Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअझै हटाएन एशियन पेन्ट्सले बजारबाट गुणस्तरहीन रंग

अझै हटाएन एशियन पेन्ट्सले बजारबाट गुणस्तरहीन रंग


काठमाडौं । एशियन पेन्ट्स नेपाल प्रालिले बजारमा पठाएका म्याद सकिएका कयौँ डिब्बा रंग अझै उठाएको छैन । वाणिज्य विभागले केही ठाउँमा छापा मारेर गुणस्तरहीन रंगहरु नियन्त्रणमा लिए पनि बजारका अन्य होलसेल तथा खुद्रा पसलहरुमा अझै पनि म्याद सकिएका गुणस्तरहीन रंगहरु प्रशस्त मात्रामा बजारमा भेटिएका छन् ।

वाणिज्य विभागले छापा मार्ने क्रममा दुईवटा गोदाममा रहेका सबै डिब्बा रंग म्याद गुज्रिएको फेला परेको थियो । विभागका एक अधिकारीका अनुसार एशियन पेन्ट्सले मिति सकिएका रंगहरुलाई डब्बामा भएको पुरानो लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसी बजारमा पठाउने गरेको पाइएको थियो । उसलाई म्याद सकिएका सबै पेन्ट्स हटाउन भने पनि बजारबाट रंगहरु फिर्ता गरेको छैन । उल्टै म्याद सकिएका गुणस्तरहीन रंग वाणिज्य विभागले उठाइसकेको भनेर गलत प्रचार गर्ने काम एशियन पेन्ट्सले गर्ने गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार प्याकिङको समयमा भएको मिति र मूल्यलाई ढाकछोप गरी पुनः अर्को मिति र मूल्य टाँसेर बजारमा पठाइने सामानहरु गैरकानुनी हो । यहीअनुसार वाणिज्य विभागले छापा मारेर मिति सकिएका सामानहरु जफत गरेको हो ।

यो सामानको उपभोग्य मिति यति हो भनेर मापदण्ड पु¥याई बिक्रीको लागि बजार पठाइएका सामानहरु सो मितिसम्म बिक्री हुँदैनन् भने त्यस सामानको औचित्य समाप्त हुन्छ र त्यसलाई गुणस्तरहीन सामान भनिन्छ । वाणिज्य विभाग स्रोतले भन्यो, ‘मिति सकिएका सामानमा आफैं पुनः नयाँ मिति हालेर जनतालाई झुक्याई बिक्री गर्नु गैरकानुनी हो त्यसलाई कानुनअनुसार कारबाही गर्नुपर्दछ ।’

वाणिज्य विभाग स्रोतका अनुसार कहिलेदेखि मिति सकिएको गुणस्तरहीन रंगहरु एशियन पेन्ट्सले बजारमा बिक्री गरिरहेको थियो भन्ने अनुसन्धान भइरहेको छ । नयाँ महानिर्देशक आउने र गइहाल्ने समस्याका कारण केही समय वाणिज्य विभाग नै नभएको आभास भइरहेको समयमा अन्तर्राष्ट्रिय ब्राण्ड बनेको एशियन पेन्ट्सको कर्तुत सार्वजनिक भएको हो ।

विभागमा मिति सकिएको रंग बजारमा पठाइरहेको जानकारी आएपछि वाणिज्य विभागले छापा मारेको थियो । छापा मार्दा एशियन पेन्ट्सको गोदामबाट उपयोग मिति सकिएका तथा रंगको डिब्बामा सुरूमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेबलिङ गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको करिब आठ हजार थान डिब्बा (टिन) नियन्त्रणमा लिएको र अझै कति रंग बिक्री भइसकेको र बिक्रीको लागि गएको भन्ने एकीन नभइसकेको वाणिज्य विभागले जनाएको छ ।

विभागले काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका उल्लिखित रंगको बजार मूल्य करिब एक करोड २० लाख छ । मिति सकिएको रंग लगाएको केही समयमा नै त्यसको गुणस्तरमा ह्रास आउनसक्ने सम्भावना हुन्छ भने दिगो पनि नहुन सक्छ । एक बिक्रेताका अनुसार पछिल्लो समय एशियन पेन्ट्सको गुणस्तरको विषयमा ग्राहकहरुबाट गुनासो समेत आउनथालेको छ ।

रंग लगाउन लगेका ग्राहकले भनेअनुसारको क्वालिटी नपाएको गुनासो आइरहेकै समयमा एशियन पेन्ट्सले गुणस्तरहीन रंग बिक्री गरिरहेको फेला परेको हो । छापा मारेर नियन्त्रणमा लिएको रंगलाई हाल विभागको बबरमहलस्थित कार्यालय परिसरमा राखिएको छ । नियन्त्रणमा लिइएको रङ्गलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने वाणिज्य विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x