Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रमा परनिर्भरता बढ्यो

बैंकिङ क्षेत्रमा परनिर्भरता बढ्यो

६० वटा संस्थाद्वारा तीन महिनामा नौ खर्ब ४१ अर्बको अन्तर बैंक अन्तर


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा परनिर्भरता बढेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले गर्दा पनि बैंकिङ क्षेत्रमा परनिर्भरता बढेको हो । जसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरुबीच अल्पकालीन अवधिको लागि एकआपसमा हुने अन्तर बैंक कारोबार रकम बढेर गएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरको समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले नौ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको आठ खर्ब ५६ अर्ब दुई करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ८५ अर्ब ५८ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल नौ खर्ब १९ अर्ब ८९ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब २२ अर्ब ६१ करोड गरी उक्त परिमाणमा अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबार बढेकै आधारमा ब्याजदर पनि बढेको छ । सो अनुसार २०७८ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव ८६ प्रतिशत रहेकोमा २०७९ असोजमा १० दशमलव १४ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ असोजमा चार दशमलव ९५ प्रतिशत रहेकोमा २०७९ असोजमा आठ दशमलव ५० प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ असोजमा आठ दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ असोजमा सात दशमलव ५७ प्रतिशत रहेकोमा २०७९ असोजमा १० दशमलव ३४ प्रतिशत कायम भएको छ । २०७९ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव १६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव १९ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः पाँच दशमलव ४३ प्रतिशत र आठ दशमलव ६९ प्रतिशत रहेका थिए ।

बैंकर एसोसिएसनको निर्णय : मंसिरमा ब्याजदर स्थिर
वाणिज्य बैंकहरुको छाता संगठन (बैंकर एसोसिएसन नेपाल)ले मंसिर महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । संघका पदाधिकारीहरुको मंगलबार बिहान बसेको बैठकले अर्थतन्त्रका सूचकहरु स्थिर रहेको भन्दै ब्याजदर पनि स्थिर राख्ने निर्णय गरेको हो ।

संघका अनुसार भदौ मसान्तममा व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ११ दशमलव शून्य तीन, संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव तीन र बचतमा न्यूनतम छ दशमलव शून्य तीनदेखि आठ दशमलव शून्य तीन प्रतिशतसम्म ब्याजदर कायम रहेको छ । ‘यसैगरी असोज मसान्तममा पनि मुद्दती निक्षेपको ब्याजदर दर नौ दशमलव १३ देखि १२ दशमलव १३ प्रतिशतसम्म पुगेको छ । यो अवस्थामा ब्याजदरमा खासै परिवर्तन गर्नुपर्दैन’, संघले भनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x