Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको उद्गम चीन जान ९८ युवाले लिए श्रम स्वीकृति

कोरोनाको उद्गम चीन जान ९८ युवाले लिए श्रम स्वीकृति


काठमाडौं, फागुन २७
२०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलोपटक कोरोना भाइरस (कोभिड १९) देखापरेको थियो । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा जारी गरेको सूचनाअनुसार हाल विश्वका १ सय १ वटा देशमा सो भाइरस फैलिएको जनाएको छ भने विभिन्न देशहरुले आफ्नो मुलुकमा अन्य मुलुकका नागरिकहरुको प्रवेशमा कडाइ गर्दै गएको छ ।

यसैबीच कोरोना भाइरसको त्रासका बीचमा पनि नेपालीहरुले चीन जानको लागि भन्दै श्रम स्वीकृति लिएको पाइएको छ । यद्यपि श्रम स्वीकृति लिने सबै युवाहरु विदेश नै जान्छन् भन्ने नभएको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताँउछन् । विभागका अधिकारीहरुका अनुसार डिसेम्बरदेखि फेब्रुअरी (करिब मंसिरदेखि माघसम्म)को अवधिमा कोरोना भाइरसका त्रासका बीचमा पनि चीन जान भन्दै ९८ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् । यसमध्ये ८६ पुरुष र १२ महिला छन् ।

चीनमा काम गर्न जानका लागि भन्दै उनीहरुले श्रम स्वीकृति लिएका हुन् भने पछिल्लो दिनहरुमा भने चीन जाने भन्दै श्रम स्वीकृति लिने आउनेको संख्यामा कमी भए पनि ठप्प भने नभएको विभागले जनाएको छ । माघमा १७ पुरुष र तीन महिला गरी २० जनाले चीन जानका लागि भन्दै श्रम स्वीकृति लिएका छन् । पहिले श्रम नलिई चीन गएका र पछि श्रम लिनेमा ६ जना पुरुष रहेका छन् भने विदामा आएर चीन जान चाहनेमा पाँच जना पुरुष र तीन जना महिला तथा नयाँ श्रम स्वीकृति लिनेमा ५ जना पुरुष रहेका छन् ।

पुस महिनामा काम गर्नका लागि चीन जाने भन्दै ३१ पुरुष र ६ महिला गरी ३७ जना युवाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिनेमा पाँच जना पुरुष र तीन जना महिला, विदामा आएर पुनः चीन जानका लागि श्रम स्वीकृति लिनेमा तीन जना पुरुष, नयाँ श्रम स्वीकृति लिनेमा १४ पुरुष र तीन जना महिला छन् ।

मंसिरमा ३८ पुरुष र तीन जना महिला गरी ४१ जना युवाहरुले चीनमा काम गर्न जाने भन्दै श्रम स्वीकृति लिएका छन् । जसमध्ये व्यक्तिगत प्रयासमा श्रम लिनेमा ५ जना पुरुष र एक जना महिला, पहिले श्रम नलिई चीन गएका र पछि श्रम लिनेमा नौ जना पुरुष, विदामा आएर पुनः जानका लागि श्रम स्वीकृति लिनेमा आठ पुरुष र एक महिला रहेका छन् भने नयाँ श्रम स्वीकृति लिनेमा १५ पुरुष र एक महिला रहेका छन् ।

चीनमा मात्र नभएर अन्य मुलुकमा समेत कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ भने नेपालीहरु रोजगारीका लागि जाने मलेसिया तथा खाडीका मुलुकहरुले सतर्कता अपनाउनुको साथै अन्य मुलुकका नागरिकलाई प्रवेशमा समेत रोक लगाएका छन् । चीनमा मात्र नभएर मलेसिया तथा खाडी लगायत विश्वका ८० भन्दा बढी मुलुकमा काम गर्न जानको लागि भन्दै पछिल्लो समयमा हजारौं युवाहरुले श्रम स्वीकृति लिएका छन् ।

माघ महिनामा मात्र नयाँ श्रम स्वीकृति लिने युवाहरुमा २७ हजार तीन सय ३० जना रहेको छ । यसमध्ये पुरुष २५ हजार दुई सय ५५ जना र महिला दुई हजार ७५ जना छन् । यस्तै पुस महिनामा श्रम स्वीकृति लिनेको संख्या २९ हजार छ सय ५७ जना रहेको छ जसमध्ये २७ हजार दुई सय ९० जना पुरुष र दुई हजार तीन सय ६७ जना महिला रहेका छन् । मंसिरमा २६ हजार सात सय ९५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् जसमध्ये २४ हजार पाँच सय ७८ जना पुरुष र दुई हजार दुई सय १७ जना महिला रहेका छन् । विश्वका एक सय ५० भन्दा बढी मुलुकमा युवाहरु रोजगारीको खोजीमा जाने गरेका छन् भने पछिल्लो समय श्रम स्वीकृति लिने युवाहरुको संख्यामा भने उल्लेखनीय रुपमा कमी आउनसकेको छैन ।

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध : खाडी मुलुक कतारले विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ । कतारी सरकारको स्टेट कम्युनिकेसन्स अफिसले आइतबार सूचना जारी गर्दै अस्थायी रुपमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट कतार जानेलाई प्रवेश नदिने निर्णय गरेको हो । यो निर्णय आइतबारदेखि नै कार्यान्वयनमा आइसकेको छ ।

उक्त निर्णयसँगै कतार बस्दै आएका, काम गर्दै आएका र घुम्न जानेहरुसमेत कतार जान रोकिएका छन् । कतार एयरवेजका प्रतिनिधिले समेत सोमबार चीन, इरान, दक्षिण कोरिया र इटालीका यात्रुले समेत हमाद इन्टरनेशनल एयरपोर्टबाट ट्रान्जिट नभए प्रवेश नपाउने पुष्टि गरेको कतारी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै कतारकै नागरिकले समेत कतार जाँदा अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । यसबाहेक हंगकंग, जापान र सिंगापुरका नागरिकले समेत कतार प्रवेश गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । परीक्षणका क्रममा कोभिड१९ को संक्रमण पुष्टि भए उनीहरुले क्वारेन्टाइनमा बस्नुपर्नेछ । कतारमा हालसम्म १५ जना संक्रमित फेला परे पनि मृत्यु भने भएको छैन ।

साउदी अरेबिया–यूएई उडान निलम्बन : यसैबीच, यूएईका हवाइ सेवा प्रदायक कम्पनीले अस्थायी रुपमा साउदी अरेबिया र यूएईबीचको उडान निलम्बन गरेका छन् । त्यसमध्येको एत्तिहाद एयरवेजले अस्थायी रुपमा सबै उडान निलम्बन गरेको जनाएको छ । उक्त एयरलाइन्सले प्रतिदिन आबुधाबीबाट साउदी १२ उडान गर्दै आएको थियो ।

साउदी अरेबियाद्वारा सात देशका यात्रुलाई प्रतिबन्ध : यसैबीच, साउदी अरेबियाले पनि आफ्ना नागरिकलाई यूएईलगायत आठ देशमा जान र आउन बन्देज लगाएको छ । उसले यूएई, बहराइन, कुवेत, लेबनान, सिरिया, इटाली, इजिप्ट र कोरिया भएर ट्रान्जिट हुने तथा यात्रा गर्नेमाथि समेत बन्देज लगाएको गल्फ न्युजले जनाएको छ । त्यस्तै इमिरेट्स एयरलाइनले पनि उडान रद्द गरेको विज्ञप्तिमार्फत जनाएको छ । फ्लाई दुवईले पनि साउदी अरेबियातर्फको सबै उडान १२ मार्चसम्मका लागि रद्द गरेको जनाएको छ ।

लेबनानद्वारा केही अरबी मुलुकमा उडान रोक्ने घोषणा : यसैबीच, लेबनानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको संक्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । उक्त विमान कम्पनीले उडान रोक्ने निर्णय हुनुभन्दा पहिले नै बेचिएका मार्च ३१ सम्मका टिकटको पैसा फिर्ता गर्ने वा पुनः त्यसपछि गर्न सकिने उडानका लागि मिलान गर्ने बताएको छ ।

यसअघि लेबनानका लागि साउदी अरबका राजदूत वालिद अल–बुखारीले कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका समय आफ्नो देशले लेबनानसँगको सामुद्रिक तथा हवाई यात्रामा रोक लगाउने बताएका थिए । लेवनानमा सोमबारसम्ममा ३२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x