Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘कृषि बजेट : बीपीका पालामा ३० प्रतिशत, अहिले डेढ प्रतिशत’

‘कृषि बजेट : बीपीका पालामा ३० प्रतिशत, अहिले डेढ प्रतिशत’


काठमाण्डौं,फागुन १६
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशनमा कांग्रेस नेताहरुले पछिल्लो समयमा सरकारले कृषि क्षेत्रमा छुट्याउने बजेटमा कमी आउँदै गएको बताएका छन् । कृषिमा बजेट बीपी कोइरालाका पालामा ३० प्रतिशत हुने गरेको भन्दै अहिले डेढ प्रतिशतमा आएको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके केही वर्षभित्रै मुलुकमा आर्थिक क्रान्ति हुने बताए । नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवा पलायन रोक्नका लागि पनि प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्नेमा जोड दिए । ‘देशभरिका २० हजारभन्दा धेरै पशु प्राविधिकहरूले सेवा गरिरहेका छन्, रोजगारी वृद्धि गर्नकै लागि पनि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने उदाहरण पशु स्वास्थ्य सेवा प्राविधिक संघ हो,’ उनले भने । देउवाले राज्यले नै प्राविधिक शिक्षाको व्यवस्था गरेर युवालाई पढ्न प्रेरित गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताए ।

कृषि क्रान्ति कांग्रेसकै पालामा सुरू भएको उल्लेख गर्दै पौडेलले भने, ‘बीपी कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको सरकारले कृषिमा ३० प्रतिशत बजेट छुट्याएको थियो । अहिले डेढ प्रतिशत मात्रै छ । कांग्रेसले नै आधुनिक कृषि क्रान्तिका लागि योगदान गरेको हो ।’ कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सत्तामा पुगेपछि कृषिको विकासमा दीर्घकालीन महत्त्वका कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउने बताए । ‘पशु स्वास्थ्य सेवा प्राविधिक संघले गरिरहेको काम ज्यादै महत्त्वपूर्ण छ, अहिलेको सरकारबाट सहयोग नपाए पनि कांग्रेसका सरकार बनेपछि सहयोग हुन्छ,’ कोइरालाले भने । कार्यक्रमका अन्य वक्ताले कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । संघका केन्द्रीय सल्लाहकार हिमालय पोखरेलका अनुसार नेपाली कांग्रेसनिकट ट्रेड युनियन कांग्रेसको २७औँ संगठन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघमा मुलुकभरि २० हजारभन्दा धेरै प्राविधिक संलग्न छन् । संघका अध्यक्ष जनकबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी विष्णु कार्की, हिराबहादुर खत्री र राजन प्रसाईंलाई सम्मान गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x