श्रीलंकाको युनियन बैंकमा विनोद चौधरीको शंकास्पद लगानी
काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति एवं नेपाली कांग्रेसका नवनिर्वाचित सांसद विनोद चौधरीले आर्थिक संकटले ग्रस्त श्रीलंकामा आठौँ सबैभन्दा ठूलो बैंक खरिद गरेसँगै अनेक प्रश्नहरु उठेका छन् । ‘प्यान्डोरा पेपर्स’मा सम्पत्ति शुद्धीकरणको लागि ‘ट्याक्स हेभन’ प्रयोग गरेको आरोपमा तानिएका चौधरीले युनियन बैंक अफ कोलम्बो (यूबीसी)को ७६ करोड ८० लाख कित्ता अर्थात् ७० दशमलव ८४ प्रतिशत सेयर खरिद गरेसँगै यो लगानीलाई शंकास्पद मानिएको हो ।
यही डिसेम्बर १ मा कोलम्बो स्टक एक्सचेन्जका प्रमुख नियामकीय अधिकृतलाई युनियन बैंक अफ कोलम्बोको सेयर खरिदबारे जानकारी दिइएको थियो । बैंकको सेयर सदस्य कल्चर फाइनान्सियल होल्डिंग्स र अर्को सेयर सदस्य टीपीजी एसिया भीआई एसएफ प्रालि सेयर बिक्री तथा खरिद सम्झौतामा जोडिएको र आफ्नो सबै सेयर सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालिलाई बिक्री गर्ने सम्झौता नोभेम्बर ३० मा भएको नियामक निकायलाई जानकारी दिइएको थियो ।
यो खरिदबिक्रीमा सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालिलाई सिंगापुरको कानुनअनुसार रहेको एक निजी कम्पनीको रुपमा चिनाइएको थियो । यसको कार्यालय दर्ता सिंगापुरमा रहेको छ तर यसका मालिक भने नेपाली अर्बपति चौधरी रहेका छन् ।
यसकारण शंकास्पद
सन् २०२१ मा अन्तर्राष्ट्रिय अनुसन्धानमूलक पत्रकारहरुको समूह (आईसीआईजे)ले गरेको १४ अफसोर वित्तीय सेवा प्रदायकबाट चुहावट भएको १ करोड १९ लाख महत्वपूर्ण विवरणको अनुसन्धानका क्रममा प्यान्डोरा पेपर्सले चौधरीले ब्रिटिश भर्जिन आइल्यान्ड (बीभीआई) मा आफ्नी श्रीमतीसहित तीन छोराहरु निर्वाण, वरुण र राहुलको नाममा कम्पनीहरु खडा गरेको खुलासा भएको थियो ।
उक्त रिपोर्टले चौधरी परिवारले बीभीआईमा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटेल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेई क्यापिटल पार्टनर्स इन्क र सिंगापुरमा सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालि कम्पनीहरु खोलेको खुलासा गरेको थियो । नेपालको कानुनअनुसार उनलाई त्यसरी नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न अनुमति छैन । सोही कारण चौधरीविरुद्ध यहाँको कानुनी व्यवस्था परिपालना नगरेको आरोप लाग्दै आएको छ ।
चौधरीको बीभीआईमा दर्ता भएको सिनोभेसन कम्पनीमा संलग्नमध्ये बंगलादेशी मूलका एक अमेरिकी नागरिक अब्दुल अवाल मिन्टू रहेको बताइन्छ । जोविरुद्ध सन् २०१८ मा ढाकास्थित सम्पत्ति शुद्धीकरण आयोगले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान समेत गरेको थियो ।
नेपालमा समेत चौधरीविरुद्ध आयकर ऐन २०५८ लाई गलत व्याख्या गरी विदेशमा लगानी गरेको आरोप लाग्दै आएको छ । तर चौधरीले भने नेपालबाट पैसा लगेर विदेशमा लगानी नगरेको दाबी गर्दै आएका छन् । उनले विदेशमा गरेको लगानी आफ्ना विदेशमा बस्ने छोराहरुको कमाइ भन्दै आएका छन् ।
श्रीलंकाको यूबीसीको बहुमत सेयर किन्नुको पछाडिको कारण नखुले पनि यसले श्रीलंकाको पूरै बैंकिङ क्षेत्रमा प्रणालीगत समस्या निम्त्याउन सक्ने त्यहाँका मिडियाहरुले समेत उल्लेख गरेका छन् ।
यूबीसीको मुख्य सेयरधनी केम्यान आइल्यान्डको कल्चर फाइनान्सियल होल्डिंग्स हो जसको एकमात्र सेयर सदस्य टीपीजी एसिया भीआई एसएफ प्रालि सन् २०१४ अगस्ट १४ मा उक्त बैंकको झण्डै ७० प्रतिशत सेयर किन्न सम्झौतामा जोडिएको थियो । त्यो भनेको १५ अर्ब श्रीलंकाली रुपैयाँबराबरको सेयर थियो । टीपीजी एसियाचाहिँ अमेरिकाको लगानी कम्पनी टीपीजीको एसियाकेन्द्रित लगानी कोषको एक हिस्सा रहेको छ ।
यी सबैका बाबजुद यूबीसी बोर्ड अफ डिरेक्टर्सले सेन्ट्रल बैंक अफ श्रीलंकाबाट कल्चर फाइनान्सियल होल्डिंग्स लिमिटेडलाई यूबीसीको ७५ प्रतिशत सेयर प्राप्ति गर्न अनुमति पाएको थियो । १५ वर्षपछि यसलाई १५ प्रतिशतमा घटाउने गरी केन्द्रीय बैंकबाट अनुमति मिलेको थियो । तर त्यसको करिब आठ वर्षपछि नै कल्चर फाइनान्सियल होल्डिंग्सले अहिले अर्को अफशोर कम्पनीलाई सेयर बिक्री गर्न सम्झौता गरेपछि श्रीलंकामा यसलाई शंकास्पद मानिएको छ ।
श्रीलंकाकै सिलोनटुडे अनलाइनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार सीजी ग्रुप सिंगापुरको एकमात्र सेयरधनी पानामामा रहेको सीजी कर्प भनिने एउटा कम्पनी रहेको छ । त्यही कारण पनि नियामकले यस कम्पनीबारे विस्तृत अध्ययन गर्नुपर्ने बताइएको छ । पानामामा रहेको सीजी कर्पमा सेयर सदस्य नै नभेटिएको स्रोतको भनाइ छ । सन् २०१५ मा उक्त कम्पनीले नाम परिवर्तन गरेर सीजी कर्प भएको विज्ञहरुको भनाइ छ ।
चौधरीले श्रीलंकाको बैंकमा गरिएको लगानीलाई त्यहाँ सम्पत्ति शुद्धीकरणसँग जोडेर हेरिएको उक्त अनलाइनले जनाएको छ । यूबीसीले श्रीलंकाली नागरिक र व्यावसायिक क्षेत्रको डिपोजिट फन्ड राख्ने भएकाले पनि चौधरीको बहुमत सेयर नियन्त्रणतर्फ अनेक शंका गरिएको छ ।
चौधरीले श्रीलंकामा पहिलोपटक सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँगको संयुक्त उपक्रम (जेभी) मा चर्चित ताज समुद्र कोलम्बोमा लगानी गरेका थिए । जसको अहिले छ देशमा ११ सम्पत्तिमा आईएचसीएलसँग साझेदारी रहेको छ ।
अहिले चौधरीले यूबीसीमा गरेको लगानी नौ अर्ब १० करोड श्रीलंकाली रुपैयाँबराबरको हो । यी सबै शंका उपशंकाबीच चौधरीले भने यो समय श्रीलंका कठिन समयबाट गुज्रिरहेको छ र आईएमएफको माध्यमबट विदेशी लगानी जुटाउन संघर्ष गरिरहेको भन्दै श्रीलंकालाई भरोसा दिन लगानी गरेको दाबी गरिरहेका छन् ।
‘ऋणका कारण पनि बैंक दबाबमा रहेको र यी सबै आर्थिक झट्काका बाबजुद हामीले श्रीलंकामा लगानी गर्ने फैसला गरेका हौँ’, उनलाई उद्धृत गर्दै बीडब्ल्युहिन्दीले भनेको छ, ‘हामीलाई थाहा छ यो कठिन हुनेवाला छ तर हामी श्रीलंकालाई भरोसा दिन चाहन्छौँ ।’
यता चौधरीको लगानी रहेको नबिल बैंकका विदेशी लगानीकर्ताको सेयर समेत उनले खरिद गर्दै छन् । सीजी नेपालमा रहेको नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी हो ।
बंगलादेशी लगानीकर्ता आईएफसी बैंकले आफ्नो स्वामित्वको नबिलमा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर बिक्रीको लागि निवेदन दिइसकेको बताइएको छ । त्योसँगै नबिल बैंकले सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन मागको सार्वजनिक सूचना निकालिसकेको छ ।
चौधरी सन् २०१३ बाट फोब्र्स म्यागजिनको अर्बपति सूचकांकमा समावेश भएका थिए । उनले जेटविंग होटल्स ग्रुप र सीलोन होटल्स कर्पोरेसनसँगको साझेदारीमा १२ अन्य सम्पत्तिमा पनि लगानी गरेका छन् । सीजी हस्पिटालिटी होल्डिंग्स, सीजी कर्प ग्लोबलको १२ देशमा १४१ भन्दा धेरै होटल र रिसोर्ट रहेका छन् ।
सीजी कर्प ग्लोबलको १२३ ब्रान्ड, १६० कम्पनी, १५ हजारभन्दा धेरै कर्मचारी र धेरै क्षेत्रमा ३२ देशमा व्यवसाय फैलिएको छ । भारतमा पनि सीजी हस्पिटालिटी दुई दशकयता उपस्थित छ । १९९० को दशकको मध्यतिर सीजीले भारतमा व्यवसाय विस्तार गरेको छ । भारतमा सात अलग स्थानमा उत्पादन उद्योग र राजस्थानमा मेगा फुड पार्क रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया