विकास निर्माणका लागि थप दुई अर्ब ऋण लिँदै राष्ट्र बैंक
काठमाडौं । विकास निर्माणको काम गर्न पर्याप्त पैसा नभएपछि नेपाल राष्ट्र बैंकले फेरि दुई अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । यसरी उठाइने रकम आन्तरिक ऋण हो । राष्ट्र बैंकका अनुसार मंसिर २७ गते अर्थात् आज मंगलबार अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८२ ‘छ’ (३ वर्षे) बिक्री गर्न लागिएको हो । सरकारले आवश्यकताअनुसार यो ऋणपत्रको अवधि निर्धारण गर्नसक्छ ।
यसमा गरिने लगानीमा कम जोखिम हुन्छ । साथै छ/छ महिनामा ब्याज पाइने पनि हुन्छ । त्यही भएर विकास ऋणपत्रमा लगानी गर्नेको खासै अभाव हुँदैन । केन्द्रीय बैंकले यसरी निष्काशन हुने ऋणपत्र कारोबारका लागि नेप्सेमा सूचीकृत हुन्छ । ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएपछि त्यसको किनबेच र बैंकमा धितो राखेर ऋणसमेत लिन सकिन्छ ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति मंसिर २८ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८२ मंसिर २८ गते तोकिएको छ । अर्थात् यसरी लगानी गर्नेहरुले २०८२ साल मंसिर २८ गते सबै सावाँ र ब्याज भुक्तानी पाउँछन् ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् एक अर्ब ७० करोड र ३० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था रहेको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरुपमा मात्र भाग लिन व्यवस्था रहेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको छ ।
आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्नेछ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, २५ अर्ब रुपैयाँबराबरको बिकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकको रहेको छ ।
चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे रहेको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि उठाउने कुल आन्तरिक ऋणमध्ये दोस्रो त्रैमासिकमा मात्र ३० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि यही मंसिर १२ गते तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल र पुस १८ गते पुनः तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । विकास ऋणपत्रतर्फ भने यही मंसिर १३ गते दुई वर्षे अवधिको आठ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८१ छ, मंसिर २७ गते तीन वर्षे अवधिको विकास ऋणपत्र २०८२ छ र पुस ५ गते चार वर्षे अवधिको पाँच अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८३ ज बिक्री गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया