Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआत्मनिर्भर एकमा, योजना अनेकमा

आत्मनिर्भर एकमा, योजना अनेकमा


काठमाडौं । केही वर्षअघि नेपालमा चीनबाट मात्र करिब ७० करोड रुपैयाँभन्दा बढीको लसुन आयत गरिएको समाचारहरूमा सार्वजनिक भएको थियो । नेपालका नेताहरूलाई पनि लाज लागेको छैन र हामी आ–आफ्ना खेतबारी छोडेर राजधानीलगायत विभिन्न सहर, बजार तथा गाउँमा समेत विदेशी लसुन किनेर भान्सा स्वादिलो बनाउनइरहेका छौँ । हामी क्रमशः परनिर्भरतामा अभ्यस्त भइरहेका छौँ । हामी हरेक कुरामा आत्मनिर्भरता गुमाइरहेका छौँ । हुन त देशको मूल नीति राजनीति नै परनिर्भर भएपछि उत्पादनमा आत्मनिर्भर हुन खोज्नु आफैँलाई मुर्ख बनाउनुसिवाय केही होइन । तर पनि सास रहेसम्म आश भनेजस्तै आश छोडेर निराश भइहाल्नु हुँदैन । आत्मनिर्भरका सम्भावना र उपायाको खोजिमा निरन्तर लागिरहनु पर्दछ । र सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्नै पर्दछ ।

लसुनबाटै अघि बढौँ न । आत्मनिर्भर लसुनबाटै सुरु गरौंन । हाम्रा पुर्खाहरूले १२ मसला एक लसुन भनेर त्यसै बोलेका थिएनन् । लसुनमा स्वाद निर्माण र स्वास्थ्य निर्माणको शक्ति देखेर नै यसो भनेको हुनुपर्दछ । नेपालमा लसुन नपाक्ने भान्सा र लसुन नउम्रने भुइँ शायदै होला । त्यसैले मात्र नेपालको भुइँमा उमारेको लसुन नेपालको भान्सामा भन्ने नारालाई व्यवहारमा परिणत गर्न सकेको खण्डमा आत्मनिर्भर एकमा योजना अनेकमा नेपालको सुरुवात भएको मानिने छ । त्यसैले नेपालमा आत्मनिर्भर एकमा योजना अनेकमा लसुनबाटै सुरु गरौँ र अनेकको योजना बनाऔँ । हाम्रोमा सुन खानी त नहोला तर देशलाई नै जताततै लसुन खानीमा रूपान्तरण गर्न सक्छौँ नि । सुनले हाम्रो पैसा विदेशमा लान्छ तर लसुनले पैसा स्वदेशमै राख्छ अथवा विदेशको पैसा पनि स्वदेशमै तान्छ । यो सत्य बुझेपछि सुनमा होइन लसुनमा जोड दिने बेला भएन र ? आउनुहोस् लसुनलाई नै नेपालको सुन बनाउने उपायाको खोजी गरौँ र यसमा आत्मनिर्भर बन्ने योजाना बनाउन लागौँ । लसुन बेचेर सुन किन्ने मुलुक बनाउन सकिन्छ ।

नेपाललाई कति लसुन आवश्यकता पर्छ । आगामी दश वर्षसम्मलाई र नेपालमा लसुन उत्पादनको क्षमता कति छ यसको लेखाजोखा निकालौँ । लसुन उत्पादन हुने माटो र उत्पादन बढाउने बाटो (उपाया) पत्ता लगाउनु पर्दछ व्यापक अध्यायन र अनुसन्धान गरेर । यसमा सरकारले कृषि मन्त्रालयलाई यसको कार्यक्रम बनाउन लगाउनु पर्दछ । नेपालमा परम्परादेखि उत्पादन हुँदै आएको हाम्रो सानो केस्रा भएको लसुन उत्पादन गर्ने कि चीनबाट आएको ठूला केस्रा भएका लसुन उत्पादन गर्ने भनेर विज्ञहरूले कारणसहित राय दिनुपर्दछ व्यापक अध्यायन अनुसन्धानबाट । हाम्रा परम्परागत राम्रा उत्पादन पनि जोगाउने र व्यावसायिक हिसाबले बढी उत्पादन दिने बालीबीचको बाटो कसरी निकाल्ने उपाया विज्ञहरूसँग हुनुपर्दछ । परम्परागत खेतीबाट कम उत्पादन भएर घाटाबाट थाकेर किसानहरू पलायन पनि हुन सक्छन् भने बढी फाइदा हुने लोभमा किसान एकोहोरिँदा हाम्रा राम्रा सबै परम्परागत उत्पादनहरू लोप भएर जान पनि सक्छन् । दुवैको सन्तुलन मिलाएर लानुपर्दछ ।

के नेपाल लसुनमा आत्मनिर्भर हुन सक्छ होला ? के नेपालमा प्रचुर मात्रमा लसुन उत्पादन गर्न सकिँदैन ? अवश्य सकिन्छ । नेपालमा जताततै लसुन उत्पादन गर्न सकिन्छ पहाडका टाकुरादेखि तराईका फँटसम्म । नेपालको हावापानी माटो धेरै अनुकूल छ एकमात्र होइन अनेक उत्पादनको लागि । केमा कमी भयो त नेपाल नीतिमा कि नेतामा कि प्रविधिमा कि किसानमा कि जाँगरमा कि अनुसन्धानमा कि अनुदानमा कि कर्मचारी यन्त्रमा कि बजारमा कि श्रमशक्तिमा कि देशभक्तिमा कि गहिरोसँग केलाउनुपर्ने भएको छ लसुनका केस्रा केलाए जसरी । कमी कहीँ न कहीँ छ गहिरिएर केलाउनै पर्ने भएको छ । कमजोरी पत्ता नलगाई कमजोरी सुधार्न सकिँदैन । कमजोरी नसुधारी कुनै पनि उत्पादन सुधार्न सकिँदैन । लसुन मात्रै अपवाद हुन सक्तैन ।

नेपालमा चल्ने हातहरूभन्दा छल्ने जिब्राहरू धेर भएका छन् । देखिएको तथ्यभन्दा लेखिएको असत्य विश्वासिला भएको छन् । भाषण, उद्घाटन धेरै अनुसन्धान थोरै भएको छ । अनुसन्धानमा रकम छैन अनावश्यक धेरै जनप्रतिनिधिमा रकमको विनास छ । किन चाहिएको यति धैरै जनप्रतिनिधि हामीलाई ? आधा जनप्रतिनिधिहरू घटाएर त्योबाट बचेको पैसा अनुसन्धानमा लगाउनुचाहिँ अग्रगमन ठहर्छ । जुन देशमा छली जिब्राहरू धेर चल्छन् गरी हातहरू थोर चल्छन् ती देशहरू छिटै थला पर्छन् । थोरै जनप्रतिनिधि,देशभक्तिपूर्ण राजनीति धेरै सीपयुक्त जनशक्ति र राजनीतिमुक्त विकास नीति भएमा मात्र नेपालमा धेरै लसुनहरूमा आत्मनिर्भर भएर नेपालको शक्ति नेपालीको लागि प्रमाणित हुनेछ ।

नेपालका नीति निर्माताहरूले विज्ञहरूले आत्मनिर्भरको दौडका मार्गहरू तय गर्नुपरेको छ अनेक मिटरका दौडने ट्र्याकजस्तै । पहिला एक सय मिटरको ट्याकबाट दौडेर त्यो दौडमा सफलता हासिल गरौँ । अर्थात् राष्ट्रिय अठोट गरौँ कुनै एकमा छिटै आत्मनिर्भर बनिहालौँ । त्यो जेमा पनि हुन सक्छ अनेकमा पनि हुन सक्छ । कुनै–कुनै छोटो दूरीका आत्मनिर्भरका ट्र्याक कोरौँ र कुनै लामो दूरीका याने आत्मनिर्भरका म्याराथुन दौडका योजना बनाऔँ । नेता, भाषण, उद्घाटन राष्ट्रिय धनको क्षति थोर र अनुसन्धान, अनुदान, र उत्पादन धेरको नीति र व्यवहारले आत्मनिर्भरका फाँटहरू स्वतः उद्घाटित हुँदै जान्छन् ।

आत्मनिर्भरको नेपाली भान्साघरको रेखाचित्र कोरौँ । नेपाली भान्सामा चाहिने पिठो, दाल, भात, तिहुन तरकारी, सागसब्जी, भुटुन, मसला, अचार, गुलियो, पिरो, अमिलो, दुध, दही, मोही, घिउ, फलफूल, माछा, मासु अण्डा आदिका अनेक प्रकारमा आत्मनिर्भरका एक सय मिटरदेखिका म्याराथुनका ट्र्याक कोरौँ र रेकर्डको साथ आत्मनिर्भरका दौड सम्पन्न गर्ने योजना तय गरौँ । आत्मनिर्भरको क्षेत्र कृषि क्षेत्रलाई नै बनाऔँ । परम्परगत र आधुनिक कृषिको थिति, विधि, प्रविधिको समन्वयमा कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गरेर यसलाई आत्मनिर्भरको क्षेत्र बनाउने योजना बनाउन लागि हालौँ । हामीसँग जमिनशक्ति छ, जनशक्ति छ जलशक्ति छ इमान्दार देशभक्तियुक्त राजनीतिको इच्छाशक्तिको मात्र कमी भएकोले यी शक्तिको सदुपयोग हुन नसकेको हो । नेताहरू छिटै देशप्रति इमान्दार बन, आफूलाई सुधार र नेपालमा आत्मनिर्भको फाँट उघार ।

सुनमा सुगन्ध हुन्छ आर्गानिक कृषिको आत्मनिर्भर नेपाल बनाउन सकेमा । केही दशकअगाडिसम्म त पूरै नेपाल त आर्गानिक नेपाल नै थियो । न विषादीको न रासायनिक मलको नै प्रयोग हुन्थ्यो । पूरै पशु मलले ढाकेको हुन्थ्यो नेपालका खेतबारीहरू । केही दशक अगाडि भारतको बंगाललगायत धेरै भू–भागमा अनिकालले धेरै मानिस मरेका थिए । चीनमा पनि त्यस्तै भएको थियो । तर नेपालमा अनिकालले मानिस मरेको समाचार कहिल्यै बनेको थिएन । प्रकृतिको बरदान भएकोले नै नेपालमा अनिकालले मरेको समचार नबनेको हो । हिमाल, पहाड र तराईको सन्तुलनले नेपालमा कृषि उत्पादनको लागि बरदान नै छ । नेपालमा त कतिपय स्थानमा त जंगली फलफूल र कन्दमूल पनि पर्याप्त पाइन्छन् र कति मानिसहरूले तिनको पनि खाद्य विकल्प बनाएका छन् । त्यसले पनि नेपाललाई अनिकालले मरेको समाचार बन्न नदिन सहायक बनेको हो ।

नेपाल आफैँमा फलफूलको जंगल हो । सबै सम्भावनाको मुलुक हो । यसलाई व्यावसायिकीकरण, आधुनिककरण र वैज्ञानिककरणको मात्र खाँचो छ । विकासको लागि राजनीति गर्नुपरेको छ सबैले । राजनीतिको लागि विकास नगरौँ । यसले बिगारेको छ । जताततै खेती र फलफूलले हरियो होस् । खेती गर्ने किसानको गोजी सधैँ भरिएको होस् त नेपाल कृषिमा आत्मनिर्भर हुन कुनै टाढाको कुरो हुँदैन । राजनीति, नीति र कर्मचारी सही हुनुपर्दछ । अरबको बगरमा तातो घाममा पिल्सिँदै पसिना बगाउन सक्ने युवाले स्वदेशमा किन पसिना बगाउन सक्तैनन् र ? यदि उनीहरूको भविश्य नेपालमा नै सुनिश्चित हुन्छ भने । ध्यान यततिर सबैको जाओस् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x