Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमतपत्र छपाइको काम अन्तिम चरणमा

मतपत्र छपाइको काम अन्तिम चरणमा

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी


काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि आवश्यक मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ ।

आयोगले आगामी मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा समानुपातिकतर्फ चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ चार करोड मतपत्र छाप्न लागेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको आयोगले जनाएको छ । यस्तै सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार पाँच सय मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार पाँच सय प्रदेशसभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।

धमाधम मतपत्र ढुवानी : निर्वाचन आयोगले मतपत्र छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ । यसैगरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता पौडेलले बताए । जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन् ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी–पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिने आयोगले जनाएको छ । आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित मतपत्र प्रयोग गर्ने भएकोले यो पटक निर्वाचन क्षेत्र्अनुसार फरक–फरक मतपत्रको प्रयोग गर्ने भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ । प्रदेशसभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्याअनुसार फरक–फरक मतपत्र प्रयोग हुने आयोगले जनाएको छ ।

आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताहरूका लागि प्रयोग हुने मतपत्रसमेत पठाएको छ । अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि मात मतदान गर्न पाउने छन् । आयोगले १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा मतपत्र ढुवानी गरिसक्ने जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x