Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि कर्जा बढ्यो

कृषि कर्जा बढ्यो

बागमती प्रदेशको कृषि क्षेत्रमा मात्र एक खर्ब आठ अर्ब रुपैयाँ कर्जा


काठमाडौं । कृषि कर्जा पछिल्लो समय बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी बागमती प्रदेशको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदनअनुसार बागमती प्रदेशअन्तर्गतका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, मकवानपुर र चितवनसहितका १३ वटा जिल्लाहरुमा कृषि कर्जा बढेको हो । सो अनुसार २०७९ असार मसान्तसम्म बागमती प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब आठ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ दशमलव दुई प्रतिशतले बढेको थियो । यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाले तीन दशमलव पाँच प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४१ दशमलव नौ प्रतिशत, चितवन जिल्लाको अंश २८ दशमलव आठ प्रतिशत, मकवानपुर जिल्लाको अंश छ दशमलव एक प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाको अंश पाँच दशमलव तीन प्रतिशत, धादिङ जिल्लाको अंश तीन दशमलव सात प्रतिशत रहेको छ । यसैगरी नुुवाकोट जिल्लाको अंश तीन दशमलव पाँच प्रतिशत, ललितपुर जिल्लाको अंश तीन दशमलव एक प्रतिशत, भक्तपुर जिल्लाको अंश दुई दशमलव चार प्रतिशत, सिन्धुली जिल्लाको अंश एक दशमलव आठ प्रतिशत, सिन्धुपाल्चोक जल्लाको अंश एक दशमलव दुई प्रतिशत, रामेछाप जिल्लाको अंश शून्य दशमलव सात प्रतिशत, दोलखा जिल्लाको अंश शून्य दशमलव छ प्रतिशत र रसुवा जिल्लाको अंश शून्य दशमलव छ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बागमती प्रदेशको औद्योगिक कर्जा भने घटेको छ । २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले बागमती प्रदेशका औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा छ प्रतिशतले घटेर आठ खर्र्ब ४२ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो कर्जा २५ दशमलव सात प्रतिशतले बढेर आठ खर्र्ब ९६ अर्ब ४२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ ।

बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३२ दशमलव एक प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी सात खर्ब ५७ अर्ब पाँच करोड रुपैयाँ अर्थात् ८९ दशमलव आठ प्रतिशत कर्जा लगानीमा रहेको छ । रसुवा जिल्लामा सबैभन्दा कम २६ करोड रुपैयाँ अर्थात् शून्य दशमलव शून्य तीन प्रतिशत मात्र कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार अधिकांश औद्योगिक प्रतिष्ठानहरुको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा रहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०७९ असार मसान्तसम्ममा वाणिज्य बैंकका १८ सय सात, विकास बैंकका तीन सय २१, वित्त कम्पनीका एक सय छ तथा लघुवित्त वित्तीय संस्थाका सात सय ६९ गरी जम्मा तीन हजार तीनवटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसमध्ये काठमाडौं  जिल्लामा सबैभन्दा बढी अर्थात् एक हजार एक सय ७२ तथा रसुवा जिल्लामा सबैभन्दा कम अर्थात् ४९ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । २०७४ को मौद्रिक नीतिमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्नुपर्ने व्यवस्थापश्चात् बागमती प्रदेशका सबै एक सय १९ स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति छ । बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा नौ दशमलव चार प्रतिशतले वृद्धि भई २०७९ असार मसान्तमा ३५ खर्ब ९ अर्ब ९४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९ दशमलव २८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा ११ दशमलव चार प्रतिशतले वृद्धि भई २६ खर्ब २१ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७४ दशमलव चार प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार अघिल्लो वर्ष यस्तो अनुपात ७३ दशमलव तीन प्रतिशत रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x