Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्रीको निर्देशनमा राजस्वका कर्मचारीहरू सरुवा

अर्थमन्त्रीको निर्देशनमा राजस्वका कर्मचारीहरू सरुवा


विराटनगर । निर्वाचनको मिति नजिकिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा प्रधानमन्त्री कार्यालयबाट प्रदेश १ मा रहेका राजस्व प्रमुखहरूको धमाधम सरुवा हुन थालेको छ । अर्थमन्त्री शर्माको ठाडो निर्देशन मेची भन्सारमा ११ महिनाअगाडि सरुवा भई आएका केशव ओलीलाई हटाएर राम प्रसाद पाठकलाई लाइएको छ ।

अर्थमन्त्री शर्माले आफूअनुकूलका व्यक्तिलाई भने चलाएका छैनन् । उनीनिकट विराटनगर भन्सार कार्यालयका भन्सारप्रमुख तारा सापकोटालाई यथावत राख्दै उनले आफूअनुकूल नभएका आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत सूर्य पोखरेललाई पनि १० महिनामा नै सरुवा गदिदिएका छन् । पोखरेलको ठाउँमा डा. डीबी क्षेत्रीलाई पदस्थापन गरिएको छ । यसरी ११ महिना पनि काम नै गर्न नदिई कार्यालय प्रमुखको सरुवा भएका कारण राजस्व संकलन गर्ने मुख्य दायित्व बोकेका राजस्वका कार्यालय अहिले प्रभावित बन्दै गएको कर्मचारीहरूले बताएका छन् । पछिल्लो समय सरकारले लिएको लक्ष्य समेत भेट्न नसकी रहेको अवस्थामा धमाधम कार्यालय प्रमुख नै सरुवा हुन थालेपछि त्यहाँ कार्यरत कर्मचारीको मनोबल नै गिरेको उनीहरूको भनाइ छ । सरकारले आफू निर्वाचनमा मात्र केन्द्रित भएको बताइरहेको भए पनि चाडपर्वको मौका छोपी कर्मचारीहरूको सरुवामा समेत चासो देखाएको छ ।

दीपावलीको मुखमा राजस्व अनुसन्धान कार्यालय सुनसरी इटहरीका प्रमुख अनुसन्धान अधिकृत तिर्थ खनाललाई पनि एक वर्ष नपुग्दै सरुवा गरिएको छ । गत असोज महिनाको २६ गते मिति राखेर प्रधानमन्त्री कार्यालयका प्राविधिक सचिव सुरेश आचार्यले खेम ओझालाई प्रमुख अनुसन्धान अधिकृतमा सरुवा गरी कात्तिक २ गते कार्यालयमा पठाएका थिए । निर्वाचनको मुखमा सरकारले पुरानो मिति राख्दै कर्मचारी सरुवामा सक्रिय भएर आतङ्क मच्चाएको राजस्व अनुसन्धान कार्यालयकै कर्मचारीले बताएका छन् । राजस्वका कर्मचारी सरुवा प्रकरणमा प्रधानमन्त्री कार्यालयका प्राविधिक सचिव सुरेश आचार्य पनि विवादमा मुछिन पुगेका छन् । राजस्व अनुसन्धान कार्यालयका प्रमुख तिर्थ खनाललाई प्रधानमन्त्री कार्यालयबाट गरिएको सरुवा सम्बन्धमा वास्तविकता के हो भनी जिज्ञासा राख्दा उनले आफू सरकारले सरुवा गरेको ठाउँमा जान तयार भए पनि चुनावको आचारसंहिताका कारण सरुवा रमाना लिन नमिल्ने भएपछि मंसिर ४ गतेको चुनाव सम्पन्न हुनासाथ राजस्व अनुसन्धान कार्यालयबाट बिदा लिने बताए ।

प्रधानमन्त्री कार्यालयका प्रशासन सचिवले हस्ताक्षर गर्नुपर्ने सरुवा पत्रमा प्रधानमन्त्री कार्यालयका प्राविधिक सचिव सुरेश आचार्यले हतार हतार पुरानो मिति राखेर आफूलाई सरुवा गरेको उनको आरोप छ । सरकार आफैँ राजस्वमा कार्यरत कर्मचारीका बीचमा सरुवाको आतङ्क मच्चाएर राजस्व संकलनमा समेत बाधा पु-याउन सक्रिय देखिएको स्थानीय उद्योगी तथा व्यवसायीले बताएका छन् । एक उद्योगीले भने, ‘चुनाव आउँछ जान्छ, तर राजस्वका कर्मचारी भनेका राजस्व संकलनमा नै एकत्रित हुुने भएका कारण सरकारले दशैँ र तिहारको मुखमा सरुवाको आतङ्क मच्चाएपछि कर्मचारीको मनोबल गिर्न जाने र राजस्व संकलनमा पनि प्रभाव पर्छ ।’ 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x