Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ संसद्, नयाँ सांसद मुलुक हाँक्न खोजेको कसरी ?

नयाँ संसद्, नयाँ सांसद मुलुक हाँक्न खोजेको कसरी ?


काठमाडौं । चुनावको कुम्भमेला सकियो । यसपालिको चुनावअघि सडकमा तडकभडक गर्न नपाउने उर्दी निर्वाचन आयोगले जारी गरेकोले कुम्भमेलाको रौनक कम भएर अलि फिक्का भएको धेरैले महशुस गरेको बेग्लै कुरा हो । यस उर्दीबाट खुसी भएका र खुसी नभएका दुवैथरिका सांसदहरुले अब आउने पाँच वर्ष मुलुकलाई कसरी हाँक्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण विषय हो । हरेक सांसदले व्यक्तिगत स्वार्थ, पारिवारिक स्वार्थ, गुटगत स्वार्थ, पार्टीगत स्वार्थ तथा राष्ट्र र समाजको स्वार्थबीच कत्तिको तालमेल मिलाएर अघि बढ्ने हो भन्ने नै जनताको ठूलो चासोको विषय हो । साथै जनताले, खासगरी नागरिक समाज र बुद्धिजीवीहरुले, निरन्तर रुपमा सांसदहरुलाई नघचघच्याइकन समृद्धिको गति नबढ्ने पनि गत ३३ वर्षको अनुभवले प्रमाणित गरिसकेको एक तितो वास्तविकता हो ।

गएको शताब्दीको सय वर्षमा एक जना मात्र महात्मा गान्धी जन्मेका थिए । सर्वसाधारणले हरेक सांसद महात्मा गान्धी नै हुनुपर्ने अपेक्षा गरिएको छ भने त्यसलाई व्यावहारिक मान्न सकिन्न । तर, समस्याग्रस्त मुलुकलाई निकास दिएर समग्र समाजलाई प्रगतिको बाटोमा लिएर गई सर्वसाधारणको खासगरी गरिब जनताको जीवनस्तर माथि ल्याउन आवश्यक पाइला चाल्ने कामकुरामा हरेक सांसदको इमानदारिता र नियत ‘महात्मा गान्धीस्तर’कै जनताले खोज्नु जायज हो । यसका लागि हरेक सांसदले ठूलै मिहिनेत गर्नुपर्ने हुन्छ । आआफ्नो व्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थभन्दा माथि उठी धर्म सम्झेर संविधान, ऐन, नियम, कार्यविधिमा उल्लिखित र सर्वमान्य सिद्धान्तअनुसारको काम, कर्तव्य र अधिकारमा अर्जुनदृष्टि राख्नैपर्छ ।

हरेक सांसद, खासगरी युवा सांसदले बुझ्नैपर्ने तथ्य के हो भने सर्वसाधारणको प्रशंसा नपाएका, ख्यातिप्राप्त गर्न नसकेका र मर्यादामा बस्न नसकेका राजनीतिज्ञको स्थायी अस्तित्व र भविष्य हुँदैन । अल्पकालीन सुख, सुविधा, लाभ र दीर्घकालीन मानमर्यादा र प्रतिष्ठामध्ये एक मात्र रोज्न सक्छ, दुइटै प्राप्ति राजनीतिमा सम्भव हुँदैन ।

ख्याति र प्रशंसाले नै कुनै पनि व्यक्तिको विशिष्टता, व्यक्तित्व र नेतृत्वको उचाइलाई अतिरञ्जित तुल्याउनमा मद्दत गर्छ, जुन एक सफल राजनीतिज्ञका लागि महत्त्वपूर्ण र अनिवार्य गुण हो । ख्याति र जनताको प्रशंसा त्यत्तिकै प्राप्त हुँदैन, मिहिनेत गर्नैपर्छ, आफ्नो दैनिक जीवनमा कठोर आत्मानुशासनको आवश्यकता पर्छ । जतिसुकै नेतृत्वक्षमता भएको व्यक्ति भए पनि अनुशासनमा बस्न नसक्ने व्यक्ति सफलताको शिखरमा पुग्न सक्दैन । उदाहरणका लागि संसद् बैठकमा अटुट रूपमा भाग लिन र बैठकमा १/२ घण्टा पनि समय दिन फुर्सद छैन भन्ने सांसदले मतदाताको घोर अपमान गरेकै ठहर्छ र कुनै पनि बहाना वा स्पष्टीकरणले यो गैरजिम्मेवारीपना ढाकछोप गर्न सक्दैन । कुन–कुन क्रियाकलापलाई के कति महत्व दिने भन्ने प्राथमिकता निर्धारण गरी सो प्राथमिकताबमोजिम आफ्नो दैनिक जीवन बिताउने अनुशासनमा हरेक सांसद बस्नैपर्छ ।

मतदाताको मन जितेर संसद प्रवेश गरिसकेकोले हामीलाई कसैको अर्ती उपदेश चाहिँदैन, कुनै किताब पढ्न जरुरी छैन, कसैबाट शिक्षा लिनु आवश्यक छैन भन्ने परम्परागत सोच त्याग्नैपर्छ । हरेक सांसदले विभिन्न विषयमा ज्ञान प्राप्त गर्न ध्यान दिनैपर्छ, अल्छी नमानीकन पत्रपत्रिका, पुस्तक पढ्ने, इन्टरनेट प्रयोगबाट फाइदा लिने तथा नागरिक समाज, बुद्धिजीवी, विज्ञ र विश्लेषकहरुको राय/सल्लाह सुन्ने आदि कार्य निरन्तर रुपमा गर्नैपर्छ । थप ज्ञान प्राप्तिले आफ्नो व्यक्तित्व र नेतृत्व क्षमतामा सुधार हुने मात्र होइन, आफूले जनतासमक्ष अठोट गरेको समाज र राष्ट्रको प्रगतिमा पनि मद्दत हुनेछ भन्ने महसुस हरेक सांसदले गर्नैपर्छ ।

आर्थिक तथा सामाजिक क्षेत्रमा सम्पन्नता हासिल गरेका दर्जनौँ मुलुकको ऐनकानुन अध्ययन गर्ने जमर्को गर्नु हरेक सांसदका लागि अति जरुरी छ । विश्वभर एक सांसदलाई कानुन निर्माता भनिन्छ । सफल विकासोन्मुख मुलुक र विकसित मुलुकहरुमा वर्षौँको अनुभव, अध्ययन र विश्लेषण गरी पटक–पटक संशोधन गरी अपनाइरहेको कानुन र नेपालको विद्यमान कानुनबीच तुलना गरेर आवश्यक भएमा संशोधन गर्न पहल गर्नैपर्छ । यसखालको तुलनाबाट गत ३३ वर्षको अवधिमा अन्य समान हैसियत भएका मुलुकहरुको तुलनामा नेपाल उँभो लाग्न नसकेको एक प्रमुख कारण ऐन कानुन पनि हो भनेर प्रमाणित हुने निश्चित छ ।

नोबेल पुरस्कार विजेता अमत्र्य सेनको भनाइअनुसार लोकतन्त्रको सफलता मुलुकको राजनीतिमा हुने वास्तविक चारित्रिक र आचरणीय ढाँचा तथा राजनीतिक एवं सामाजिक अन्तर्संवाद गर्ने कार्य प्रणालीमा भर पर्छ । सांसदले बुझ्नैपर्ने तथ्य के हो भने निर्वाचन र निर्वाचनबाट जन्मेको संसद् स्थापना मात्रले लोकतन्त्र सफल हुन सक्दैन ।

चरित्र र आचरणमा ध्यान दिनैपर्छ । एक लोकतान्त्रिक मुलुकमा हुने राजनीतिक पार्टी, संवैधानिक अंग, सरकार र दर्जनौं संख्यामा हुने संघ/संस्था, आयोग, प्रतिष्ठान आदिमध्ये प्रजातान्त्रिक रूपमा पारदर्शी ढंगले खुला बहस हुने सर्वोच्च थलो संसद् नै हो । सामाजिक, राजनीतिक तथा राज्यसत्ता सञ्चालनसम्बन्धी हरेक पक्षमा संसद्भित्र हुने बहस, अन्तर्संवाद, छलफल, विचार आदानप्रदान र निर्णयले मुलुककै भविष्य निर्धारण गर्छ । यो सरल र सामान्य काम होइन । हरेक सांसदले गहन अध्ययन, विश्लेषण, विचार विमर्शमा अधिकतम समय दिनैपर्छ । नेतृत्व सीप र व्यवस्थापकीय कुशलताको भरपुर प्रयोग गर्नैपर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x