Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअव्यवस्थित र कुरूप बन्दै भीमदत्त पार्क

अव्यवस्थित र कुरूप बन्दै भीमदत्त पार्क


धन बहादुर जप्रेल
कञ्चनपुर, फागुन २७
महेन्द्रनगरको बजार क्षेत्रमा रहेको मनोरञ्जन स्थल पार्क पछिल्लो दिनहरुमा दिनप्रतिदिन फोहोर र कुरुप बन्ने क्रम बढिरहेको देखिन्छ । पार्कभित्र झाडी र बुट्यानले सिंगारिँदै गएको देखिन्छ । महान सहिद भीमदत्त पन्तको सम्झनामा निर्मित उक्त पार्क हाल मनोरञ्जन स्थल भन्नलायक नरहेको पार्कमा घुम्न आएकाहरुले गुनासो गरेका छन् । उक्त पार्कको नाम सुदूरपश्चिमका किसान नेता भीमदत्त पन्तको नामबाट नामाकरण गरि ‘महान सहिद भीमदत्त पन्तको स्मृति उद्यान’ राखिएको छ ।

‘पार्क क्षेत्रको भित्री भागमा रहेको कुनै पनि क्षेत्रमा सरसफाइ गरिएको छैन, पार्कको जताततै झाडी नै झाडी र बुट्यान उम्रिएर हिड्न सक्ने अवस्था छैन तर पनि सम्बन्धित निकाय भने पार्कभित्र जानबाट टिकट मात्र लिइरहेको छ’ पार्कमा घुम्न आएका अंकित चौधरीले भने । झाडी बुट्यान हटाएर पार्कलाई खुला र सफा गर्न भने व्यवस्थापन पक्षले ध्यान दिन नसकेको चौधरीले बताए । यस्तै अर्का अवलोकनकर्ता कृष्ण विकले पार्क एकदम दयालाग्दो अवस्थामा रहेको बताए ।

‘महेन्द्रगर आएको बेला यँहा पार्क छ, भन्ने थाहा पाएँपछि घुम्न आएको तर यहाँभित्र छिरेपछि पार्कको अवस्था देख्दा दया लाग्यो ।’ भीमदत्त स्मृति पार्क मनोरञ्जन स्थलका रुपमा निर्माण गरिएको स्थल हो । यसभित्र बाल उद्यान, पोखरी, चमेना गृहको स्थापना गरिएको छ । साथै गोष्ठीका लागि एउटा हल भएको भवन पनि निर्माण गरिएको छ । पार्कभित्रै सरस्वतिको मन्दिर पनि निर्माण गरिएको छ । पार्क भित्र वस्नका लागि उचित ठाउँहरु प्रशस्त मात्रामा राखिएका छन् । मनोरञ्जनका लागि पार्क निर्माण गरिएको भएपनि त्यस पार्क स्थलको उचित व्यवस्थापन नगरिदाँ हाल झाडी र बुट्यानले हिड्न सम्म ग्राहो हुने अवस्था सिर्जना भइसकेको छ र तर पनि उचित झाडी फडानी गरेर पार्कलाई सफार व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकाय मौन रहेको पाइएको छ ।

हाल पार्कभित्रको पोदरी पनि बिग्रिएर गनाउने अवस्थामा पुगेको छ र पाखरी वरिपरिको घेरावार पनि भत्काइएको छ । बच्चाहरुले खेल्ने विभिन्न सामग्रीहरु बिग्रिएका छन् । पार्कको किनारा क्षेत्रमा सरसफाई नगर्दा हिँड्न नसकिने अवस्था सिर्जना भएको छ । बुट्यानहरु काटेर जलाउनुपर्ने अवस्था आइसक्दा पनि त्यसतर्फ ध्यान दिएको छैन । पार्कको स्मारक वरिपरि समेत फोहोर पातपतिङ्गर र काँडा झाडीहरु भरिएका छन तर सफाइमा ध्यान दिएको छैन । पार्कको अवलोकन गर्नका लागि आएका अवलोकनकर्ताहरुबाट पार्कले दश रुपैयाँ शुल्क लिने गर्दछ। उक्त पैसा पार्कको व्यवस्थापन गर्नमा भन्दा पनि व्यक्तिगत हितमा लगाइएको देखिन्छ । पार्कमा दैनिक करिब एक सयदेखि डेढ सयको औसतमा अवलोकन गर्न मान्छेहरु आउने गरेका छन् । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले पार्क क्षेत्रलाई व्यवस्थापन गर्नका लागि जिम्मेवारी दिएको बताएका छन् ।

नगर प्रमुख विष्टका अनुसार स्थानीय पार्क व्यवस्थापनका निम्ति निजी क्षेत्रलाई जिम्मेवारी दिने सम्झौता भएको छ । त्यो सम्झौता जननिर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिला नै भएको उनले बताए । ‘यो सम्झौताअनुरुपको काम नभएको गुनासो आएपछि मैले कार्यालयको तर्फबाट स्थलगत रिपोर्ट पेश गर्न निर्देशन गरेको छु, त्यो रिपोर्ट प्राप्त भएपछि आवश्यक निर्णय लिन सबैलाई अपिल गर्नेछु’, उनले भने । भीमदत्त नगरपालिकाले पार्क क्षेत्रको पार्कको रेखदेखको जिम्मा रवि के सीलाई दश वर्षका लागि ठेक्का दिएको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिह धामीले बताए ।

उनलाई वि.सं. २०६८ सालमा दश वर्षका लागि ठेक्का जिम्मा दिएको थियो । उनलाई वार्षिक ७० हजार नगरपालिकालाई तिर्ने गरेर ठेक्कामा जिम्मा लगाइएको धामीले बताए । यसमा वार्षिक रुपमा पाँच प्रतिशत वृद्धि हुदै जाने समेत सहमति भएको थियो । उनले पार्कको व्यवस्थापनका लागि पहल चाल्ने प्रयास भइरहेको बताए । ठेक्का पट्टाका लागि ठेकेदारलाई जिम्मा दिइएको भए पनि ठेकेदारले पार्कको उचित सरसफाइ र व्यवस्थापन गर्न तिर ध्यान नदिँदा पार्क क्षेत्र झाडी र बुट्यानले भरिएर झाडी क्षेत्रका रुपमा विकसित भइरहेको देखिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x