Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशु स्वास्थ्य व्यवसाय सञ्चालनमा कडाइ

पशु स्वास्थ्य व्यवसाय सञ्चालनमा कडाइ

शैक्षिक योग्यताले धेरैलाई समस्या


काठमाडौं । सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई कानुनी दायरामा ल्याएको छ । यसअघि विना योग्यता सामान्य तालिम लिएर पनि पशु स्वास्थ्यसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएकाहरुलाई निरुत्साहित गर्दै सरकारले अब त्यस्ता व्यवसाय ‘पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्’मा अनिवार्य दर्ता गर्नुपर्ने ऐन ल्याएको छ । उक्त परिषद् काठमाडौं उपत्यकामा मात्र रहने छ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय दर्ता गर्दा सम्बन्धित सञ्चालकको शैक्षिक योग्यता पनि तोकिएको छ । विना योग्यताका व्यक्तिहरुले पशु स्वास्थ्य व्यवसाय सञ्चालन गर्दा पशुको मृत्यु बढेपछि किसानहरुले त्यस्ता व्यवसायीको शैक्षिक योग्यताबारे प्रश्न उठाउँदै आएका थिए ।

संघीय संसद्ले ‘पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९’ पारित गरेपछि असोज २३ गते राजपत्रमा सूचना प्रकाशित भइसकेको कारण अब पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सरकारी निकायमा दर्ता गर्नैपर्ने बाध्यता भएको हो । दर्ता नगरी सञ्चालन भएका त्यस्ता व्यवसाय अब गैरकानुनी हुनेछन् । उक्त ऐन राजपत्रमा प्रकाशित हुनु अगाडिदेखि नै सञ्चालनमा रहेका व्यवसायले पनि एउटा कानुनी प्रक्रिया पूरा गरेर दर्ता गर्नैैपर्नेछ ।

उक्त ऐनको दफा १३ को उपदफा २ मा ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले आफ्नो फर्म ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्रमा तोकिएको शैक्षिक योग्यता अनुसार दर्ताका लागि निवेदन दिनुपर्ने सुविधा दिएको छ । उक्त ऐन प्रमाणीकरण भएको मितिले ३१ औं दिन अर्थात कात्तिक २२ गतेदेखि लागू हुनेछ । उक्त ऐन असोज २३ गतेको मितिमा प्रमाणीकरण भएको थियो ।

भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्तिले भने त्यस्ता व्यवसाय सञ्चालन गर्न पाउने छैन । यदि सञ्चालन गरेको छ भने पनि दर्ता किताबबाट नाम हटाइने ऐनको दफा १५ मै व्यवस्था गरिएको छ ।

त्यस्तै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसम्बन्धी तोकिएको आचरण पालना नगरेको भनी परिषद्को दुई तिहाइ बहुमतले ठहर गरेका फर्म पनि दर्ता हुनबाट वञ्चित हुनेछन् ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई पनि ऐनले विभिन्न श्रेणीमा विभाजन गरेको छ । अब सबै व्यवसायी एउटै योग्यता वा क्षमताको हुने छैनन् । ऐनको दफा १७ अनुसार क, ख, ग र घ गरी चार श्रेणीमा त्यस्तो व्यवसाय दर्ता हुनेछ । क श्रेणीमा दर्ता हुनेले मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधि उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै ख श्रेणीमा दर्ता हुन चाहनेले मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेका वा ग श्रेणीमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेका र परिषद्ले तोकेबमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

ग श्रेणीमा दर्ता हुन चाहनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सोसरहको उपाधि हासिल गरेका वा घ श्रेणीमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेका र परिषद्ले तोकेबमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

यस्तै, घ श्रेणीमा दर्ता हुन चाहनेले मान्यताप्राप्त शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्राविधिक एसएलसी वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । यस्तो शैक्षिक योग्यताको कारण पशु स्वास्थ्य व्यवसायमा विज्ञहरुको प्रवेश हुने अपेक्षा गरिएको छ । कपितय अवस्थामा परिषद्ले परीक्षासमेत लिएर मात्र त्यस्ता व्यवसाय दर्ता गर्न सक्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x