Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठ पूजा

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठ पूजा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार छठ पूजास्थलमा गई छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा र प्रधानमन्त्री देउवाले थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठीमाताको पूजा अर्चना गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको संयोजनमा तयार गरिएको कमलपोखरीको पूजास्थलमा पुगी राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घदान गरेकी थिइन् । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठीमाताको पूजा आराधाना एवं अर्घदान गरेकी थिइन् । अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो । पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गरेकी थिइन् । पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

यसैगरी प्रधानमन्त्री देउवाले थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा राखिएको छठीमाताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई पूजा अर्चना गरिन्छ । छठ पूजा समिति कुपण्डोल (ललितपुर)का अध्यक्ष राजीव सिन्हाले बर्तालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्ने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुने जानकारी दिए । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नसमेत टेवा पुग्ने उनको भनाइ छ ।

राजधानीको गुहेश्वरी, कमलपोखरी, थापाथलीलगायत नदी किनार र तलाउमा बर्तालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठीमाताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x