सुनको भाउ किन आकाशियो ?
काठमाडौं । सुनको विश्व बजारलाई हेर्ने हो भने दिनप्रतिदिन उच्च भएको छ । जुन हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्षमा सुनमा बढाएको भन्सार दरका कारण नेपाली बजारमा पनि अन्तर्राट्रिय बजारको तुलनामा सुनको मूल्य अझ बढी हुन पुगेको हो । तसर्थ हाल सबै आर्थिक क्षेत्रहरू खस्किँदा पहेलो धातु सुनको मूल्यमा भने वृद्धि हुन पुगेको छ । यसरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विसं २०७८ फागुन २५ गते सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यो भाउ बढेसँगै झण्डै दुई वर्षअघिको उच्च मूल्य रेकर्ड गरिएको थियो । फलतः केही दिनअगाडिदेखि सुनको भाउमा ९० हजारदेखि ९६ हजारसम्मको उतारचढाव रहेको सुनको भाउ हाल आएर एक लाखभन्दा बढी हुन गएको छ । यसरी सुनको भाउमा दिनप्रतिदिन उतारचढाव भई नै रहेको छ ।
विसं २०७७ साउन २३ गते प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्यधिक बढ्दा मूल्य आकाशिएको थियो । यसको साथसाथै विसं २०७८ फागुन २३ गते अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्य दुई हजार डलर नाघेको थियो । यसरी अर्कोतिर हेर्ने हो भने विश्वव्यापीरूपमा विभिन्न किसिमका समस्याहरूले गर्दा आर्थिक संकटको साथसाथै लगानीका स्रोतहरू हराउँदै गएको कारणले गर्दा धेरै लगानीकर्ताहरूले सुनमा लगानी गर्न थालेकोले सुनको भाउ बढेको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । त्यसरी हाम्रो नेपाली बजारमा भने डलरको मूल्य घटेको छ जसले गर्दा सुनको मूल्य बढ्न गएको हो । यसरी युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकाशिएको व्यवसायीहरू बताउँछन् ।
संसारभरि हाल मौज्दात सुन एक लाख ७१ हजार तीन सय टन रहेको अनुमान गरिएको छ । यसमध्ये सबैभन्दा बढी अमेरिका आठ हजार एक सय ३४ टन, जर्मनी तीन हजार तीन सय ६७ टन, इटाली दुई हजार चार सय ५२ टन, फ्रान्स दुई हजार चार सय ३६ टन, रसिया दुई हजार दुई सय ९९ टन, चीन एक हजार नौ सय ४८ टन, भारत छ सय ४२ टन र नेपाल ६ दशमलव ४ टन सुन मौज्दात रहेको अनुमान गरिएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेको संख्यामा बढेकोले मूल्य बढेको हो । मूलतः विश्वका ठूला बैंकमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताले सुन बजारलाई सुरक्षित क्षेत्रका रूपमा अँगाल्दै लगानी बढाएको दाबी सम्बन्धित क्षेत्रको रहेको पाइन्छ । यसर्थ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । यसरी बढ्ने हो भने सुनको मूल्य २३ सयदेखि २५ सय डलरसम्म पुग्ने आकलन सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेका छन् ।
गत विसं २०७६ साउन २१ गते प्रतितोलाको ६८ हजार रुपैयाँमा करोबार भएको थियो । तर, विगत तीन वर्षपछि तोलामा ३२ हजारभन्दा रुपैयाँले बढेको छ । अतः नेपालीहरूको सुन किन्न सक्ने क्षमता त्यति धेरै नभएको कारणले गर्दा उनीहरूलाई दैनिक हातमुख जोड्न नै समस्या भएको छ । यसबाट सरकारीस्तरमा समेत सुन कम आयात भएको खण्डमा भन्सार महसुसबाट अर्बौँ रुपैयाँ आम्दानीबाट वञ्चित हुन पुगेको छ । विश्वमा द्वन्द्व, युद्ध, दैवी प्रकोपजस्ता घटनाले सुनको मूल्य बढ्ने गर्छ । यसले गर्दा पेपर मनी, करेन्सीतिर व्यवसायी लागेका छन् । त्यस्तै विश्वमा सुनखानीहरू रित्तिँदै गएका छन् भने नयाँ सुनखानी भेटिएका छैनन्, जसका कारण सुनको आपूर्ति घट्दै गएको छ । यिनै विविध कारण सुनको मूल्य बढ्दो क्रममा रहेको निष्कर्ष छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुन महंगो हुनुमा भने अमेरिकी डलरको भाउ, अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा उथलपुथल र भन्सारदर नै प्रमुख कारण रहेको छ । देशकै भन्सारका कारण प्रतिकेजी सुनमा दुई लाख रुपैयाँ मूल्य बढेको छ । मूल्य बढेसँगै नेपाली बजारमा सुनको कारोबार हवात्तै घटेको सम्बन्धित क्षेत्रको दाबी रहेको छ ।
