Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैंकले नेपाल सरकारलाई भन्यो– ‘वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाऊ’

विश्व बैंकले नेपाल सरकारलाई भन्यो– ‘वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाऊ’


काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक अवस्था र विदेशी मुद्रा सञ्चितिमा सुधार आएको भन्दै वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सोमबार काठमाडौंमा आयोजित ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले त्यस्तो सुझाव दिएको हो ।

सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै कार, जिपलगायतका गाडी, तीन सय डलरभन्दा माथिका मोबाइल, एक सय सीसीभन्दा माथिका मोटरसाइकल, विदेशी मदिराको आयातमा आउँदो मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएको छ ।

सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएकामा अहिले छ प्रकारका वस्तुमाथिको आयात प्रतिबन्ध हटाएर चार प्रकारका वस्तुको आयातमा भने प्रतिबन्ध जारी राखेको बेला विश्व बैंकले उक्त प्रतिबन्धले नेपालको व्यापारमा असर गरेको दाबी गरेको छ । सरकारले वस्तु आयातमा प्रतिबन्ध जारी राखे पनि सोचेजस्तो विदेशी मुद्रा सञ्चिति बढेको छैन । विश्ब बैंकले आयात नियन्त्रण गर्न सरकारलाई भिन्नै सुझावसमेत दिएको छ ।

‘नेपालले अहिले आयातमा लगाइरहेको प्रतिबन्ध हटाएर आवश्यकताको आधारमा मौद्रिक नीतिमार्फत ब्याजदर बढाउने, पुनर्कर्जाको सुविधामा कमी गर्ने, बैंकको रेगुलेटरी प्रोभिजनहरु बढाउने गर्नुपर्छ । यस्तो नीति अवलम्बन गर्दा बाहिरी माग घटाएर आयातलाई आफैं नियन्त्रण गर्दछ’, विश्व बैंकले नेपाल सरकारलाई दिएको सुझावमा भनेको छ ।

विश्व बैंकले औपचारिक रुपमा नै वस्तु आयातमाथिको प्रतिबन्ध खुलाउन सुझाव दिनुअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि यस्तै सुझाव नेपाल सरकारलाई दिइसकेको छ । नेपालका उद्योगी र व्यवसायीका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सरकारलाई वस्तु आयातमाथिको प्रतिबन्ध हटाउन माग गरेका थिए । तर, सरकारले त्यसलाई नमानी आउँदो मंसिर मसान्तसम्म आयात प्रतिबन्ध जारी रहने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

नेपालको अर्थतन्त्रबारे सूक्ष्म तरिकाले अध्ययन गरेको विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

यसअघि गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ‘वल्र्ड इकोनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/०८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०२२ को मुद्रास्फीति दर छ दशमलव तीन प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा पाँच दशमलव पाँच र सन् २०२४ मा पाँच दशमलव तीन प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालू आव २०७९/०८० को बजेटमार्फत सरकारले मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x