Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार


काठमाडौं । मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौँको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् ।

लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान् विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ । तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै नयाँ बन्ने विष्णु भगवान्को मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए ।

मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाइ छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार करिब आठ सय वर्षपहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् । परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरुयोजना छ । सोही गुरुयोजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवान्को मूर्ति शिलान्यासमा आफू संलग्न हुँन पाउँदा खुसी लागको सोनामको भनाइ छ ।

बुद्ध मूर्ति : मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरुयोजनाको एक अंशका रुपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो । पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको लामाले बताए । मूर्र्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको उनले जानकारी दिए । पाँच स्तूप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् । ‘पाहुनालाई बुद्धमूर्ति आराधनाका लागि मात्र होइन ध्यान योग दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूति गर्ने गरी यो संरचना तयार गरेका हौँ’, लामाले भने ।

सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोराछोरी समेतको करिब छ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरको बताए । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्री सतहबाट करिब तीन हजार सात सय मिटरको उचाइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ ।

विष्णुको मूर्ति निर्माण हुँदै : यस्तै गुरुयोजनाअनुरुप भगवान् विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले पनि ५० लाख रुपैयाँ सहायता गर्ने लामाले जानकारी दिए । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब नौ करोड रुपैयाँ लाग्ने उनको आकलन छ । विष्णुको मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पु¥याइने लामाले जानकारी दिए । यो परियोजनाका लागि भने गैरआवासीय नेपालीलगायत अन्य दाताको सहायता पनि स्वीकार गरिने उनको भनाइ छ ।

सुविधासम्पन्न बुटिक होटल : सामाजिक सेवाको दुई परियोजना बाहेक मुक्तिनाथ क्षेत्रको विकासका लागि उनले धार्मिक तथा अन्य पर्यटक समेतलाई लक्षित गरी सुविधा सम्पन्न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ पनि निर्माण गरेका छन् । ‘कालीगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो’, उनले भने । बुटिक अवधारणामा बनेको होटल करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब पाँच सय बोटको स्याउ फार्म पनि छ । निलगिरि धौलागिरिजस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए ।

मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिएका लामाले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार थप्न लागिपरेको बताए । स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै लामाले निश्चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने जानकारी दिए । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आबद्ध रहेका थिए । काठमाडौंको ठमेलमा एक सय बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको लामाले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x