Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखर्च गर्न पाँच तहमा निर्वाचन क्षेत्र निर्धारण

खर्च गर्न पाँच तहमा निर्वाचन क्षेत्र निर्धारण

कम्तीमा २५ लाखदेखि बढीमा ३३ लाखको सीमा


काठमाडौँ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभातर्फका उम्मेदवारले पैसा खर्च गर्न पाउने क्षेत्रलाई पाँच भागमा वर्गीकरण गरेको छ । विभिन्न राजनीतिक दल आबद्ध तथा स्वतन्त्र उम्मेदवारहरुलाई अधिक खर्च गरेर निर्वाचन नै प्रभावित पार्ने कार्यलाई निरुत्साहित गर्न आयोगले खर्च गर्न पाउने रकमको सीमा तोक्दै निर्वाचन क्षेत्रसमेत तोकेको हो ।

निर्वाचन आयोगका अनुसार यसरी खर्चको सीमा तोक्दा निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सहयोग पुग्नेछ भने विकृति पनि रोकिनेछ । आयोगले निर्वाचन क्षेत्र नै तोकेर एउटा उम्मेदवारले आफ्नो क्षेत्रमा २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

आयोगका अनुसार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँचवटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

आयोगका अनुसार अहिले देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा दुई हजार चार सय १२ जना विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार खडा भएका छन् । आयोगका अनुसार ती सबै उम्मेदवारले आ–आफ्नो क्षेत्रअनुसार आयोगले तोकेअनुसार मात्र चुनाव प्रचारका लागि रकम खर्च गर्न पाउनेछन् ।

आयोगका अनुसार सबैभन्दा कम रकम काठमाडौंका पाँचवटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र खर्च गर्न पाउनेछन् । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–१, ३, ६, ७ र ८ का उम्मेदवारहरुले २५ लाख रुपैयाँका दरले मात्र निर्वाचनमा खर्च गर्न पाउनेछन् । तोकिएको सीमाभन्दा बढी रकम खर्च गर्ने उम्मेदवारको उम्मेदवारी नै रद्द गर्न समेत सकिने आयोगले जनाएको छ ।

त्यस्तै, सबैभन्दा बढी ३३ लाख रुपैयाँ भने २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउनेछन् । बढी खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा ताप्लेजुङ–१, पाँचथर–१, संखुवासभा–१, सोलुखुम्बु–१,खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१ र २, मकवानपुर–१ र २, गोरखा–१, लमजुङ–१, अर्घाखाँची–१, रोल्पा–१, प्यूठान–१, दाङ–१, बर्दिया–१ र २, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१, डोटी–१ र बैतडी–१ रहेका छन् । ती क्षेत्रले ठूलो भाग ओगट्ने भएको हुनाले आयोगले खर्चको सीमा सबैभन्दा बढी तोकेको हो । ‘ती क्षेत्रमा उम्मेदवारहरु घरदैलो कार्यक्रम गर्न नै धेरै समय लाग्ने भएको कारण रकम पनि बढी नै राखिएको हो’, आयोगका एक अधिकारीले भने ।

त्यस्तै, आयोगले इलाम–१ र २, झापा–२, ३ र ५ भोजपुर–१, धनकुटा–१, मोरङ–१, २ र ३ सहित ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा ३१ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा तोकिदिएको छ । सबैभन्दा बढी ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुले भने २९ लाख रुपैयाँको दरले निर्वाचनमा खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ । आयोगका अनुसार झापा–१ र ४, मोरङ–४, ५ र ६, सुनसरी–४, उदयपुर–२ लगायतका क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँको दरले रकम खर्च गर्न पाउनेछन् ।

यस्तै, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाखका दरले निर्वाचनमा खर्च गर्न पाउनेछन् । यसरी २७ लाख रुपैयाँ खर्च पाउने निर्वाचन क्षेत्रहरुमा तेह्रथुम–१, पर्सा–१, २ र ३, रसुवा–१, काठमाडौं–२, ४, ५, ९ र १० नम्बर क्षेत्र, भक्तपुर–२, ललितपुर–१, २ र ३, मनाङ–१, कास्की–२ र रुकुम (पूर्वीभाग)–१ का उम्मेदवारहरुले २७ लाख रुपैयाँका दरले खर्च गर्न पाउनेछन् ।

आयोगले २५, २७, २९, ३१ र ३३ लाख रुपैयाँका दरले खर्च गर्न पाउने सीमा तोके पनि कुनै–कुनै उम्मेदवारले करोडौँ रुपैयाँ खर्च गर्ने गरेको आरोप लाग्ने गरेको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्ना विपक्षीलाई धेरै रकम खर्च गर्ने गरेको आरोप लगाउने गरेका छन् । तर, उनीहरुले आरोप लगाए पनि त्यसको पुष्टि गर्ने गरेका छैनन् । निर्वाचनमा धेरै खर्च हुने गरेको भाषण गर्ने नेताहरुलाई त्यसको प्रमाण जुटाइदिन आयोगले पत्राचार नै गरे पनि उनीहरुले पुष्ट्याइँ भने दिने गरेका छैनन् । तर, निर्वाचन क्षेत्रमा हुने गरेका खर्च हेर्दा धेरै खर्च भयो भनेर लाग्ने आरोपलाई असत्य मान्न सकिने पनि देखिँदैन । तर, सत्य मान्न पुष्टिको आधार पनि देखिँदैन । यदि आयोगले तोकेको सीमाअनुसार खर्च हुने हो भने निर्वाचन धेरै स्वच्छ हुने देखिन्छ ।

आयोगले खर्च कम गराउन पोष्टर, झण्डा, टोपी, टिसर्ट, तुल, ब्यानरलगायतका सामग्री प्रयोगमा पनि कडाइ गरेको छ । यद्यपि उम्मेदवारहरुले त्यसको उल्लंघन गर्ने गरेको कारण उनीहरुलाई आयोगले निर्वाचन नजिकिँदै गर्दा दैनिकजसो स्पष्टीकरण पनि सोध्ने गरेको छ । ती स्पष्टीकरण पनि देखावटी मात्रै हुने गरेको छ । केही दिनअगाडि निर्वाचन आयोगले गोरखामा उम्मेदवारी दर्ताका दिन किन बाजाको प्रयोग गरेको भनेर माओवादी अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेकामा उनले त्यो बाजा प्रयोग गरेको बारेमा आफूलाई कुनै जानकारी नभएको भनेर आयोगलाई जवाफ दिएका थिए र आयोगले त्यसलाई स्वीकार गरेको थियो । यद्यपि उम्मेदवारी दिने बेलामा माओवादीले नै बाजा बजाएर जुलुस गरेको कुरा प्रस्ट थियो । 

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x