विश्वका रिजर्भ बैंकहरूमा निक्षेपहरू धेरै जम्मा भएका कारणले गर्दा शून्य दशमलव ५ प्रतिशतमा ब्याज घटिसकेको अवस्था विद्यमान छ । यसको साथै अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ३ प्रतिशत निक्षेपकर्ताको ब्याज दरलाई शून्य दशमलव २५ प्रतिशतमा घटाएको कारणले गर्दा निकट भविष्यमा निक्षेपकर्ताहरूले नै बैंकमा पैसा राखेबापत व्याज तिर्नु पर्नेगरी ब्याजदर कतौटी भएको छ । सोहीबमोजिम अरु देशहरूले पनि यो नियम लागू हुनसक्ने भएकाले निक्षेपकर्ताहरूले पैसा बैंकमा नराखेर सुन किन्न लागेको हुन सक्ने विज्ञहरूको भनाइ रहेको छ । यो कारणले गर्दा पनि सुनको मूल्य बृद्धि भएको हो । त्यसै गरी संसार भरीका केन्द्रीय बैंकहरूले आ–आफ्नो देशहरूको मुद्रा छाप्नको लागि विभिन्न मुद्रालगायत सुन राख्नुपर्ने प्रावधान रहेको छ । यस प्रावधानअनुसार पहिले किलोका किलो सुन राख्ने चलन थियो भने हाल आएर धनी देशहरूले टनका टन सुन राख्नाले सुनको भाउमा भारी वृद्धि भएको हो । यसमा जति बढी सुन राख्यो उति नै आफ्नो देशको मुद्राको क्रयशक्ति बढ्ने भएको हुनाले यसो भएको हो ।
विश्वव्यापीरूपमा कोरोनाको महामारीको कारणले गर्दा उद्योग धन्दा, व्यापार, कलकारखाना बन्दा भएको परिस्थितिमा लगानीकर्ताहरूले सुनमा लगानी गर्न थालेकाले सुनको मूल्य वृद्धि भएको हो । यसर्थ संसारभरिका रिजर्भ बैंकहरूको विश्वासनीयताको कारणले गर्दा आर्थिक प्रणाली नै परिवर्तन हुन गएको छ । मुलुकमा भने ०७६ जेठ १५ गते संशोधित आर्थिक नियमअनुसार प्रति १० ग्राम सुनको भन्सार दर रेट साढे छ हजारबाट वृद्धि भई साढे आठ हजार कायम भएको छ ।
हाम्रो देशको आर्थिक वर्ष २०५३/५४ देखि २०७६/७७ सम्म पछिल्ला २३ वर्षको अवधिमा नेपालमा सुनको आयात विभिन्न आर्थिक वर्षहरूमा गरी जम्मा जम्मी ३४ लाख १७ हजार नौ सय ९९ लाखबराबर रुपैयाँ खरिद गरी आयात भएको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित एक तथ्यांकमा उल्लेख गरिएको थियो । विसं २०६६ पछि सुन आयात ठूलो परिमाणमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यसका अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ । यसमा नेपाल आयात हुने सुन सबैभन्दा बढी आर्थिक वर्ष २०६६/६७ मा चार लाख १६ हजार तीन सय ५८ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम सुन आयात भएको आर्थिक वर्ष २०६२/६३ मा २९ लाखबराबरको मात्र सुन नेपालमा आयात भएको थियो ।
समग्रमा भन्नुपर्दा सुनको मूल्य घटनाले उपभोक्ता वा आमजनतालाई प्रत्यक्षरूपमा फाइदा नै छ, तर वित्तीय क्षेत्रमा भने यसले नराम्रो स्थितिको उजागर गर्छ । अहिलेको वित्तीय बजारमा धितो कर्जाको एउटा सोझो, सजिलो र प्रबल वस्तु सुन पनि हो । यस भनाइको तात्पर्य यो पनि हो सुनको भाउ बढ्नाले वित्तीय क्षेत्रमा भने राम्रो स्थिति हुने संकेत गरेको देखाएको छ । फलतः सुनमा जेलिएका मुख्य चार पक्षमा व्यवसायी, उपभोक्ता, लगानीकर्ता र सरकार हुन्छन् । मूलतः सबैले सुनमा सुनौलो भविष्य वा अवसर देखेका हुन्छन् । तर विश्लेषकहरू भन्छन् यसरी भाउ अचाक्ली बढ्दा कसैलाई पनि खुशी मात्रै भएको चाहिँ छैन । यसर्थ विश्वका धेरै ठाउँमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्छन् । तर नेपालमा सुनका उपभोक्तालाई त्यो विकल्प कहिलेकाहीँ प्राप्त हुँदैन ।
यसरी जन्मदेखि मृत्यु संस्कार, बिहे, ब्रतबन्ध तथा अन्य घरव्यवहारमा सुनको प्रयोग गर्नैपर्ने अवस्थामा उपभोक्तालाई बढेको भाउले पिरोल्छ । यसमा व्यवसायीहरूचाहिँ सुनको भाउ बढ्दा घट्दो सुनको व्यापार कारोबारले चिन्तित छन् । अतः सुन भनेको गैरवित्तीय सम्पत्ति हो जुन अनुत्पादक मानिन्छ । यसमा मानिसहरूले फाइदा देखेर लगानी गर्न थाले भने त्यो राम्रो हुँदैन । यो देख्दा पहेलो र सुन्दर सुनलाई अर्थशास्त्रको भाषामा भन्ने हो भने अनुत्पादक वस्तु पनि हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया