Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझण्डै डेढ लाखले लिए मलेसिया जान श्रम स्वीकृति

झण्डै डेढ लाखले लिए मलेसिया जान श्रम स्वीकृति


काठमाडौं । बाध्यात्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने नेपाली युवाहरुको संख्या बढ्दो छ । चालू आर्थिक वर्षको यो सातासम्म तीन लाख ४७ हजार तीन सय ४० जना नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका छन् । जसमा तीन लाख १५ हजार एक सय ५१ जना पुरुष र ३२ हजार एक सय ९८ जना महिला रहेका छन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी मलेसिया जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागका शाखा अधिकृत हिमराज अर्यालले आर्थिक दैनिकलाई बताए । समीक्षा अवधिमा मलेसिया जानको लागि एक लाख ४२ हजार एक सय ३७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक लाख ३७ हजार नौ सय छ जना पुरुष र पाँच हजार छ सय १८ जना महिला छन् ।

नयाँ गन्तव्य मुलुकको खोजी गर्दै नेपाली श्रमिकहरु विभिन्न मुलुकमा जाने गरेको भए पनि नेपाली श्रमिकको लागि गन्तव्य मुलुकको पहिचान बनाएको खाडीका छ राष्ट्र र मलेसिया जानेको संख्यामा तुलनात्मक रुपमा कमी आएको पाइँदैन ।

मलेसियापछि सबैभन्दा बढी कतारका लागि ५३ हजार एक सय १४ जना (५० हजार एक सय ५७ पुरुष/दुई हजार नौ सय ५७ महिला), संयुक्त अरब इमिरेटस (यूएई) मा ४५ हजार आठ सय १६ जना (३६ हजार दुई सय ४१ पुरुष/नौ हजार पाँच सय ७५ महिला), साउदी अरेबियाका लागि ४२ हजार तीन सय ८४ जना (४१ हजार नौ सय ६० पुरुष/चार सय २४ जना महिला), कुवेतका लागि २२ हजार एक सय ५६ जना (१६ हजार पाँच सय ३८ पुरुष/पाँच हजार छ सय १८ महिला) जानका लागि श्रमिकहरुले श्रम स्वीकृति लिएका छन् ।

कतारमा विश्वकप २०२२ सञ्चालन भएको हुँदा श्रम स्वीकृति लिने संख्यामा वृद्धि भएको विभागले जनाएको छ । विश्वकप अघि र विश्वकप सञ्चालनका लागि विभिन्न जनशक्ति आवश्यक पर्ने हुँदा श्रम स्वीकृतिमा सहजीकरण गरेको हुँदा धेरै संख्यामा युवाहरु त्यसतर्फ गएका विभागका अधिकारीहरुको भनाइ रहेको छ । यद्यपि कतार जाने नेपाली श्रमिकको संख्यामा वृद्धि हुँदा कतार सरकारले भने श्रमिकहरुको संरक्षण तथा सुरक्षा गर्नसकेको छैन । कतार सरकारले नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम कानुनविपरीत काम गरेबापतको ज्याला समेत दिने गरेको छैन । अर्कोतर्फ श्रमिकको अधिकारको संरक्षण कतार सरकारले गर्न नसकेको अन्तर्राष्ट्रिय संस्थाहरुले बताउँदै आएको छ ।

यस्तै समीक्षा अवधिमा ओमनका लागि दुई हजार चार सय ६१ जना (एक हजार आठ सय ६२ पुरुष/पाँच सय ९९ महिला), बहराइनका लागि तीन हजार चार सय ४० जना (दुई हजार नौ सय ४९ पुरुष/चार सय ९१ महिला), साइप्रसका लागि एक हजार नौ सय ६८ जना (एक हजार छ सय ५५ जना/तीन सय १३ जना पुरुष) र माल्टाका लागि चार हजार एक सय ५९ जना (दुई हजार नौ सय ४९ पुरुष÷एक हजार दुई सय १० महिला) ले श्रम स्वीकृति लिएका छन् ।

संस्थागत रुपमा एक सय आठ र व्यक्तिगत रुपमा एक सय ७२ गन्तव्य मुलुकमध्ये खाडी र मलेसियाका अतिरिक्त ब्रुनाई, माल्दिभ्स, सिंगापुर, सर्बिया, सेचेल्स, रोमानिया, लेबनानलगायतका मुलुकहरुमा समेत नेपाली श्रमिकहरु श्रम स्वीकृति लिई जाने गरेका छन् । समिक्षा अवधिमा माल्दिभ्सका लागि एक हजार सात सय ५८ जना (एक हजार दुई सय २३ पुरुष/पाँच सय ३५ महिला), ब्रुनाई छ सय ८९ जना (छ सय ३० पुरुष/५९ महिला) र फिजी पाँच जना पुरुषले श्रम स्वीकृति लिएका छन् ।

आफनो तथा पारिवारिक आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले मुलुकमा रोजगारी नपाएसँगै युवाहरु विदेशिन गरेका छन् । जसले गर्दा श्रम स्वीकृति लिने अघिकांश युवाहरु कामका लागि विदेश जाने गरेको विभागका अधिकारीहरको भनाइ छ । हरेक वर्ष नेपाली श्रम बजारमा पाँच लाख जना युवाहरु आउने गरेको सरकारी तथ्यांक रहेको उनीहरुलाई स्वदेशमा पर्याप्त रोजगारी नहुँदा विदेशिनुपर्ने बाध्यता छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x