व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण जरुरी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताएकी छिन् । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै उनले हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोहीअनुसार राज्यले संरक्षण गर्नुपर्ने बताइन् ।
‘हालको चुलिँदो व्यापारघाटालाई सन्तुलनमा ल्याउने लक्ष्य प्राप्तिका लागि हस्तकलाको निकासी बढाउनु आवश्यक छ’, उनले भनिन्, ‘यसका निमित्त हस्तकलालाई व्यापक उत्पादनका तहसम्म पु¥याउँदै अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै प्रचार प्रसार गरिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको खपत बढाउन सरकारले सार्वजनिक निकायका लागि लागू गरेको १५ प्रतिशतसम्म महंगो भए पनि खरीद गर्नुपर्ने नीति तथा सार्वजनिक निकायले सकेसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत हस्तकला क्षेत्रलाई संरक्षण र संवर्द्धन गर्न सकिने बताइन् । नेपाली हस्तकलाका उत्पादनहरू मौलिक र सजिलै अरुले नक्कल गर्न नसकिने खालका रहेकाले यसको संसारभर विशिष्ठ महत्व रहेको उल्लेख गर्दै उनले यसको उत्पादन कलालाई पुस्तान्तरण गरिनुपर्नेमा समेत जोड दिइन् ।
कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले विदेशी बजारमा वार्षिक १२ अर्बको निकासी रहेको हस्तकला क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पु-याइरहेको बताए । मुलुकको व्यापारघाटा कम गर्न तथा स्वदेशी साधन स्रोत उपयोग गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले यसलाई राज्यले नीतिगत रुपमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकला र पर्यटन क्षेत्र एक–अर्काका परिपुरक रहेको उल्लेख गर्दै नेपाली हस्तकलाले नेपाललाई विश्वमा चिनाएको बताए । हस्तकला मेलालाई वार्षिक क्यालेन्डरमा समावेश गरी अन्तर्राष्ट्रिय ग्राहक आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पुस्तालाई हस्तकलासम्बन्धी सीप र कला हस्तान्तरण गर्न प्रदेश सरकारले हस्तकला विश्वविद्यालयको अवधारणा अघि सारेको जानकारी दिए । हस्तकलाका मुख्य कच्चापदार्थहरूको समुचित उपयोगमा जोड दिँदै उनले स्वदेशी वस्तु खपतमा जोड दिन आग्रह गरे ।
यस्तै कार्यक्रममा विभिन्न कम्पनी तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो । निकासीतर्फ सम्मानित हुनेहरूमा एभरेष्ट फेसन प्रालि, एभरेष्ट फेल्ट एन्ड निट प्रालि र फेल्ट एन्ड यार्न प्रालि रहेका छन् । यस्तै, निकासीमा योगदान पु¥याउनेहरूमा बागमती आट्र्स एन्ड ह्यान्डीक्राफ्ट, माइन्डफुल क्राफ्ट प्रालि, ओम साइराम फेल्ट प्रडक्ट, गिफ्ट एन्ड इन्टरप्राइजेज, पापोज फेल्ट नेपाल, कृति क्राफ्ट, पिपल्स क्राफ्ट, एसियाटिक ट्रेडर्स एन्ड एक्सपोर्टस्, बनदेवी ट्रेडर्स, लस भेगस एक्सपोर्ट एन्ड इम्पोर्ट, नेपाल क्राफ्ट ग्यालरी, आर्टिजन वर्कसप र बिएल ह्यान्डीक्राफ्ट रहेका छन् । यस्तै, कल्पना क्राफ्ट, बिड्स फर लाइफ, क्रियसन क्राफ्ट, आरबी जेम एन्ड ज्वेलरी, कुम्भेश्वर ट्रेडिङ सेन्टर, न्यू गजमेर सुनचाँदी पसल, युनाइटेड कलर्स फेसन रहेका छन् ।
कार्यक्रममा मेला आयोजक समितिका संयोजक दिल्लीरत्न तुलाधरले हस्तकला मेलालाई अन्तर्राष्ट्रिय ट्रेड डाइरेक्ट्रीमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने मेलालाई एक लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । जसमध्ये २० हजार आगन्तुकको लागि निशुल्क प्रवेश पास वितरण गरिएको छ । मेलामा पाँचवटा पेभिलियन र एक सय ३० स्टल रहेका छन् । मेलाको दोस्रो दिन शनिबार करिब १० हजार व्यक्तिले मेला अवलोकन गरेका छन् । सार्वजनिक बिदाको दिनसमेत भएकाले परिवारसहित मेला घुम्न र किनमेल गर्न आउने अवलोकनकर्ताको राम्रो उपस्थिति रहेको तुलाधरले जानकारी दिए । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डर समेत गरी झण्डै १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको तुलाधरले जानकारी दिए ।
मेलामा बागमती प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट महिला उद्यमीहरूको प्याभिलियन, वीन कोअपरेटिभ, ललितपुरका विभिन्न वडाहरूको समूह तथा नेपाल एक्जिबिटर्स एसोसिएसनको छुट्टाछुट्टै प्याभिलियन रहेको छ । हस्तकला मेलाका विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानहरूको प्रदर्शनी साथै स्वास्थ्य, शिक्षा सेवासम्बन्धी जानकारीमूलक स्टलहरू समेत रहेका छन् । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेषरुपमा प्रदर्शनी गरिएको छ । त्यसैगरी मेलामा महिला, अपाङ्ग, एसिड आक्रमणमा परेकाहरू र पिछडिएका वर्गलाई निःशुल्क स्टल प्रदान गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया