जैविक विविधता संरक्षणमा आदिवासीको महत्व
काठमाडौं । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता‚ किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जस्तै : जल‚ स्थल‚ समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन‚ प्रकार तथा तिनीहरुबीचको अन्तर्सम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति‚ पशुपक्षी र अन्य जीव रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरु जीवहरुलाई असर गर्दछ । यो तिनीहरुबीचको अन्तर्सम्बन्ध हो । जैविक विविधता ३ प्रकारका हुन्छन् । पारिस्थिक प्रणाली विविधता, प्रजाति विविधता र वंशाणुगत विविधता । पारिस्थिक प्रणाली विविधता भन्नाले जीवजन्तुहरुको वासस्थान भन्ने बुझिन्छ । यसले जीवजन्तुहरु र तिनीहरुको वातावरणसँगको अन्तर्सम्बन्ध समेतलाई जनाउँछ । वनजंगल‚ घाँसे मैदान‚ सिमसार‚ पोखरी‚ खोलानाला‚ समुद्र आदि यसका उदाहरण हुन् । प्रजाति विविधता भन्नाले प्राणीहरुको विविधता र वनस्पतिहरुको विविधतालाई बुझिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरुको फरकपन नै प्रजाति विविधता हो । र वंशाणुगत विविधता भनेको प्राणी एवं वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपन हो । बाबुआमाका गुणहरु छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमाभन्दा फरक हुन्छन्‚ यो नै वंशाणुगत विविधता हो ।
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईं हामी सबैलाई ज्ञात नै छ । विभिन्न विद्वान् तथा पर्यावरणविज्ञहरुका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तुहरु, जैविक तथा अजैविक भौतिक वस्तुहरु, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तर्क्रियाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा आत्मनिर्भर बनाएको हुन्छ । पृथ्वीमा भएका अनेकौँ तत्वहरुमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानवजातिको अस्तित्वमा समेत प्रश्न खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित हुन्छन् । मानव स्वयंले पर्यावरणप्रति गरेको बेवास्ताले वर्तमानमा प्रचुरमात्रामा जैविक विविधतामा नाश भई करोडौँ धनजन तथा मानवीय सुखसमृद्धिका आधार संरचनाहरु जलवायु परिवर्तनका कारणले नष्ट हुँदै गएका छन् ।
वातावरण संरक्षणमा मानव स्वयंको भूमिका महत्वपूर्ण हुन्छ । यसै सिलसिलामा यस लेखमा आदिवासी दिवसबारे संक्षेपमा केही चर्चा गर्ने प्रयास गरिएको छ । ९ अगष्टलाई २३ डिसेम्बर १९९४ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले यो दिवस मनाउने गरेको पाइन्छ । यो संघले १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत ‘कर्म र मर्यादाका दशक’ भन्ने नाराका साथ आह्वान गरेको पाइन्छ । यसको लोगोमा हरियो पातका २ वटा कानजस्तो आकृतिले पृथ्वीलाई दुईतिरबाट घेरेको पाइन्छ, योबाट पनि स्पष्ट हुन्छ कि पर्यावरण सुधारमा आदिवासीहरुको महत्व देखिन्छ । आदिवासीलाई पृथ्वीको पुजारी पनि भनिन्छ ।
यस वर्षको अन्तर्राष्ट्रिय आदिवासी दिवसको नारा ‘परम्परागत ज्ञान र सीपहरुको सम्वर्द्धन र हस्तान्तरणको लागि आदिवासी महिलाहरुको भूमिका’ रहेको थियो । मावन सभ्यताको विकाससँगै बसाइसराइको क्रम सुरु भई विस्तारै आप्रवासीहरुको घनत्व वृद्धि भई आदिवासीको पहिचान, अस्तित्व फरक गुण, रीतिरिवाजमा कमी आएको छ । विश्वको कुल जनसंख्याको ५ प्रतिशतमा रहेका आदिवासीहरुले विश्वको कुल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीका धु्रवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीको पहिचान र उपस्थिति घट्दै आप्रवासी समुदायहरुको पेशा, पहिचान, बसाइलगायतका विविध कारणहरुले हावी भएको पाइन्छ । यसै सिलसिलामा संयुक्त राष्ट्रसंघले आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको दफा १४ मा आदिवासीले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज सुहाउँदा शैक्षिक संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको पाइन्छ ।
धेरै अध्ययनले आदिवासी र गैरआदिवासी समुदायबीच शैक्षिक अवसर विकास अनि समष्टिगत रुपमा मानवअधिकारका प्रसंगमा असमानता पाइन्छ । आफ्नो पहिचान र थलोको लागि पुस्तौँदेखि एकैठाउँमा कृषिकर्म गरी पर्यावरणलाई समेत संरक्षण गरी आएका आदिवासी समुदाय विश्वको लागि प्राचीन सम्पत्ति हुन् भन्नुमा कुनै अयुक्ति नहोला । हाम्रो देशको सन्दर्भमा बुहजातीय, बहुधर्म र बहुसांस्कृतिक भएका अधिकांश भूभागमा आदिवासी समुदायहरुको बसोबास थियो । बदलिँदो परिवेशमा आदिवासी समुदाय प्रभावित भएका छन् । तै पनि तीव्र रुपमा उनीहरुले आफ्नो पहिचान, रीतिरिवाज साथै मौलिकता जीवित राख्ने कोशिस गरेका छन् भने अर्काे पाटोमा त्यही मौलिकता नयाँ पुस्ताले आधुनिकताको नाममा भुल्दै गएको पुराना आफ्ना संस्कृतिहरुलाई निरन्तरता दिन नसकेको र आफ्नौ मौलिक वास्तविक थर थलो समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको दृश्य दुःख लाग्दो छ । वास्तविक रुपमा आदिवासी समुदायको लागि सहज, सरल र विकसित समाज सृजना गर्नमा हामी सबैको दायित्व होइन र ?
