Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन देशसँग श्रम सम्झौता नवीकरणको तयारी

तीन देशसँग श्रम सम्झौता नवीकरणको तयारी


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकहरूसँग गरेको श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । श्रमिकहरूको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने क्रममा श्रम सम्झौताको नवीकरण गर्ने तयारी मन्त्रालयले गरेको हो ।

साउदी अरेबिया, सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरब इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तयारी गरिएको श्रममन्त्री शेरबहादुर कुवँरले बताए ।

कामदारको हकमा परिस्थिति बदिलिएको हुँदा उनीहरूको सेवा, सुविधा, बासस्थान, कार्यक्षेत्रलाई लिएर नेपालले ती मुलुकहरूसँग गरेको श्रम सम्झौता समसामयिक बनाउन आवश्यक रहेको बताइएको छ । यो एउटा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने प्रयास समेत हुने उनको भनाइ छ । यसअघि गरेका श्रम सम्झौताका कारणले गर्दा नेपाली कामदारले आफ्नो अधिकारअनुरूप सेवा सुविधा पाउन सकेका छैनन्, जुन कामदारका लागि निकै ठूलो समस्या रहेको छ । सरकार यस विषयमा मौन बस्दा नेपाली कामदारहरू विदेशमा समस्यमा पर्नेगरेको पाइन्छ । रोजगारदाताले औषधि उपचार समेत नगर्दा स्वदेश फर्किएर आफ्नै खर्चमा उपचार गर्ने ठूलो संख्यामा नेपाली कामदार रहेको स्वयं सरकारी तथ्यांक समेत रहेको छ ।

यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने क्रममा वैदेशिक रोजगार सूचना प्रणालीमा सबैको पहुँच अभिवृद्धि गर्ने कार्यलाई उच्च महत्व दिई गन्तव्य मुलुकसम्म विस्तार गर्ने नीति अवलम्बन गरेको छ । जसले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्थाको जानकारी राख्नुको साथै समस्यामा परे/नपरेको पत्ता लगाई सोहीअनुरूप सरकार अघि बढ्नेछ । यसको लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको भूमिका महत्वपूर्ण हुनेछ । वैदेशिक रोजगारको क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको हक हितको रक्षार्थ विदेशस्थित कूटनीतिक नियोगहरूमा खटिई कार्यरत काउन्सेलर (श्रम) र श्रम सहचारीसँग ‘भर्चुल मिटिङ’ गरी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको मन्त्री कुवँरले बताएका छन् ।

यसैबीच रोमानियाको रोजगारी सहज बनाइने भएको छ । रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरूले त्यहाँबाट रोजगारदातासँग सम्झौता गरिसकेपछि भिषा प्राप्तिका लागि आवदेन गर्न छिमेकी मुलक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्थाका कारण अतिरिक्त समय र पैसा खर्च हुनेगरेको छ । जसले गर्दा रोमानिया जान चाहने नेपाली नागरिकहरूले रोमानियमा प्रवेशको लागि आवश्यक भिषा प्रक्रियालाई सरल बनाउन काठमाडौंस्थित वैदेशिक रोजगार कार्यालय, ताहाचलमा अस्थायीरूपमा रोमानियन मिसन स्थापना गरिएको छ ।

मन्त्रालयले रोमानिया मात्र नभई इजरायलको रोजगारी समेत व्यवस्थित गर्ने जनाएको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भई कार्य गरिरहेको छ , जसले इजरायल रोजगारीलाई सरल र सहज बनाउनेछ । इजरायलमा हाल एक हजार जना केयरगिभर लैजाने प्रतिबद्धता व्यक्त गरेको अवस्थामा सो निर्देशिका प्रभावकारी बनाउन कार्यदल गठन भएको हो । यस्तै, मन्त्रालयले नेपाल सरकार र जापान सरकारबीच काठमाडौंमा सम्पन्न द्विपक्षीय बैठकले गरेको श्रमसम्झौता समयसापेक्ष भएको जनाएको छ । सो श्रम सम्झौतामा कामदारको अधिकारको विषय सुनिश्चित गरेको बताइएको छ ।

यसैबीच सरकारले एक सय ११ मुलुकलाई संस्थागतरूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा भने एक सय ७२ मुलुक नेपाली कामदार जान सक्नेछन् । हाल अफगानस्तिान, लिबिया र इराकमा काम गर्न जानको लागि श्रम स्वीकृति दिने गरेको छैन । श्रम सम्झौता नवीकरणले कामदारलाई राहत दिने हुँदा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा वृद्धि हुनेछ ।

यस्तै चालू आर्थिक वर्षको तीन महिनामा करिब दुई लाख युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । चालू आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार र असोजमा ५६ हजारले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । हाल पनि ४५ लाखभन्दा बढी युवाहरू कामका लागि विदेशमा रहेका छन् । श्रमबजारमा वार्षिक पाँच लाख युवाहरूले प्रवेश गर्ने हुँदा आन्तरिक रोजगारीको अभावका कारण युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x