Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविद्युत् व्यापार नै व्यापारघाटा कम गर्ने आधार

विद्युत् व्यापार नै व्यापारघाटा कम गर्ने आधार


काठमाडौं । वर्षौँदेखि नै नेपालको आर्थिक विकासको एक मुख्य आधारको रूपमा जलविद्युत्लाई मान्दै आए पनि सय वर्षको विद्युत्को इतिहासमा नेपालका एक चौथाइ जनताले पनि विद्युत् सुविधा पाउन सकेका थिएनन् । देशभित्र अथाह विद्युत्को सम्भावना भनिए पनि त्यसको उपयोग हुन नसक्दा ऊर्जा संकटकाल नै लगाउनु परेको थियो । केही समयअघिसम्म देशव्यापी लोडसेडिङको मारमा रहेको मुलुक अहिले लोडसेडिङमुक्त मात्र भएको छैन, देशमा उत्पादित विद्युत् छिमिकी मुलुकमा निर्यात गरेर आय आर्जन गर्नसमेत सुरुवात गरेको छ । यसरी नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा जलविद्युत् क्षेत्र देखिएको छ ।

कृषि, उद्योग र सेवाजस्ता हरेक क्षेत्रहरूको विकास र विस्तारका लागि आवश्यक पर्ने ऊर्जाको माग अब देशभित्रै उत्पादित जलविद्युत्ले पूरा गर्न सक्ने देखिएको छ । अर्कातर्फ, चुलिँदै गएको व्यापारघाटालाई न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने देखिन्छ । विद्युत् उत्पादन, प्रशारणदेखि आन्तरिक खपतमा वृद्धि ल्याउनुको साथै पहिलोपटक भारतलाई विद्युत् निर्यात समेत गरेर उल्लेखनीय कार्य भएको छ । अन्तरदेशीय विद्युत्रका लागि नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति प्राप्त भएको छ । भारतको इनर्जी एक्सचेन्ज मार्केट (आईएक्स)मा ३९ मेगावाट बिजुली निर्यात सुरु भएको छ ।

१० अर्बभन्दा बढीको निर्यात : नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो । चालू आवको पुस ३ सम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ । यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ ।

प्राधिकरणले गत कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । ती दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरूपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ बाट छवटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा दरमा बिक्री गरिएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो ।

भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री हुनेगरेको छ । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुँदै आएको छ । यो व्यवस्थाअनुसार हरेक ब्लकको मूल्य फरक–फरक हुने गर्दछ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपियाँ २२ पैसा रहेकोे छ ।

सुरुमा दुईवटा विद्युत्गृहलाई स्रोत मानी दैनिकरूपमा ३९ मेगावाट आइएक्समा बिक्री हुँदै आएकामा जेठ २७ गतेदेखि दैनिक छवटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुन थालेको थियो । कात्तिक १८ गतेदेखि चिलिमे जलविद्युत् आयोजना र कात्तिक ३० गतेदेखि सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात सुरु भएको छ । योसँगै भारतर्फ निर्यात हुने विद्युत्को स्वीकृत क्षमता चार सय नौ मेगावाट पुगेको छ । पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३ दशमलव ५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ ।

भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत कात्तिक २५ गते सोलुखोलाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको छ । यसरी प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नौ मेगावाट विद्युत् भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ । प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य ४ मेगावाटको लिखुखोला ‘ए’, २५ मेगावाटको काबेली ‘बी’–१, २२ मेगावाटको माइखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव २ मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला र २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेस गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो । नेपालमा निर्माण भएका अधिकांश जलविद्युत् आयोजना जलप्रवाहमा आधारित भएकाले नदीको वहाव घट्नेबित्तिकै उत्पादन पनि घट्ने गर्दछ । वर्षायाममा नदीको वहाव बढ्ने भएकाले धेरै र हिउँदमा वहाव घट्ने भएकाले थोरै बिजुली उत्पादन हुन्छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, गत फागुन मसान्तसम्म मुलुकमा कुल जडित विद्युत् क्षमता दुई हजार दुई सय पाँच मेगावाट पुगेको जनाएको छ, जसमध्ये जलविद्युत्बाट दुई हजार २२ मेगावाट विद्युत् उत्पादन भएको छ । यसरी हेर्दा कुल क्षमताको ३ प्रतिशतभन्दा कम मात्र उत्पादन हुँदा समेत नेपालले विद्युत् निर्यात गर्ने क्षमता राखेको छ भने यदि यसले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको खण्डमा देशको अर्थतन्त्रमा चमत्कारी परिवर्तन ल्याउन सक्ने सम्भावना देखिन्छ ।

एक वर्षअघिसम्म बिजुली खेर गइरहेको अवस्था थियो । विद्युत् निर्यातको कुरा वर्षौँदेखि अड्किरहेकामा ढिलै भए पनि भारतले ३९ मेगावाट बिजुली खरिद ग¥यो । सबैभन्दा नजिकको बजार भारत हो । उहाँहरूको बिजुली खरिद गर्ने केही नीति–नियम छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गत चैतमा भएको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहमति भयो । विद्युत् उत्पादन, प्रसारण र वितरणमा त्यसले विशेष हिस्सा राखेको छ । बंगलादेशलाई बिजुली बिक्री गर्ने विषयमा पनि केही कामहरू भएका छन् । नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संवाद गर्ने तयारी हुँदै छ । तीनवटै देश नेपाल, भारत र बंगलादेश बिबीआईएनमा छौँ । विद्युत् उत्पादन, प्रसारण र बिक्री गर्ने विषयमा सहमति भएको छ । नेपाल र भारतबीच केही समय पहिले भएको संयुक्त ऊर्जा सहकार्यसम्बन्धी अवधारणामा पनि सो विषय समेटिएको छ । अहिले पनि बंगलादेशले भारतबाट बिजुली लगिरहेको छ । सुनकोसी तेस्रो आयोजना बंगलादेशसँग मिलेर निर्माण गर्ने तयारी भएको छ । नेपालले अब श्रीलंकालाई पनि बिजुली बिक्री गर्न सक्ने अवस्था छ ।

विद्युत् निर्यात बन्द : चिसो बढ्दा काठमाडौं उपत्यकालगायतमा विद्युत् माग बढेको तर खोलानालामा पानीको वहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको छ । देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको छ । विद्युत् आयात करिब चार महिनासम्म रहने र आगामी वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने प्राधिकरणले जनाएको छ । विगतका वर्षमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुनेगरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुनेछ ।

व्यापारघाटा कम गर्ने आधार : अहिले मुलुकमा सबैभन्दा चिन्ताको विषय भनेको दिनप्रतिदिन बढ्दै गएको उच्च व्यापारघाटा र यसले देशको समग्र अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई लिने गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा व्यापारघाटा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रूपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । मुलुकको वार्षिक बजेटकै हाराहारीमा व्यापारघाटा पुग्नुलाई सुखद मान्न सकिँदैन । यसको न्यूनीकरणका लागि तुलनात्मक लाभ लिन सक्ने नयाँ वस्तुहरूको निर्यात बढाउनुपर्ने आवश्यकता देखिन्छ । यसको एउटा विकल्प जलविद्युत्लाई लिन सकिन्छ । नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरूबाट हुने गर्दछ । यस्ता स्वच्छ ऊर्जाका स्रोतहरूबाट अहिले २२ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने पाँच हजार मेगावाट निर्माणाधीन रहेका छन् । नेपालले प्रदूषित ऊर्जा स्रोतहरूबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रूपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x