विश्वमै फैलिँदै कोरोनाको त्रास
काठमाण्डौँ,फागुन १८
वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्याह्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य सङ्गठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कुल ८३ हजार ८ सय ५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । सुरुमा चीनमा मात्र सीमित रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकाले यस अवस्थालाई विश्व स्वास्थ्य सङ्गठनले नै चिन्तापूर्ण अवस्थाका रूपमा लिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरूमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरू प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरूलाई नै उनीहरूले रोकेका छन् ।विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । तीबाहेकका पनि विश्वका अरू कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरू गर्न र स्वास्थ्यका कार्यक्रमहरूमा कोरोना रोकथामका कार्यक्रमहरू पनि राख्न उक्त सङ्गठनले सम्बद्ध देशका अधिकारीहरूलाई आग्रह पनि गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को खतराबाट मुक्त रहने अवस्था नरहेको खुलासा गरे । उनले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिए । सोही खतरा बमोजिमको कार्यक्रम र कारबाहीलाई अघि सार्न उनले विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको सङ्क्रमण देखिएको पनि पुष्टि गरेका थिए । त्यसैगरी इटालीमा ६५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार प्राप्त भएको पनि सो अवसरमा उहाँले खुलासा गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनले बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको सङ्क्रमण देखिएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनका अतिरिक्त दक्षिण कोरिया, इटाली, इरान र जापानमा यो सङ्क्रमण हजारौँ बिरामी रहेका छन् । साथै उक्त सङ्गठनले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कामा पनि यसको खतरा रहेको बताएको थियो । ती देशलाई पनि उच्च जोखिमको व्यवस्थापनमा लाग्न आग्रह गरिएको छ । उक्त भाइरसको उत्पत्ति भएको भनिएको मुख्य भूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भइसकेको छ । बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउँसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ भने चीनबाहेक अन्य मुलुकमा कुल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप नौ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्याह्नसम्म दुई हजार ३३७ जनालाई यो भाइरसको पुष्टि भएको छ । दक्षिण कोरियामा थप ५ सय ७१ जनामा त गएको २४ घण्टाभित्र सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा यस भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । उता इरानमा पनि शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको सरकारी स्रोतले बताएको थियो । यद्यपि स्वास्थ्य अधिकारीहरूले भने शनिबारसम्म २१० जनाको मृत्यु भएको बताएको छ । जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कुल २ सय १० व्यक्तिमा कोरोना भाइरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृत्यु भएको बताइएको छ ।
जापानले आगामी मार्च २ देखि देशैभरिका सार्वजनिक विद्यालयहरू बन्द गर्ने जनाएको छ । प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी रूपमा केही समयका लागि बन्द गर्ने घोषणा गरेका छन् । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहनेछन् । सो कार्यक्रममा सहयोग गर्न जापानका शिक्षामन्त्रीले पनि आग्रह गरेका छन् । उनले विद्यालय बन्द गरिएका कारण घरमा रहने बालबालिकालाई बाहिर निस्किन नदिन र घरैमा बस्न लगाउन अभिभावकहरूलाई आग्रह गरेका छन् । जापानले यसै वर्ष ओलिम्पिक खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिताको आयोजानाका लागि आवश्यक पर्ने विभिन्न ओलिम्पिक मसाल रिले आदि कार्यक्रमहरूमा उसले कटौती गरेको जनाएको छ । ती सबै कार्यक्रममा थोरै मात्र सहभागिता गराइने जापान सरकारले जनाएको छ ।उता साउदी अरेयिबा सरकारले इस्लाम धर्मावलम्बीको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिकस्थलको भ्रमणमा पनि रोक लगाएको जनाएको छ । यस्ता स्थलहरूमा विदेशी नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको समाचारमा जनाइएको छ । आगामी जुलाईको अन्त्यतिर सुरु हुने हजको तयारी पूर्वका यस्ता भ्रमणहरू रोक लगाइएको जनाइएको छ । साउदी अरेबिया सरकारले नयाँ कोरोना भाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाएको छ । तर साउदी अरेबियामा हालसम्म कोरोना भाइरसको सङ्क्रमण भने देखिएको छैन ।
यता विश्वका देशहरूले यो सङ्क्रमणका विरुद्धमा व्यापक मात्रामा लडिरहेका बेला चिकित्सकहरूले यो सङ्क्रमण फर्किन पनि सक्ने बताएका छन् । निको भएर घर फर्किएका यसका बिरामीमा पुनः यसको सङ्क्रमण देखिएको जापान र चीनबाट प्राप्त केही समाचार विवरणहरूमा जनाइएको छ । मानिसहरू निको भइसकेको भनेर घर गएपछि पनि केही सातापछि पुनः सङ्क्रमित भएर अस्पताल आएका उनीहरूको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामी निको भइसकेपछि पनि फेरि सङ्क्रमणमा परेको पाइएको बताएका हुन् ।निको भएका भनिएका ती मानिसको शरीरमा भाइरस पूर्णरूपमा नष्ट नभइसकेको र यससम्बन्धी परीक्षणहरू पनि सधैँ सही नहुने भएकाले पनि सङ्क्रमितलाई फेरि दोहोरिएको अनुमान चिकित्सकहरूले जनाएका छन् । तर पनि घटनाबारे थप जानकारी लिएर अनुसन्धानमा वैज्ञानिकहरू लागेका बताइएको छ । वैज्ञानिकहरू यस प्राणघातक सङ्क्रमणको औषधिको खोजीमा लागेका छन् । तर अहिलेसम्म सम्भव भएको छैन । उता विश्वका कैयौँ देशमा यसको सङ्क्रमण फैलिइरहेको छ र यसबाट विश्व नै त्रसित बनेको छ । (रासस)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया