नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुको साटो क्यासिनो सञ्चालन गर्ने लाइसेन्स वितरण गरेर सरकारले आफैँमाथि बेइमानी गर्दै आएको छ । राजधानीका प्राय सबै पाँचतारे होटलमा क्यासिनो सञ्चालन गरिएका छन् । यसबाहेक भारतीय सीमानजिकका सहरहरूमा मिनी क्यासिनो सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । त्यसरी अनुमति लिएरै झापादेखि महेन्द्रनगरसम्म मिनी क्यासिनो सञ्चालन हुँदै आएका छन् । अहिले सञ्चालितमध्ये केही क्यासिनो अदालतको अन्तरिम आदेशमा चलेका छन् भने केही क्यासिनो सञ्चालन नियमावलीअनुसार सञ्चालित छन् ।
अदालतको स्टे अर्डरमा सञ्चालित क्यासिनोले एक वर्षदेखि सरकारलाई तिर्नुपर्ने राजस्व तिरेका छैनन् । उनीहरूले सरकारलाई तिर्नुपर्ने करोडौँ रोयल्टी नतिर्दा पनि सरकारी अधिकारीहरूले त्यसलाई कडाइका साथ उठाउने प्रयाससमेत गरेका छैनन् । उनीहरूको फितलो ताकेताले नै उनीहरूबीच आपसी मिलेमतो रहेको सहजै अनुमान गर्न सकिन्छ । क्यासिनो सञ्चालन गर्ने कम्पनीहरूले कर चुक्ता नै नगरी स्वामित्व परिर्वतन गर्ने गरेका छन् । कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग तथा पर्यटन विभाग यस विषयमा अनभिज्ञ छैनन्, तर यीमध्ये कसैले पनि नियमसंगतरूपमा काम गरेको पाइएको छैन । उनीहरूले आफ्नो जिम्मेवारी अर्कोतिर पन्छाएर उम्किनेबाहेक केही गरेका छैनन् ।
क्यासिनोका सञ्चालकले क्यासिनो चलाएर उठाएको रकम नयाँ काम धन्दामा लगाएर राजस्व नतिरेका छन् । यति मात्र होइन कुनै पनि क्यासिनोका सञ्चालकले आफ्ना कामदार मजदूरहरूलाई दिनुपर्ने सबै तलब, भत्ता, उपदान र सञ्चयको रकम दिएका छैनन् । यहाँसम्म कि रकम अदालतले फैसला गर्दा पनि मजदूरले पाउनुपर्ने श्रमको मूल्य पाएका छैनन् । सर्वहारा मजदूर वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतको बलियो सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि क्यासिनो मजदूरले मालिकबाट पाउनुपर्ने रकम पाएका छैनन् र सरकारले दिलाउने प्रयास गरेको पनि छैन । केही धन्दावालचाहिँ मालामाल भएका छन् ।
क्यासिनोका सञ्चालक टेवल हाइड गरेर प्लाष्टिकको गोटी दिएर जुवा खेलाई भारतीय नागरिकहरूसँग भारतमै खोलिएका सम्पर्क कार्यालयमा रकम लिएरसमेत कर छल्दै आएका छन् । उक्त रकम हुण्डी गरेर नेपाल भित्र्याउने वा भारतकै क्यासिनोमा लगानी गरेका छन् । यसै गरेर यहाँका केही क्यासिनो सञ्चालकले भारतका विभिन्न सहरमा क्यासिनो सञ्चालन गरेको पाइएको छ भने नेपालकै क्यासिनोमा सामान्य कामदार रहेका केही व्यक्ति छोटो समयमै क्यासिनोका मालिक बनेर करोडौँ रूपैँयाको सम्पत्तिका मालिक बनेका छन् । आफूसँगै काम गरेको मजदूर सहकर्मी मालिक बनेर आफैँलाई ठगिरहँदा पनि राज्य प्रशासनको साथ नपाउँदा मजदूरहरू पुर्पुरो समाएर बस्न बाध्य भएका छन् । यसरी राज्य र मजदूर दुवैलाई ठग्ने र शोषण गर्ने क्यासिनो नेपालमा कालोधनलाई सेतो बनाउनका लागि मात्र चलिरहेको छ । यस्तो धन्दा चलाएर मुलुकमा समृद्धि हासिल हुँदैन । यसलाई यथाशिघ्र बन्द गरिनु पर्दछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया