आकर्षणहीन वैदेशिक रोजगार बचतपत्र
काठमाडौं । मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरूलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले विगत १२ वर्षयता नियमितरूपमा वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ ।
त्यस्ता नेपालीहरूले विदेशमा आर्जन गरेको रकम लगानी गर्न प्रोत्साहित गर्ने, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासको निमित्त वित्तीय साधन जुटाउने उद्देश्यले बचतपत्रको निश्कासन गर्न थालिएको हो । यो बचतपत्र सरकारको आन्तरिक ऋण उठाउने औजार पनि हो । तर, हालसम्मको अभ्यासलाई हेर्ने हो भने बचतपत्रमा निष्कासन गरिने रकमको तुलनामा ज्यादै न्यून रकम मात्र संकलन भइरहेका कारण यसको आकर्षण सन्तोषजनक रहेको छैन ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको अवधारणा सुरु गरेको हो । त्यसयताका १२ वर्षमा केन्द्रीय बैंकले १० पटक बचतपत्रको निष्कासन गरिसकेको छ । तर, बचतपत्रमार्फत सरकारले कुनै पनि वर्ष लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सकेको छैन । हालसम्मको तथ्यांकमा सरकारले कुल १३ अर्ब ५८ करोड ७९ लाख रूपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरेकोमा ६७ करोड ९२ लाख रूपैयाँको बचतपत्र मात्रै बिक्री हुन सकेको देखिन्छ । यो कुल आह्वान भएको रकमको ५ प्रतिशत मात्रै हो । हरेक वर्ष अपेक्षा गरिएको तुलनामा एकदमै कम मात्र बिक्री भएपछि आह्वान गरिने रकमको अंश समेत घटाउँदै लगिएको र यसवर्ष ५० करोडमा सीमित गरिएको देखिन्छ ।
पचासौँ लाख नागरिकहरू रोजगारीका लागि विदेशिएका तथा वर्षेनी १० खर्बभन्दा बढी विप्रेषण आय भित्रिरहेको मुलुकमा तिनै नागरिकहरूलाई लक्षित गरी निष्कासन गरिने वैदेशिक रोजगार बचतपत्रको बिक्रीको मात्रा अत्यन्त न्यून रहनुले यसप्रतिको आकर्षणहीनतालाई प्रस्ट्याइरहेको देखिन्छ । घाटा बजेट परिचालन गर्ने नेपालजस्ता विकाशोन्मुख देशका केन्द्रीय बैंकहरूले विभिन्न माध्यमबाट आन्तरिक ऋण उठाउने गर्दछन् । नेपालको केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकले सरकारका लागि आवश्यक पर्ने आन्तरिक ऋण हरेक वर्ष उठाउँदै आएको छ ।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको राष्ट्र ऋण व्यवस्थापन मार्गदर्शनले ट्रेजरी बिल, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र तथा बैंकले नेपाल सरकारको स्वीकृति लिई वा निर्देशनबमोजिम निष्कासन गर्ने अन्य कुनै ऋणपत्रलाई समेत ऋणपत्रका रूपमा परिभाषित गरेको छ । यसमध्ये, वैदेशिक रोजगार बचतपत्र मध्यमकालीन अवधिको तथा तोकिएको अवधिभित्र ओभर द काउन्टर (ओटीसी) प्रक्रियाबाट निष्कासन गरिने बचतपत्र हो । यससँगै, राष्ट्र बैंकले समय–समयमा विकास ऋणपत्र, नागरिक बचतपत्र, ट्रेजरी विल्स र राष्ट्रिय बचतपत्रमार्फत पनि आन्तरिक ऋण उठाउँदै आएको छ । तर, लक्षित वर्गको कम आकर्षणका कारण आन्तरिक ऋण संकलनका अन्य उपकरणहरूको तुलनामा वैदेशिक रोजगार बचतपत्र अप्रभावकारी उपकरणका रूपमा देखिएको छ ।
लक्षित वर्गका नागरिकहरूको आकर्षण अपेक्षित रूपमा रहन नसकेको वैदेशिक रोजगार बचतपत्र आफैँमा अनाकर्षक भने छैन । यसले छरिएर रहेको पुँजीलाई एकत्रित गरी राष्ट्र निर्माणमा लगाउन मार्गप्रशस्त गर्दछ । बचतपत्रमा लगानी गर्दा विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा बचत हुने र यसबाट मुलुकको विकासमा पनि टेवा पुग्ने भएकोले व्यक्तिगत लाभसँगै मुलुकी विकासको हिस्सेदार समेत बन्न सकिन्छ । अर्कोतर्फ, विदेशमा रहेर पनि देशभित्र सुरक्षित लगानी गर्ने अवसर बचतपत्रमार्फत सिर्जना हुने गर्दछ । वैदेशिक रोजगार बचतपत्रको अवधि निश्चित रहनुका साथै यसमा गरिने लगानीको ब्याज पनि आकर्षक रहेको देखिन्छ । ट्रेजरी विल्स र विकास ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने भए पनि वैदेशिक रोजगार बचतपत्रमा दिइने ब्याजदर पूर्वनिर्धारित र निश्चित रहेको हुन्छ ।
पछिल्लो समयमा गत जेठमा जारी गरिएको वैदेशिक रोजगार बचतपत्र २०८४ मा विगत वर्षहरूमा भन्दा बढी अर्थात् १२ दशमलव ५ प्रतिशत ब्याजदर रहने र ब्याज भुक्तानी ६/६ महिनामा हुने व्यवस्था रहेको थियो । यसबाट तुलनात्मक रूपमा आकर्षक ब्याज प्राप्त गर्नुका साथै हरेक ६/६ महिनामा प्राप्त हुने ब्याज आम्दानीबाट बचतपत्र खरिदकर्ताको सानोतिनो गर्जो टार्ने माध्यम बन्छ भने पाँचवर्षे अवधि पूरा भइसकेपछि एकमुस्ट रकम प्राप्त गर्न सकिन्छ । अर्कोतर्फ, लगानीकर्तालाई आवश्यक भएमा बचतपत्रलाई धितो राखेर जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनसमेत पाइन्छ ।
लाखौँ नेपालीहरूले विदेशी भूमिमा रोजगारी गरी मुलुकमा पठाएको रेमिट्यान्स रकमको ठूलो हिस्सा उपभोगमा मात्र खर्च भई व्यापार सन्तुलनमा समेत असर पुगिरहेको सन्दर्भमा यसमा कमी ल्याई बचत गर्ने बानी बसाल्न समेत बचतपत्रले प्रत्यक्ष सहयोग पु-याउँदछ । यसरी हेर्दा, बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न र अनावश्यकरूपमा उपभोगमा खर्च गर्नभन्दा बचतपत्रमा लगानी गर्दा हरतरहले फाइदा पुग्ने देखिन्छ । तथापि, विभिन्न कारणहरूको विद्यमानतामा यसप्रति लक्षित वर्गका नागरिकहरू आकर्षित हुनसकिरहेका छैनन् ।
अवधारणा र विशेषताका हिसाबले हेर्दा वैदेशिक रोजगार बचतपत्रको आफैँमा निकै राम्रो लगानीको माध्यम भए पनि यसप्रतिको आकर्षण कम रहनुको मूल कारण लक्षित वर्गसम्म प्रचारप्रसार र पहुँचको अभाव रहनु नै हो । वैदेशिक रोजगार बचतपत्रको विशेषता र फाइदाका बारेमा प्रचारप्रसार गर्ने मूल जिम्मेवारी नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागको भए पनि उक्त विभागले लक्षित वर्गसम्म यसको प्रभावकारी प्रचारप्रसार गर्न सकेको छैन । यसैगरी, सम्बन्धीत मुलुकमा कार्यरत नेपाली नागरिकहरू तथा गैरआवासीय नेपालीहरूबीचमा बचतपत्रका बारेमा व्यापक प्रचारप्रसार गर्ने जिम्मेवारी विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको पनि रहेको छ । तर, कूटनीतिक नियोगहरूको प्राथमिकतामा यो विषयले उति महत्व पाउन सकेको छैन ।
प्रवासमा रहेका अधिकांश नेपालीहरू बचतपत्र, यसमा लगानी गर्दा प्राप्त गर्न सकिने फाइदा तथा लगानीको सुरक्षाका बारेमा अनभिज्ञ रहँदै आएको तथ्य स्वयम् राष्ट्र बैंककै अधिकारीहरूले सार्वजनिकरूपमा राख्दै आएका छन् । बचतपत्र कहिले जारी हुन्छ, फाराम कहाँ पाइन्छ, आवश्यक रकम कुन स्थानबाट पठाउने, विनिमयदर कति हुने, ब्याजदर कति हुनेलगायतका बिषयहरू नेपाल राष्ट्र बैंकको वेबसाइटमा राख्ने गरिए पनि यसबाट मात्र सबै लक्षित वर्गसम्म पहुँच पुग्न सकेको छैन ।
रेमिट्यान्स आप्रवाह धेरै हुने विश्वका अन्य मुलुकहरूमा यसकिसिमको बचतपत्र लोकप्रिय बन्नेगरेको र मुलुकी विकासमा बचतपत्रबाट संकलित ऋणको उपयोग भइरहेको सन्दर्भमा यसको प्रभावकारिता अभिवृद्धिका लागि विभिन्न कदमहरू चालिन आवश्यक छ । वैदेशिक रोजगारीमा जाने कामदार र तिनका परिवारसम्म पुग्ने गरी बचतपत्रको बारेमा व्यापक प्रचारप्रसार नगरिएसम्म यसप्रतिको आकर्षण वृद्धि हुन सक्दैन । वैदेशिक रोजगारीमा जानुअघि प्रदान गरिँदै आएको अभिमुखीकरणमा नै वैदेशिक रोजगार बचतपत्रका बारेमा प्रशिक्षण दिनुपर्ने आवश्यकता देखिएको छ ।
साथै, बचतपत्र निष्कासन गर्नुअघिदेखि नै विश्वका विभिन्न मुलुकहरूमा रोजगारीका लागि छरिएर रहेका नेपालीहरूबीचमा यसको फाइदा र उपादेयताका बारेमा व्यापक प्रचारप्रचार गरिनुपर्ने देखिन्छ । बचतपत्रको निष्कासन समेत निश्चित समयमा नभई बाह्रै महिना खुला गर्नसके जुनबेला रकमको जोहो हुन्छ त्यही समयमा लगानी गर्नसक्ने सुविधा उपलब्ध गराउन सकिन्छ । बचतपत्रको बिक्रीका लागि कूटनीतिक नियोगहरूको प्रभावकारिता अभिवृद्धि गर्ने तथा गैरआवासीय नेपाली संघको विश्वव्यापी सञ्जाललाई उपयोग गर्नसक्ने हो भने यसको आकर्षण बढाउन सकिन्छ । अर्कोतर्फ, बचतपत्रबाट संकलित रकम पुँजीगत लाभ हुने उत्पादनशील क्षेत्रमा लगानी गर्ने र बचतपत्रले पनि सेयरमा लगानी गरेजस्तो पुँजी बढ्ने गरी लाभ दिने व्यवस्था गर्नसके यसप्रति लक्षित समुदायलाई आकृष्ट गर्नसकिने अवस्था रहन्छ ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रप्रतिको आकर्षण अभिवृद्धिका लागि केही सुधारात्मक प्रयासहरू गरेको देखिन्छ । विदेशमा बस्ने नेपालीहरू संलग्न सबै संघसंस्थालाई पत्राचार गरी बचतपत्रको बारेमा जानकारी गराउन अनुरोध गर्ने, गैरआवासीय नेपाली संघलाई यससम्बन्धी जानकारी गराउने, धेरै नेपाली कामदारहरू रहेका मुलुकहरूमा राष्ट्र बैंकको टोली खटाई प्रचारप्रसार गर्नेजस्ता कार्यहरू भएका देखिन्छन् । विगतमा सीमित स्थानहरूबाट एजेन्टहरूमार्फत बचतपत्रको आवेदन फाराम प्राप्त गर्ने र बुझाउने गरिएकोमा यसवर्षदेखि वैदेशिक रोजगारीमा गएकाहरूले आफू कार्यरत रहेकै स्थानबाट अनलाइनमार्फत बचतपत्र किन्न सकिने व्यवस्था मिलाइएको देखिन्छ । यद्यपि, यसकिसिमका सुधारात्मक प्रयासहरू बचतपत्रप्रति लक्षित वर्गको आकर्षण बढाउन पर्याप्त रहेका भने छैनन् ।
मुलुकबाहिर रोजगारीमा संलग्न रहेका र मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा समेत खरिद गर्न सकिने वैदेशिक रोजगार बचतपत्रका बारेमा लक्षित वर्गसम्म हरतरहले जानकारी प्रवाह गरिन आवश्यक छ । अन्य मुलुकहरूको सफल अभ्यास हेर्दा यसकिसिमको बचतपत्र निश्चित परियोजनाविशेषका लागि जारी गर्ने गरिन्छ । हाम्रो सन्दर्भमा पनि निश्चित परियोजनामा लगानी गर्नेगरी निष्कासनअघि नै परियोजनाको टुंगो गरेर बचतपत्र बिक्रीबाट संकलित रकमलाई परियोजनाकेन्द्रित तुल्याउन सके यसबाट बढी लाभ उठाउन सकिन्छ ।
यसो गर्नसकेमा वैदेशिक रोजगार बचतपत्र परियोजनाविशेषका लागि स्रोत जुटाउने गतिलो माध्यम बन्नसक्ने प्रबल सम्भावना समेत रहेको छ । अतः आगामी दिनहरूमा वैदेशिक रोजगार बचतपत्रलाई आन्तरिक ऋण संकलनको आकर्षक र प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नेतर्फ सम्बन्धित सरोकारवालाहरूको यथेष्ट ध्यान पुग्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया