Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेशमा पनि सरकार गठनको बाटो खुल्यो

प्रदेशमा पनि सरकार गठनको बाटो खुल्यो


काठमाडौं । प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुलेको छ । गत मंसिर ४ गते भएको निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पुगेपछि सरकार गठनको बाटो खुलेको हो ।

निर्वाचन आयोगले शनिबार दिउँसो एकैसाथ अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेशप्रमुखको कार्यालयमा बुझाएपछि अब सरकार गठनका लागि औपचारिक रुपमा बाटो खुलेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलग–अलग रूपमा प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझाउन प्रदेश नं १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकीकुमारी तुलाधर, मधेश प्रदेशमा आयुक्त सगुनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेशप्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ । आयोगले गत मंसिर २९ गते राष्ट्रपतिसमक्ष समग्र निर्वाचनको प्रतिवेदन पेस गरेको थियो । आयोगले परिणामसहितको प्रतिवेदन नबुझाए पनि कुन दलको कति सिट छ भन्ने निर्वाचन परिणामले देखाइसकेको छ । केन्द्रमा बन्ने सरकारले प्रदेश सरकारको पनि खाका कोर्नेछ । केन्द्रमा जुन गठबन्धन बन्छ प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेर नयाँ सरकार गठन हुनेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x