कुनामा तुरुन्तै पुगिसकेको हुन्छ, त्यसैले प्रतिस्पर्धा गर्न सजिलो छैन । नेपालले विश्व व्यापार क्षेत्रमा हात हालेको त धेरै वर्ष भयो तर उपलब्धि हेरौँ त एकपल्ट, त्यति मात्रै होइन हामीले आन्तरिक हाम्रो उत्पादनले हाम्रै आन्तरिक बजार भ्याउन सकेनौँ । देशैपिच्छे वाणिज्य दूत, राजदूत, नभएका होइनन्, तर व्यापारको नयाँ क्षेत्र खोइ त पहिचान भएको ? यसरी हुने कमजोर निर्यातका कारण व्यापारघाटा चुलिने नै हुन्छ, भविष्यमा पनि । फलाम, स्टील, सवारीसाधन, विद्युतीय सामग्रीतर्फ पनि व्यापारघाटा उच्च छ ।

विश्वमा एक सय ४० देशमध्ये २८ देशसँग मात्र नेपालको व्यापार नाफामा छ । सबैभन्दा बढी व्यापारघाटा हुने मुलुक भारत र चीन नै हो । तेस्रो व्यापारघाटा हुने मुलुक फ्रान्स हो । चौथो युनाइटेड अरब इमिरेट्स, अन्य देशमा थाइलैण्ड, स्वीट्जरलैण्ड, इन्डोनेसिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटली, भियतनाम, दक्षिण कोरिया, अष्ट्रेलिया, ताइवान, जापान, सिंगापुर हङकङ आदि एक सय १२ भन्दा बढी देश छन् । व्यापार नाफा हुने भनेको नर्वे, फिनलैण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, अफगानिस्तान, लेवनान, एलसाल्भाडोर, उरुग्वे, साइप्रस आदि हुन् जुन अति न्यून मात्रामा कारोबार हुने गरेको छ । विश्व बैंकको प्रतिवेदनअनुसार विश्वको कुल निर्यात व्यापारमा नेपाली हिस्सा शून्यको हाराहारीमा छ । हामी सधैंका लागि परामुखी भइसकेका छौँ । तथापि नेपाली वस्तुले लाभ लिन सक्ने अन्तर्राष्ट्रिय बजारको खोजी गर्न छोड्नु हुन्न ।

निर्यात हुने वस्तु र सेवाको गुणस्तरको परीक्षण, प्रमाणीकरण, लेबलिङ, प्याकेजिङको क्षमतामा वृद्धि गर्नु जरुरी छ । घोषणा गरिएका विशेष आर्थिक क्षेत्रहरूलाई पूर्ण सञ्चालनमा ल्याउनु पर्छ । मागअनुसार पर्याप्त ऊर्जा आपूर्ति गर्नुपर्छ । आत्मनिर्भर हुनसक्ने कृषि, वन उत्पादन उपजतिर ध्यान दिनु पर्छ । पेट्रोलियम पदार्थको आयातमा वैकल्पिक ऊर्जा उत्पादनले प्रतिस्थापन गर्ने वातावरण तय गरिनु पर्छ । सिँचाइको प्रबन्ध, समयमै रासायनिक मलको भण्डारण क्षमता वृद्धि, कृषि उत्पादन नहुने हिमाली क्षेत्रमा जडीबुटी, पशुपन्छीको व्यवस्थापन, स्वदेशी उत्पादित वस्तु व्यापारमा थप पारवाहन मार्ग बन्दरगाहको खोजी गर्नुपर्छ । तर गुन्दु्रकदेखि जनैसम्म आयात हुने देशमा के भन्नु र खोइ ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x