Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘बन्चरे डाँडाका जनतामाथि अन्याय हुँदैन’

‘बन्चरे डाँडाका जनतामाथि अन्याय हुँदैन’


काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने आश्वासन दिएका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा उनले यहाँका जनतामा माग पूरा गर्ने बचन दिए ।

मन्त्री चौधरीले स्थानीयसँग भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईँहरूकै कारण काठमाडौं सफा भएको छ । त्यसकारण तपाईँहरूका जायज माग सम्बोधन हुनेछन् । अधिकांश माग पूरा हुने चरणमा पनि छन् ।’

‘पहुँच भएकाहरूले बन्चरे डाँडाबाट लाभ लिइरहेका छन् । तर यहाँका गरिब, सोझा मान्छेहरू वास्तवमै मारमा परेका छन् हजुर । यसमा पनि ध्यान दिनुप-यो’, स्थानीयको भनाइमा गम्भीर हुँदै मन्त्री चौधरीले थपे, ‘हरेक ठाउँमा बदमासी गर्नेहरू हुन्छन् । त्यस्तालाई तपाईँहरू पनि पहिचान गर्नुस् । तपाईँहरूमाथि सरकारले अन्याय हुन दिन्न ।’ सहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्यान्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।

‘पहिलो चरणअन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्वारलगायतका निर्माण कार्य थिए । हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौँ’, उनले भने, ‘सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ ।’ त्यसैगरी दोस्रो चरणअन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरी शतप्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर कटुवालको भनाइ थियो ।

तीनपिप्लेदेखि बन्चरे डाँडा जाने मुख्य ढुवानीमार्गको मर्मतकार्य अन्तिम चरणमा रहेको र यसका साथै सहरी विकास मन्त्रालयले फोहोरमैला ढुवानीका लागि छुट्टै र छोटो दूरीको वैकल्पिक मार्गको डीपीआर सम्पन्न गरी ठेक्का दिन लागिएको पनि इन्जिनियर कटुवालले जानकारी दिए । पहिलो चरण र दोस्रो चरणको सम्भौता रकम क्रमशः ४४ करोड १३ लाख चार हजार दुई सय २४ रुपैयाँ र ४९ करोड २५ लाख ६० हजार तीन सय पाँच रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x