Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविज्ञापन व्यवसायीको छाता संगठन आन फुटेर बन्यो नान

विज्ञापन व्यवसायीको छाता संगठन आन फुटेर बन्यो नान


काठमाडौं । विज्ञापन व्यवसायी (एजेन्ट)हरूको छाता संगठन नेपाल विज्ञापन संघ (आन) फुटेर राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) गठन भएको छ ।

विज्ञापन व्यवसायीहरूको हकहितको लागि भनेर सन १९९० मा दर्ता भएको नेपाल विज्ञापन संघ (आन) एकलौटी पारिवारिक र स्वेच्छाचारीरूपमा अघि बढेको भन्दै यसका सदस्यहरूमा लामो समयदेखि मतभिन्नता हुँदै आएको थियो ।

आन यतिबेला विवादमा आएका मिडिया हबका सञ्चालक सोम धितालको नेतृत्वमा रहँदै आएको छ । उनले नेपालमा विश्वकप फुटबलको लागि इतिहासमा नै पहिलो पटक नेपालीहरूसँग प्रतिटेलिभिजन पाँच सय उठाउन लागेपछि विरोध भइरहेको छ भने नेपाली जनताहरूको समेत सेयर स्वामित्व रहेको नेपाल टेलिकमबाट दुई करोडको व्यापार गर्नको लागि २४ करोड मिडिया हबलाई दिन लागेको भन्दै विरोध भइरहेको छ ।

आन फुटेर नान गठन भएसँगै धितालको कार्यक्षमतामा समेत प्रश्न उठेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आन फुटेर नान गठन भएको औपचारिक घोषणा गरिएको हो । आनको कार्यसमितिमा समेत बसेर काम गरिसकेका धर्मेन्द्र काजी श्रेष्ठको अध्यक्षतामा बनेको कार्यसमितिमा प्रदिप प्रसाद कोइराला प्रथम उपाध्यक्ष, अमृत कुमार पन्थी द्वितीय उपाध्यक्ष, आशिष खड्का महासचिव, विमल खड्का सचिव, कमला पौडेल अर्याल कोषाध्यक्ष, बसन्त योगी सहकोषाध्यक्ष, तथा रवि अर्याल, ईन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गुञ्जमणि भट्टराई सदस्य रहेका छन् ।

संस्था गठन भएको घोषणा कार्यक्रममा बोल्दै नानका अध्यक्ष श्रेष्ठले नेपालको संविधान एवं प्रचलित नीति, नियम र कानुनको अधिनमा रही व्यावसायिक प्रवर्द्धन, बजार अनुसन्धान, प्रोत्साहन, इभेन्ट म्यानेजमेन्ट, -याली, सभा, गोष्ठीहरू गरी श्रव्यदृश्य, छापा, होर्डिङ बोर्ड, भित्तेलेखन तथा इलेक्ट्रोनिक डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञापन एजेन्सीद्वारा प्रचार–प्रसार गरी विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्दै राष्ट्रलाई सेवा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) गठन भएको बताए ।

सोही उद्देश्यलाई आत्मसात् गर्दै विज्ञानपनदाता, सञ्चार माध्यम र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रूपमा कार्य गर्दै प्रचार–प्रसारसँग सम्बन्धित व्यवसायी (विज्ञापन एजेन्सी)लाई एकताबद्ध गरी व्यावसायिक हकहितको संरक्षण र संवर्द्धन गर्ने समेत यसको उद्देश्यले रहेको उनले बताए ।

उनका अनुसार देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गर्ने उद्देश्यले भएको बृहत् छलफलपछि नानको अवधारण आएको र सोही अवधारणलाई मूर्तरूप दिँदै यसको घोषणासम्मको अवस्था आएको हो ।

स्थापनाकालमै ६७ वटा एजेन्सीहरू स्वतस्फुर्त रूपमा जोडिसकिएको यस संघले पहुँच नपुगेका दूर दराजमा रहेर स्वरोजगार बन्दै काम गर्दै आएका ती एजेन्सीहरूलाई पनि यस संघमा आबद्ध गराई उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा पनि नानले आफ्ना कार्यक्रम अगाडि बढाउने नानले घोषणा गरेको छ ।

मेरो मात्र नभई हामी र हाम्रो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नानको सदस्य बन्न चाहनेले देशैभर छरिएर रहेका आम विज्ञापन एजेन्सीलाई सदस्य बन्न आह्वान गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x