Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

बंगलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार


ढाका । बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बंगलादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बंगलादेशले प्रस्ताव गरेको थियो ।

मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग गर्न लागेको बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गरेकी थिइन् । तर पाकिस्तानले भने बंगलादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ । बंगलादेशको यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।

बंगलादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले १० टन बिस्कुट, १० टन सुख्खा केक, एक लाख पानी शुद्धीकरण गर्ने ट्यावलेट, ५० हजार सलाईन, पाँच हजार मच्छेडदानी, दुई हजार ब्लांकेट र दुई हजार पाल पाकिस्तानलाई सहयोग स्वरुप दिने निर्णय गरेको थियो । सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बंगलादेशले विगतमा नमिठा सम्बन्ध र घटना भएपनि संकट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको बंगलादेशी अधिकारीहरूको भनाइ छ ।

पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा आएको पछिल्लो बाढी पहिरोबाट कम्तीमा एक हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार सय ५० जना बालबालिका रहेका छन् । अत्यधिक वर्षापछिका घटनामा परी तीन करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ ।

पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रूपमा धेरै क्षति भएको प्राधिकरणको भनाइ छ । बाढी पहिरोले सबैभन्दा बढी क्षती सिन्ध प्रान्तमा गरेको छ । बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरु, स्वयमसेवकहरु, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् ।

बढी पहिरोबाट प्रभावित भएकाहरुको संख्या दैनिक रुपमा बढ्दै गइरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x