अबको समयमा हामी सबैले वातावरणलाई अति महत्वका साथ हेरेर जैविक विविधतामा ह्रास आउन दिनुहुँदैन । योजनाकार र नीतिनिर्माताहरु पर्यावरणलाई असर पार्ने तत्वहरुको पहिचान गरेरमात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्था हुनुपर्दछ । यो परिणाम मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको फलस्वरुप जैविक विविधतामा विभिन्न समस्या आएको हो । समयको क्रममा मानवले पर्यावरणमा पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा प्रस्ट छ । मानवजातिको समुन्नति एवम् अस्तित्वकै लागि पनि पर्यावरणको महत्व प्रस्ट हुँदै गएको छ । अतः पृथ्वीका सम्पूर्ण जातिको सुखसमृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे जति महत्व छ त्योभन्दा बढी पर्यावरण तथा जैविक विविधताको संरक्षण पनि अपरिहार्य छ ।
विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संकेतहरुले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महत्व दिन आवश्यक छ । राष्ट्रमा विकास आयोजनाको सञ्चालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महत्वपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ । वर्तमान समयमा मानिसले आफ्ना आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न क्रियाकलापहरु अगाडि बढाइरहेका छन् । यस प्रक्रियामा प्रशस्त मात्रामा जैविक वस्तु नाश गर्ने अनेकौँ समस्याहरु देखापरेका छन् । उत्पादन तथा उपयोगमा नकारात्मक प्रभाव पार्ने हुन्छन् । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पु-याउन सकिन्छ ।
हावा, पानी माटो आदि जैविक वस्तुहरुको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरुमा भएका सानो प्रदूषणको मात्राले पनि व्यापक असर पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस तथा अन्य जीवित प्राणी पनि प्रदूषणको मात्राबाट अलग रहनसक्ने अवस्था हुँदैन । तर कति प्रभाव पार्दछ भन्ने कुरा त्यसप्रतिको निर्भरतामा भर पर्दछ । पर्यावरणको अध्ययनले यस्तो निर्भरता तथा अस्तित्वका लागि आवश्यक पर्ने उपायहरुको खोजीनीतिमा सघाउ पु-याउने हुँदा समग्रमा वातावरणले पर्यावरणलाई प्रदूषणविहीन बनाउनमा सहयोग पुग्दछ ।
मानवको अस्तित्वका लागि वन, जङ्गल, जल आदि प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । पर्यावरणको अध्ययनले हरेक प्राणी तथा वनस्पतिमा के कस्तो सम्बन्ध रहेको हुन्छ भन्ने जानकारी दिन्छ । जङ्गल, जल आदिको महत्व संकटमा पर्नु भनेको जैविक विविधता तथा पृथ्वीका सम्पूर्ण जीवित प्राणी नै संकटमा पर्नु पनि हो । मानव आफ्नो अस्तित्वको लागि प्रकृतिबाट प्राप्त धेरै वस्तुहरु ग्रहण गर्दछ । अतः यिनीहरुको सही उपयोग हुनु आवश्यक छ । तसर्थ प्राकृतिक सन्तुलन विचलित नबनाई मानवले वर्तमान आवश्यकताहरु पूरा गरी भविष्यका सन्ततिका लागि संरक्षण गर्नुपर्दछ । पृथ्वीलाई सुन्दर बनाउन तथा मानवजातिको समष्टिगत हितका लागि जैविक विविधताको संरक्षण अति आवश्यक शर्त हो । तसर्थ पर्यावरण संरक्षण जैविक विविधता अति आवश्यक एवम् महत्वपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणको उपायहरु अवलम्बन हुन्छ ।
विश्वमा गरिब मानिसहरुको संख्या अधिक छ । त्यसमा पनि कम विकसित देशमा गरिब तथा खाद्यान्नको संकटबाट गुज्रिनेहरुको जमात बृहत् छ । वर्तमान समयमा खेतीपातीबाट मात्र हुने उत्पादनले खाद्यान्न पूर्ति नहुने हुँदा जंगली वस्तुहरु कन्दमूल, फलफूल आदिले पनि जीविकोपार्जनमा सघाउ पु-याउँछन् । पर्यावरण तथा जैविक विविधता संरक्षणले मानिसले खाद्यवस्तुका रुपमा स्वीकार गर्ने वस्तुहरु के कस्ता छन् ? तिनीहरुको उत्पादन कसरी हुन्छ ? र जैविक विविधतालाई संरक्षण गरेर कति वस्तुहरु प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी लिइन्छ । यस्तो अवस्थामा खाद्यान्नको संकट व्यहोरिरहेका गरिबहरुको संकटपूर्ण अस्तित्वलाई केही मात्रामा भए पनि राहत पनि पुग्नेछ र पर्यावरण र जैविक विविधता संरक्षण भई स्वच्छ, हराभरा वातावरणमा जीवन बिताउन मद्दत पुग्नेछ । तबमात्र हरेक वर्ष अगष्ट ९ मा मनाइने अन्तर्राष्ट्रिय आदिवासी दिवसले समेत सार्थकता पाउनेछ । (लेखक अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधिप्राप्त छन् ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया