Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविलासी वस्तुको व्यवसायबाट विश्वकै धनी बनेका बर्नार्ड आर्नाउ

विलासी वस्तुको व्यवसायबाट विश्वकै धनी बनेका बर्नार्ड आर्नाउ


काठमाडौं । विश्वकै धनी उनी ट्विट गर्दैनन्, सामान्य जीवनशैलीमा रमाउँछन्, विलासी वस्तुको व्यवसाय गर्छन् । बर्नार्ड आर्नाउ पछिल्लो समय सर्वधनाढ्य बनेका टेस्ला र स्पेसएक्सका अर्बपति इलोन मस्कलाई पछि पारेका छन् । उनी फ्रान्सका हुन् । एलभीएमएचका यी मालिकले गत मंगलबारमात्रै ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार उनले मस्कलाई उछिनेर विश्व धनी बनेका थिए । यो उनले पहिलोपटक पाएको स्थान हो । फ्रान्स वा पूरा युरोपभरबाटै आजसम्म कसैले पनि यो स्थान खोस्न सकेका थिएनन् ।

७३ वर्षीय यी अर्बपति पहिलेदेखि नै अर्बपति वरीयतामा रहँदै आएका छन् । मस्क र अन्य अर्बपतिको दाँजोमा उनी विरलै सार्वजनिक दृश्यमा आउँछन्, सामाजिक सञ्जालमा निष्क्रियप्रायः रहन्छन् । एलभीएमएच अर्थात् मोइत हेनेसी लुइस भुइटन एसईका डम पेरिग्ननदेखि क्रिस्टियन डायर–टिफानी एन्ड कम्पनीसम्मका ७५ लेबल रेन्ज छन् तर बर्नार्ड भने देशभित्र सामान्य जीवनयापनमा रमिरहेका छन् ।

उनीसँग १ खर्ब ७० अर्ब ८० करोड अमेरिकी डलर सम्पत्ति रहेको अनुमान छ । उनले युरोपेली शिल्पकौशलको माध्यमबाट एलभीएमएचलाई विश्वकै ठूलो विलासी वस्तु उत्पादकमा रुपान्तरण गरेका छन् । एलभीएमएचका मार्क ज्याकोब्स र लुइस भुइटनमा रहेको भर्जिल एबोल, क्रिस्टियनस्थित राफ साइमन्स र सिलाइनको फोयब फिलोले महत्त्वाकांक्षी डिजाइनरलाई सिक्ने अवसर दिएको छ । यी सबैले परम्परागत प्रकृतिका ब्रान्डलाई नवीनतासँग संयोजन गर्छन्, युवा उपभोक्तालाई जोड्छन् ।

मक्किएको बजारले यो वर्ष बर्नार्डको केही सम्पत्तिमा ह्रास ल्याइदिएको थियो । उनले सन् २०२२ मा ७.२ अर्ब डलर गुमाए । तर विश्व धनी सूचीमा दबदबा राखिरहने प्रविधि अर्बपतिले भन्दा राम्रो गर्न सफल भए । कोभिड संकटको प्रभाव घट्दै गर्दा उच्च उत्पादनहरुको माग केही बढ्यो ।

पेरिसमा रहेको एलभीएमएचले गत वर्ष ६८ अर्ब डलरको बिक्री गरेको थियो । जुन सन् २०२० को महामारीबाट राम्रो व्यावसायिक पुनरावृत्ति हो । उक्त कम्पनीमा बर्नार्ड र उनको परिवारको ४८ प्रतिशत सेयर रहेको छ । जहाँ उनीहरुले ६४ प्रतिशत ‘भोटिङ राइट्स’ पाउँछन् ।

बुधबार सुरुवाती पेरिस ट्रेडिङमा कम्पनीको सेयर ०.४ प्रतिशतले घट्न पुग्यो । यसका बाबजुद कम्पनीको बजार मूल्य ३ खर्ब ६४ अर्ब युरो रहेको छ जुन युरोपकै ठूलो मूल्य हो ।

सन् १९४९ मा उत्तरी फ्रान्सको राउबाक्समा बर्नार्डको जन्म भएको थियो । उनले इन्जिनियरिङ स्कुल पोलिटेक्निकमा अध्ययन गरेका थिए । सन् १९८१ मा अमेरिका जानुअघि उनी औद्योगिक निर्माणमा केन्द्रित पारिवारिक व्यवसाय फेरेट साभिनेलमा जोडिएका थिए । जहाँ उनले सम्पत्ति विकासमा काम गरे ।

सन् १९८४ मा फ्रान्स नै फर्किएका उनले बाउसाक सेन्ट फ्रेरेस नामको ऋणमा डुबेको टेक्स्टाइल ग्रुपको स्वामित्व लिँदै विलासी सामानको व्यवसायमा हात हालेका थिए । त्यो ग्रुपले क्रिस्टियन डायर नामका रत्नसम्बन्धी कम्पनीको स्वामित्व लिएको थियो । कम्पनीका अन्य धेरै व्यवसायलाई छाडेर उनी एलभीएमएचमा बहुमत सेयर नियन्त्रणतर्फ अग्रसर रहे । जसको मुख्य दुई कम्पनी लुइस भुइटन र मोइत हेनेसी थियो । जुन सन् १९८७ मा गाभिएर एक बनेको थियो ।

त्यसपछिका तीन दशकमा उनले एलभीएमएचलाई विश्वभर ५५ सयभन्दा बढी स्टोर खोली स्याम्पेन, वाइन, स्पिरिट्सजस्ता पेयपदार्थ, फेसन, लिदरजन्य वस्तु, घडी, गरगहनाजस्ता पहिरनसम्बन्धी र होटेल, पर्फ्युम र कस्मेटिक्सजस्ता अन्य वस्तु व्यवसायमा चिनाए । चीन विश्वमा मुख्य बजार बन्दै गरेको राम्रोसँग बुझेका उनले सन् १९९२ मा बेइजिङमा पहिलो लुइस भुइटन स्टोर खोलेका थिए ।

एलभीएमएचले यसै वर्ष आफ्ना प्रमुख कार्यकारी अधिकृतको उमेरहदको व्यवस्था हटाएको छ । योसँगै उनलाई ८० वर्षसम्म त्यो पदमा बस्ने बाटो खुलेको छ । सामान्य जीवनका पारखी बर्नार्डले गत अक्टोबरमा नै एलभीएमएचले आफ्नो निजी जेट विमान बिक्री गरेको बताएका थिए । फ्रान्समा अर्बपतिका विमानहरु ट्राक गर्ने ट्विटर एकाउन्टहरुले कार्बन उत्सर्जन लगायतका विषयमा उनीहरुलाई हैरान पारिरहेका हुन्छन् । पछिल्लो समय यसबारे राम्रै बहस समेत हुनथालेको छ । केही राजनीतिज्ञले नै निजी विमान राख्न प्रतिबन्ध लगाउनेदेखि कर तिराउनेसम्मको प्रस्ताव गरिररहेका छन् ।

‘यी सबैका बीच ग्रुपसाग एउटा विमान थियो र हामीले त्यसलाई बेच्यौँ’, बर्नार्डले रेडियो अन्तर्वार्तामा भनेका थिए, ‘परिणामतः अहिले म जहाँ गए पनि कसैलाई थाहा हुँदैन किनकि म जहिले विमान प्रयोग गर्छ, भाडामा लिएर गर्छु ।’

एलभीएमएचमा बर्नार्डले आफ्नै विरासत बनाइरहेका छन् । उनका दुई विवाहबाट पाँच सन्तान छन् जो कम्पनीभित्रैका ब्रान्डहरुमा काम गर्छन् । उनकी दोस्रो सन्तान ४५ वर्षीय एन्टोइनीले क्रिस्टियन डायर एसईमा अझै ठूलो भूमिका पाएकी छिन् । बर्नार्ड कडा रुपले डाइटिङ गर्छन् र नियमित रुपमा टेनिस खेल्छन् । यसबाहेक कला संग्रहका पारखी समेत रहेका छन् ।

ब्लुमबर्गका अनुसार बर्नार्डले क्रिस्टियन डायरमा लिएको ९७.५ प्रतिशत सेयरबाट आम्दानी गर्छन् । एलभीएमएचमा क्रिस्टियन डायरले ४१ प्रतिशत नियन्त्रण गर्छ । त्यसबाहेक उनको परिवारले एलभीएमएचको झण्डै ६ प्रतिशत थप सेयर समेत लिएको छ । बर्नार्डसँग अनुमानित क्यास र अन्य सम्पत्ति गरी १० अर्ब ३० करोड डलर रहेको छ । ब्लुमबर्गको वेल्थ इन्डेक्समा सन् २०१२ मा समावेश भएयता सर्वधनाढ्य अर्बपतिको पहिलो वरीयतामा आउने बर्नार्ड पाँचौँ व्यक्ति हुन् । यसअघि कार्लोस स्लिम, बिल गेट्स, जेफ बेजोस र मस्क आएका थिए । ब्लुमबर्गबाट अनुवाद


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x