Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनयाँ दिल्ली हिंसामा मृतकको संख्या ३८ पुग्यो

नयाँ दिल्ली हिंसामा मृतकको संख्या ३८ पुग्यो


एजेन्सी नयाँ दिल्ली, फागुन १६

भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार रातिसम्म ३८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको बिहीबार जानकारी दिए । लोक नायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा २ जनाको मृत्यु भएको बताए । जिटीबी अस्पतालका निर्देशक कुमारले मृत्यु भएका सबैलाई बन्दुकको गोली लागेको बताए । विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् । यस क्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।

दिल्ली प्रहरीका प्रवक्ता मन्दीप रन्धवाले बुधबारदेखि बिहीबार रातसम्म ठूलो हिंसात्मक झडप नभएको र अघिल्ला दिनको तुलनामा परिस्थिति शान्त देखिएको बताए । केही मानिसले प्रहरीको मद्दत माग्दै फोन गरेका र त्यहाँ तत्काल प्रहरी पुगेको पनि उनले जानकारी दिए । गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरुले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रण बाहिर पुगेको थियो । स्थानीयवासीले दिल्ली प्रहरीले हिंसामा उत्रिएको समूहलाई नियन्त्रणमा ल्याउन कुनै प्रयास नगरेको आरोप लगाएका छन् ।गत डिसेम्बरमा मात्र उत्तर प्रदेशका मुस्लिम बहुल इलाकाहरुमा भएका प्रदर्शनमा कम्तीमा ३० व्यक्तिको ज्यान गएको थियो । संशोधित नागरिकता कानुन र राष्ट्रिय अभिलेख रजिष्टरका नाममा आफूहरुलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ । तर भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ ।

नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा विद्यालयहरु बन्द गरिएका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गरेका छन् । उनले दिल्लीको पछिल्लो अवस्थाका बारेमा विस्तृत प्रतिवेदन केन्द्र सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन् । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको थियो । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानुनअनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।(रासस÷एएफपी) ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x