Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा दुईवटा कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगरमा दुईवटा कृषि तथा औद्योगिक प्रदर्शनी हुने


विराटनगर । विराटनगरमा रहेका दुईवटा व्यवसायी औद्योगिक प्रतिष्ठानले प्रतिस्पर्धा गर्दै एउटै समय पारेर कृषि तथा औद्योगिक प्रदर्शनीका नामबाट छुटाछुटै प्रदर्शनीको आयोजना गर्ने घोषणा गरेका छन् ।

नेपाल उद्योग परिसंघ मोरङले पत्रकार सम्मेलन गरी आगामी माघ १९ देखि २८ गतेसम्म विराटनगरमा कृषि तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्ने जनाएको छ । यस्तै उद्योग वाणिज्य महासंघको छाता संगठनका रुपमा रहेको उद्योग संगठन मोरङले पनि माघ २६ गतेबाट फागुन ३ गतेसम्म विराट एक्स्पोको आयोजना गर्ने जानकारी दिएको छ । दुईवटा संस्थाले एउटै समयमा प्रदर्शनीको मिति घोषणा गरेपछि अहिले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीहरु दुई चिरामा विभाजित बन्नपुगेका छन् । दुवै संस्थाले गर्ने मेलाको उद्देश्य भने कृषि र औद्योगिक प्रदर्शनीलाई जोड दिइएको छ । उद्योग संगठन मोरङले २०५३ सालदेखी कोशी महोत्सव हुँदै विराट एक्स्पोको रुपमा पछिल्लो समय मेला तथा प्रदर्शनी आयोजना गर्दै आएको छ ।

नेपाल उद्योग परिसंघ मोरङले यो प्रदर्शनी पहिलो पटक गर्न लागेको हो । यस मेलालाई परिसंघले अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी भनेको छ । परिसंघ मोरङले १० दिनसम्म हुने प्रदर्शनीमा कृषि एवं औद्योगिक मेसिनरीको प्रदर्शनी तथा बिक्रीवितरण हुने जानकारी पनि दिएको छ । प्रदर्शनीले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रवद्र्धनको र पर्यटन विकासमा टेवा पु-याउने लक्ष्य लिएको भन्ने नेपाल उद्योग परिसंघ मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भने पनि प्रदर्शनीमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । प्रदर्शनीमा औद्योगिक उत्पादन, कृषिका आधुनिक यन्त्र उपकरणहरू अटोमोबाइल्स, उत्पादन र सेवामूलक उद्योगका सामग्रीदेखि शैक्षिकलगायतको स्टल रहनेछन् । मेलाबाट करिब ५० करोड रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य समेत लिइएको छ । प्रदर्शनीमा तीन सय ५० स्टलमा स्थानीयसँगै भारत, पाकिस्तान, चीन र बंगलादेशका सामग्री रहनेछन् ।

यस्तै उद्योग संगठन मोरङले पनि परिसंघको प्रदर्शनी सकिनु दुई दिन अघिबाट विराट एक्स्पोको आयोजना गर्न लागेको छ । संगठनका अध्यक्ष सुयेषराज प्याकुरेलले केही दिनअगाडि संगठनले नियमित रुपमा गर्दै आएको प्रदर्शनीलाई निरन्तरता दिन लागेको जानकारी दिएका थिए । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रत्येक एक वर्षको अन्तरालमा आलोपालो गर्दै विराटनगरमा प्रदर्शनी गराउँदै आएका थिए । आलोपालोअनुसार नै यसपटक यो मेलाको आयोजना उद्योग संगठन मोरङ रहेको हो । प्रदर्शनीमा चार सय स्टल रहने गरी संगठनले आन्तरिक तयारी समेत सुरु गरिसकेको छ ।

माघ २६ गतेबाट एक साता हुने प्रदर्शनीमा विभिन्न १० राष्ट्रका तीन सय बढी उद्योग तथा कम्पनीको उत्पादन रहने संगठनले जानकारी दिएको छ । संगठनले २०५३ सालमा पहिलोपटक कोशी महोत्सवबाट प्रदर्शनीको सुरुवात गरेको थियो । त्यसपछि २०५७ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी आयोजना गरिसकेको थियो । त्यसपछि २०६६, २०७३, र २०७६ सालमा प्रदर्शनी मेलाको आयोजना समेत गरिसकेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x