Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीका शाह र खाद्य संस्थानका श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रहरीका शाह र खाद्य संस्थानका श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डौँ,फागुन २१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालीम केन्द्र भरतपुरका तालीम समादेशक महेशविक्रम शाह, लेखापाल प्रहरी सहायक निरीक्षण दीपेन्द्रप्रसाद पनेरु र लेखा सहायक केशवसिंह ऐरीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले प्रहरी जवानको २०७२ साल माघ र फागुनको तलबभत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको पाइएको छ । उनीहरुले १०३ प्रहरी जवानको दुई महिनाको तलबभत्ता ३१ लाख ८८ हजार ४६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको रु एक लाख ४९ हजार ६१६ गरी कुल ३३ लाख ३८ हजार ८४ बराबरको रकम बदनियतसाथ हिनामिना गरी भागबण्डा गरेर लिएको आयोगको अध्ययनबाट खुलेको छ ।आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको छ । आयोगले कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशुङ्केविरुद्ध पनि सोही प्रकरणमा मुद्दा दायर गरेको छ ।
यस्तै आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखाअधिकृत ध्रुवराज गौतमविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुले सरकारी रकम हिनामिना गरी आर्थिक लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेन्टीका आधारमा ठेक्का सम्झौता र ‘मोबिलाइजेसन’ रकम भुक्तानी गरेको आयोगको आरोपत्रमा उल्लेख छ ।आयोगले उनीहरुविरुद्ध रु दुई करोड दुई लाख ७३ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलिखेलका तत्कालीन बैंक प्रबन्धक राजुप्रसाद ढकालविरुद्ध पनि रु दुई करोड दुई लाख ७३ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

आयोगले सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका साझेदारहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्ट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध नक्कली बैंक ग्यारेन्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत झुठा विवरण पेश गरी सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ । आयोगले उनीहरुविरुद्ध रु दुई करोठ दुई लाख ७३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । चरिकोट–दोलखा–विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोबिलाइजेसन पेस्की लिने प्रयोजनका लागि उनीहरुले नक्कली बैंक जमानत राखेका थिए । साविक नेपाल खाद्य संस्थान, शाखा कार्यालय भैरहवाको धान कुटानका लागि राइस मिल जडान गर्ने प्रयोजनको क्रममा सम्झौताको शर्तअनुसार काम नगर्ने एक व्यापारिक संस्थालाई लाभ हुने गरी प्रक्रिया मिलाएको अभियोगमा आयोगले संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठविरुद्ध रु दुई लाख ३८ हजार ९५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै संस्थानका खरिद एकाइ प्रमुख खड्गबहादुर ज्ञवालीले मिल सप्लायर्स एमएन इन्टरनेशनललाई कार्यसम्पादन जमानतको म्याद थप गर्न पटकपटक पत्राचार गरेको र अनियमित कार्यमा संलग्न रहेको पाइएकाले उनीविरुद्ध समेत आयोगले समान बिगो दाबी गरेको छ । यसैगरी आयोगले मेलम्ची नगरपालिका–१०, सिन्धुपाल्चोकमा रहेको हीरादेवी आधारभूत विद्यालयमा खानेपानी सेवा उपलब्ध गराउन सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक गणेश दाहाल, वडाध्यक्ष भक्ताबहादुर खड्का, नगरपालिकाका इञ्जिनीयर राजेशकुमार शर्मा र सवइञ्जिनियर अनन्त दुलालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर चापागाईं, इन्जिनियर शर्मा, सव इन्जिनियर र प्रअ दाहालविरुद्ध रु छ लाख ६२ हजार ३९५ बराबरको बिगो दाबी गरेको छ भने एनपी हार्डवेयरका सञ्चालक प्रकाश दाहालविरुद्ध रु एक लाख तीन हजार २८२ बराबरको बिगो दाबी गरेको छ । बिक्री नै नगरेको निर्माण सामग्रीको बिल भर्पाई बनाई गैरकानूनी लाभ हासिल गरेको आरोप सञ्चालक दाहालविरुद्ध आरोप लागेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x