७६ प्रतिशत उम्मेदवारको धरौटी जफत
आज राष्ट्रपतिलाई निर्वाचनको परिणाम बुझाइने
काठमाडौं । निर्वाचन आयोगले आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष यही मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बुझाउने भएको छ । आयोगले बुधबार अन्तिम नतिजा प्रकाशन गरेको थियो । सोही नतिजालाई प्रतिवेदनका रुपमा आयोगले राष्ट्रपतिलाई बुझाउन लागेको हो ।
आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिबाट नयाँ सरकारको लागि आह्वान हुनेछ । त्यसपछि दलहरुले प्रत्यक्ष रुपमा गृहकार्य सुरु गर्नेछन् ।
उक्त निर्वाचनमा कुनै पनि राजनीतिक दलले वा गठबन्धनले बहुमत ल्याउनसकेको छैन । तर, निर्वाचनमा सबैभन्दा ठूलो दल भने नेपाली कांग्रेस बनेको छ । कांग्रेसले गठबन्धन बनाएर निर्वाचनमा गएको कारण प्रत्यक्षतर्फ धेरै सिटमा जित निकाल्दा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको हो । समानुपातिकतर्फ भने कांग्रेस दोस्रो र नेकपा एमाले पहिलो दल भएको थिए । प्रत्यक्षमा ४४ सिट मात्र जितेको कारण एमाले समानुपातिकतर्फ ठूलो दल भए पनि समग्रमा दोस्रो दल बन्नपुगेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन पेश गर्न लागिएको जानकारी दिए ।
आयोगले पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कुल आठ सय २५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभातर्फ पुरुष एक सय ८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ पुरुष तीन सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला दुई सय जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला दुई सय २५ र पुरुष दुई हजार एक सय ८६ गरी दुई हजार चार सय ११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार एक सय ८७ र पुरुष एक हजार १२ गरी दुई हजार एक सय ९९ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।
त्यसैगरी प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला दुई सय ८०, पुरुष दुई हजार नौ सय ४३ र अन्य एक गरी तीन हजार दुई सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार पाँच सय ११ र पुरुष दुई हजार एक सय ९७ गरी कुल तीन हजार सात सय आठ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो । यसअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि कुल उम्मेदवारको संख्या जम्मा ११ हजार पाँच सय ४२ रहेको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार पाँच सय ७९, पुरुष ९१ लाख ४० हजार आठ सय छ र अन्य एक सय ८५ गरी कुल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्ये मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए । देशभरका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार आठ सय ९२ मतदान स्थलका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्थाअनुरुप एक सय ४१ अस्थायी मतदान स्थलहरूको समेत व्यवस्था गरिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये एक करोड चार लाख ८७ हजार नौ सय ५८ मत सदर भएको थियो भने पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको बताए । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार दुई सय २६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भई पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको थियो ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको थियो भने चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार तीन सय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा एक करोड तीन लाख छ हजार ११ मत सदर भई छ दशमलव ५५ प्रतिशत मत बदर भएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेबमोजिम प्रतिनिधिसभातर्फ पुरुष एक हजार सात सय ७२ र महिला एक सय ८९ गरी जम्मा एक हजार नौ सय ६१ जना तथा प्रदेशसभातर्फ पुरुष दुई हजार ८६, महिला दुई सय ३७ र अन्य एक गरी जम्मा दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना (७६ दशमलव शून्य चार प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ ।
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधिसभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेशसभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थाबमोजिम यस निर्वाचनबाट सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेश नं. १ मा छ, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा छवटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया