Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रारम्भिक चरणमा कांग्रेस र एमालेको प्रतिस्पर्धा

प्रारम्भिक चरणमा कांग्रेस र एमालेको प्रतिस्पर्धा

तेस्रो स्थान स्वतन्त्र पार्टीले लिने संकेत


काठमाडौं । मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउनथालेको छ । सोमबार नेपाली कांग्रेसले दुईवटा क्षेत्र र नेकपा एमालेले एक निर्वाचन क्षेत्रमा जित निकालेका छन् ।

यसअघि नेकपा एमालेले जितेको मनाङ र मुस्ताङमा नेपाली कांग्रेसले निर्वाचन जितेर एमालेका दुईवटा सिट खोसेको छ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा कांग्रेसकै टेक बहादुर गुरुङले एमाले उम्मेदवारलाई हराएर निर्वाचन जितेका हुन् ।

ललितपुर–२ मा नेकपा एमालेका प्रेम बहादुर महर्जनले जित निकालेका छन् । उनको प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्य भए । सत्ता गठबन्धनमा यो क्षेत्र नेकपा एकीकृत समाजवादीले पाएको थियो ।

मत गणना भइरहेकामध्ये ३६ क्षेत्रमा नेपाली कांग्रेस, २८ क्षेत्रमा एमाले र आठ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छन् । त्यस्तै माओवादी आठ र समाजवादी नौ क्षेत्रमा अगाडि छ । यद्यपि गणना जारी रहँदा दलहरुबीच अग्रता लिने क्रम पनि फेरिने गरेको छ । तीब्र प्रतिस्पर्धा भइरहेको कारण कुन दलले कुन क्षेत्रमा निर्वाचन जित्ने हो पूर्वअनुमान गर्न नसकिने परिणाम आइरहेको छ ।

समानुपातिकतर्फ पनि कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता लिएका छन् । सोमबारको प्रारम्भिक चरणको परिणामले लिड गर्ने हो भने त्यहीअनुसार परिणाम निस्किने र तीन वा सोभन्दा बढी दल मिलेर मात्र सरकार बन्ने देखिन्छ । प्रत्यक्षतर्फको आधाभन्दा बढी र समानुपातिकको आधा मत गणना नभएसम्म यस्तै परिणाम निस्किन्छ भन्न सकिने अवस्था छैन ।

जारी मतगणनामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट १ मा अग्रता लिएका छन् ।

तनहुँ–२ मा भण्डारीको अग्रता
तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले चार हजार आठ सय ८८ मत र नेकपा (एमाले) का किरण गुरुङले तीन हजार छ सय ९३ मत प्राप्त गरेका छन् ।

झापामा–२ मा एमाले र स्वतन्त्र अघिपछि
झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ । १४ हजार सात सय ७० मतगणनामा एमाले उम्मेदवार देवराज घिमिरेले पाँच हजार तीन सय ७१ मत र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) ले चार हजार छ सय ३४ मत प्राप्त गरेका छन् ।

मकवानपुर–१ मा डिना अगाडि
मकवानपुर निर्वाचन क्षेत्र नं १ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले एक हजार आठ सय ९४ मत ल्याएर अग्रता लिएकी छिन् भने राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले सूर्य चिह्नमा एक हजार एक सय ३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा चार हजार चार सय १७ मत गन्दा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले एक हजार नौ सय २० मत ल्याएर अग्रता हासिल गरेका छन् भने नेकपा(एमाले)का उम्मेदवार महेश बर्तौलाले एक हजार ६ सय पाँच मत प्राप्त गरेका छन् ।

रौतहट–१ मा नेपालको अग्रता
रौतहट क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । राति सवा नौ बजेसम्म भएको कुल दुई हजार आठ सय २६ मतगणनामध्ये अध्यक्ष नेपालले एक हजार चार सय ७५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ताले एक हजार दुई सय ३१ मत प्राप्त गरेका छन् ।

बाँकेमा १ र ३ मा एमाले र २ मा राप्रपाको अग्रता
बाँकेमा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये दुई वटामा नेकपा (एमाले) र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन् । बाँके क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले सुरुवाती अग्रता लिएका छन् ।

बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले तीन हजार चार सय ८३ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेको समर्थन छ । यहाँ जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राई एक हजार आठ सय ९१, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले छ सय ८८ मत प्राप्त गरेका छन् ।

बाँके–३ मा नौ हजार सात सय ६९ मत गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले तीन हजार नौ सय ५५ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरले तीन हजार पाँच सय आठ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाको एक हजार तीन सय चार मत प्राप्त गरेका छन् ।

रसुवामा मतगणना सुरु
रसुवामा सोमबार राति साढे आठ बजेबाट मतगणना सुरु भएको छ ।

धनुषाका चारवटै क्षेत्रमा मतगणना सुरु
धनुषाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नं ३ मा बिहानदेखि नै मतगणना सुरु भए पनि क्षेत्र नं. १, २ र ४ मा ढिलो गरी मतगणना सुरु भएको हो ।

महोत्तरी–१ मतगणना सुरु
महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा मतगणना सुरु भएको छ । सोमबार दिउँसो १ बजे थाालिने भएको गणना क्रस मतबारे विवाद बढ्दा रोकिएर साँझ ८ बजेदेखि सुरु भएको हो । उम्मेदवारहरूबीच समानुपातिक मतपत्र प्रत्यक्षको पेटिकामा वा प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको पेटिकामा भेटिए मतपत्रअनुसार गणना गरिने सहमति भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x