वीरगञ्जमा नेपाल बीमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशको वीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन् । यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ ।
प्राधिकरणको प्रदेश कार्यालयबाट बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका साथै बीमा दाबीभुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वयलगायतका कार्य सम्पादन हुनेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न अनुमति दिएका लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम सुरु गर्ने बताए ।
अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवं पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउँदै पालिकाका कामहरूसँग आबद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे । अध्यक्ष सिलवालले ग्रामीण क्षेत्रका मात्र नभई सहरी क्षेत्रका न्यून आय भएका वर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकांश सेवाहरू सेवाग्राहीले प्राप्त गर्नसक्ने जानकारी दिए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए । प्रमुख सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिनेजस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमाप्रतिको विश्वास बढाउनका लागि समयमै दाबी भुक्तानी हुनुपर्ने बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरू मागेर हैरान पार्ने गरेको गुनासो गरे । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमादाबी भुक्तानी छिटोछरितो रूपमा दिन निर्देशन दिँदै आएको र सोहीअनुसार हाल दाबी भुक्तानी सामान्यीकरण हुँदै गएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही २०७९ साल असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९ दशमलव २० प्रतिशत र निर्जीवन बीमातर्फ कुल कृषि तथा बाली बीमामध्ये छ दशमलव ७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको पाइएको जानकारी दिए ।
कार्यकारी निर्देशक पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमाअन्तर्गत कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी)ले गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, उद्योगी व्यवसायीहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारी, नेपाल बीमक संघका प्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता र सञ्चारकर्मीहरूलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया