Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रको बाटो कता ?

अर्थतन्त्रको बाटो कता ?

व्यापार घाटामा कमी, विदेशी मुद्रा सञ्चिति बढ्यो


काठमाडौं । वस्तु आयातमा गरिएको कडाइको कारण देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विगतमा विदेशी विनिमय सञ्चितिमा कमी आएसँगै नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयातमा कडाइ गरेको थियो । आयातमा गरेको कडिकडाइसँगै विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकको तथ्यांंकले देखाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्स रकम पनि केही बढेको छ । यसले गर्दा मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ भने व्यापारघाटामा पनि कमी आएको छ । सोही कारण देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको राष्ट्र बैंकको दाबी छ । रेमिट्यान्स आयमा वृद्धि, शोधनान्तर बचत देखिए पनि मूल्यवृद्धि आम सर्वसाधारणले सहजै थेग्न सकिने खालको छैन । केही सूचकांकमा सुधारले अर्थतन्त्रको बाटो सुधारतर्फ गएको भन्न मिल्छ त ? यसमा सबैको समान धारणा पाउन सकिन्न । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व भने अहिले केही क्षेत्रमा देखिएको सुधारले अर्थतन्त्र नै सुधारको बाटोमा गएको भन्न सकिँदैन । एक हप्ता भन्दा बढी दिन लगाएर प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटेर धारणा राखेको महासंघको नेतृत्वले अर्थतन्त्र सही बाटोमा नगएको दाबी गरेको छ ।

निजी क्षेत्रले अर्थतन्त्र सही बाटोमा नभएको दाबी गरे पनि राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको प्रतिवेदनअनुसार शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा देखिएको छ । यसले अर्थतन्त्रमा सुधार देखिएको भनेको छ । उक्त प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा प्रतिवेदनमा उल्लेख छ । यसैगरी चालू खाता भने पछिल्लो चार महिनामा ३५ अर्ब ४० करोडले घाटामा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोडले घाटामा रहेको चालू खाता चालू आवको पछिल्लो चार महिनामा २८ करोडले घाटामा देखिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी पुँजीगत ट्रान्सफर १८ दशमलव एक प्रतिशतले बढेर दुई अर्ब ९७ करोड रुपैयाँ पुग्दा खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ६३ करोड प्राप्त भएको थियो ।

राष्ट्र बैंकका अनुचार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कुल वस्तु निर्यात ३३ दशमलव तीन प्रतिशतले घटेको छ । सो अनुसार पछिल्लो चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु विदेश निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय चार दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२ दशमलव तीन प्रतिशत र ३४ दशमलव दुई प्रतिशतले घटे पनि चालू आवको पछिल्लो चार महिनामा अन्य मुलुकतर्फको निर्यात सात दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया,तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेकोमा सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ता कपडालगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले विलासी वस्तुको आयातमा गरेको कडाइसँगै चालू आवको पछिल्लो चार महिनामा कुल वस्तु आयातमा पनि कमी आएको छ । यस अवधिमा कुल वस्तु आयात १८ दशमलव एक प्रतिशतले घटेर पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ दशमलव छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव पाँच प्रतिशत, २० दशमलव नौ प्रतिशत र २० दशमलव एक प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन हवाइजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढे पनि सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस बिलेट, कच्चा सोयाकिन तेललगायतका वस्तुको आयात भने घटेको छ । निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको र आयाततर्पm पनि जलेश्वरबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा कुल वस्तु व्यापार घाटामा पनि कमी आएको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले घटेर चार खर्ब ७७ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६ दशमलव आठ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा निर्यात–आयात अनुपात १० दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव छ प्रतिशत रहेको थियो । चालू आवको चार महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६९ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ४० करोड बराबरको भएको राष्ट्र बैंकले जनाएको छ ।

खुद सेवा आय २३ अर्ब ३० करोड रुपैयाँले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय २३ अर्ब ३० करोड रुपैयाँले घाटामा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३० अर्ब ७९ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत चालू आवको पछिल्लो अवधिमा भ्रमण आय एक सय ३७ प्रतिशतले बढेर १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय भने चालू आवको पछिल्लो चार महिनामा ६३ दशमलव आठ प्रतिशतले बढेर ३३ अर्ब छ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय २२ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७० करोेड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब
मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात् रेमिट्यान्स रकममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको प्रतिवेदनअनुसार रेमिट्यान्स २० दशमलव चार प्रतिशतले बढेर तीन ७८ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स रकम सात प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको छ ।

चालू आवको पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक सय दुई दशमलव पाँच प्रतिशतले बढेर एक लाख ९५ हजार नौ सय ९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६ दशमलव चार प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले वृद्धि भई चार खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

आठ महिना चार दिनको वस्तु/सेवा आयात धान्ने विदेशी मुद्रा
अर्थतन्त्रमा सुधार आएसँगै विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रतिवेदनअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले बढेर २०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा एक प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा तीन दशमलव तीन प्रतिशतले बढेर १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा दुई दशमलव सात प्रतिशतले घटेर एक खर्ब ५५ अर्ब पाँच करोड कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव पाँच प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना सात दिनको वस्तु आयात र आठ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x