Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वतन्त्र पार्टीकी कार्कीको उम्मेदवारी खारेज

स्वतन्त्र पार्टीकी कार्कीको उम्मेदवारी खारेज


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले शनिबार विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी गराएको हो ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले निजको उम्मेदवारी खारेज गरीपाऊँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएकोमा सो उजुरीका सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानुनी व्यवस्थाबमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजातहरू पठाएको थियो । आयोगको शनिबारको निर्णयले उनको उम्मेदवारी खारेज गरेको हो ।

डा. कार्की मिति २०७८ पुस २ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्थाबमोजिम डा. कार्कीले मिति २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ सम्म भत्ता बुझेको पाइएको आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा ३०६ को उपधारा (१)को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनुपर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिकभित्रै पर्ने देखिएकोले डा. कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्तालगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६)सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ)मा कुनै संघीय कानुनले अयोग्य नभएको र (च)मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुनेगरी डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिएर खाएको देखिएको आयोगले जनाएको छ । सोही कारण उनी सार्वजनिक पद धारण गरेको र लाभको पदमा बहाल रहेको भन्ने देखिएको आयोगले बताएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को (ङ)मा भएको कानुनी व्यवस्थाबमोजिम कार्कीको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x