दिगो विकासको अभियानमा सहकारी किन ?
काठमाडौं । सहस्राब्दी विकासको लक्ष्य कार्यान्वयनको समीक्षापछि सन् २०१५ पछिको विकास एजेण्डाका रुपमा दिगो विकासको लक्ष्य (२०१६–२०३०) लाई सदस्य राष्ट्रहरुको सामूहिक प्रतिबद्धतासहित संयुक्त राष्ट्रसंघले अनुमोदन ग-यो ।
यस विश्व विकास मार्गचित्रले स्वस्थ्य, शिक्षित, सुरक्षित, सुशासित र सुसंस्कृत समाज निर्माण गर्ने अभीष्ट राखेको छ । जसका लागि १७ लक्ष्यहरु, १६९ सहायक लक्ष्यहरु र २३२ जति मापनयोग्य सूचकहरु र ४०० भन्दा बढी सहायक सूचकहरु निर्धारण गरिएका छन् । यी लक्ष्यहरु पूरा भएपछि मात्र सम्पूर्णतामा विकास हुन्छ र त्यो दिगो हुन्छ । सबै मुलुकका राष्ट्रिय तथा स्थानीय नीति, योजना तथा कार्यक्रममा दिगो विकास लक्ष्यलाई समावेश गर्ने काम अभियानकै रुपमा भइरहेको छ ।
विभिन्न तहका सरकार, निजी क्षेत्र, समुदाय, सहकारी र नागरिक तहको सामूहिक प्रयासपछि मात्र दिगो विकास लक्ष्य वा हामीले चाहेजस्तो समाज प्राप्त गर्छौँ र हामीले चाहेजस्तो विश्व निर्माणको अभियानमा समाहित हुनसक्छौँ । नेपालको सन्दर्भमा कुरा गर्दा दिगो विकास लक्ष्य, विकासशील मुलुकमा रुपान्तरण हुने लक्ष्य, सन् २०३० मा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य र समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच एकअर्कासँग आबद्ध छन् । यी सबै लक्ष्य प्राप्त गर्ने अभियानमा सार्वजनिक क्षेत्र, निजी र सहकारी एवम् सामुदायिक क्षेत्रको पारस्परिक सहकार्यसहितको भूमिका आवश्यक रहन्छ ।
दिगो विकास लक्ष्यप्राप्तिका लागि प्रतिवर्ष करिब २० खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ भने सार्वजनिक, निजी तथा सहकारी क्षेत्रले उपलब्ध साधन परिचालन गर्दा पनि वार्षिक प्रतिवर्ष पाँच खर्ब ८५ अर्ब अतिरिक्त साधन परिचालन गर्नुपर्ने देखिन्छ । यो लक्ष्यप्राप्ति केवल लगानीको मात्र विषय होइन, यो नतिजा प्राप्त गर्न खास क्रियाकलापलाई अभियानकै रुपमा सक्रियता देखाउनुपर्ने विषय पनि हो । सबै भूमिका निर्वाहकर्ताबाट गरिएका काम संस्थागत भएनन् भने दिगो विकासको एजेण्डा एक्सनमा जाँदैन, केवल एजेण्डा मात्र बन्दछ । सहकारी दिगो विकासका लक्ष्यहरु पूरा गर्न महत्वपूर्ण यी तीन अर्थमा महत्वपूर्ण देखिन्छ:
– सहकारी आफैँ आर्थिक संगठन हो, जसले बचत तथा लागनीमार्फत आर्थिक सहभागिता, रोजगारी सिर्जना, आपूर्ति सम्बन्ध र सीप विकासमार्फत आर्थिक संरचनालाई क्रियाशील र संस्थागत गर्न सक्दछ ।
– सहकारी सामाजिक संगठन हो, जसले सुरक्षा, सहयोग, योगदान, सामाजिक हेरचाह, न्याय र समावेशितामार्फत सामाजिक रुपान्तरणको प्रक्रियालाई संस्थागत गर्न सक्दछ ।
– सहकारी वातावरणीय पात्र हो,जसले प्राकृतिक स्रोत साधन व्यवस्थापन र उपयोगमा दिगोपना प्रवद्र्धन गर्न सदस्य र समुदाय परिचालन गर्न सक्दछ ।
वास्तवमा दिगो विकासका प्रमुख तीन आयामहरु आर्थिक, सामाजिक र वातावरणीय नै हुन् । अब प्रश्न रह्यो कुन–कुन लक्ष्यमा कसरी के कति योगादन गर्न सक्दछ भन्ने । सहकारी बहुआयामिक विषय भएकोले यसले दिगो विकासका सबै लक्ष्यहरुलाई सम्बोधन गर्ने हैसियत राख्छ । त्यसमा पनि प्रमुख लक्ष्यहरुमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुन सक्छ । लक्ष्य नं १ वा सबै स्वरुपको गरिबी र विपन्नता अन्त्य गर्ने कार्यमा सहकारी स्वयम् क्रियाशील भइरहेको छ भने थप क्रियाशीलताको सम्भावना पनि छ ।
यस लक्ष्यप्राप्तिका लागि सहकारीले उद्यम विकासमार्फत उत्पादनशील रोजगारी सिर्जना, स्थानीय स्रोत उपयोगमार्फत आय सिर्जना, उत्पादनको प्रशोधन, बजारीकरणमार्फत मूल्य शृंखला विकास, सामाजिक पुँजी निर्माणमार्फत वञ्चितीकरण न्यूनीकरण, सामाजिक चासो र आवश्यकताप्रतिको जागरण, उद्यमशील संस्कृति विकास, बजार पहुँच विस्तार, खानेपानी, विद्युत्, सरसफाइजस्ता आधारभूत सेवाबाट जीवनस्तर सुधार एवम् बाह्य आर्थिक प्रभावविरुद्ध लड्ने क्षमता निर्माण गर्न सक्दछ । यी कार्य अन्य लक्ष्यप्राप्तिका पनि आधार बन्ने गर्दछन् । किनकि दिगो विकासका क्षेत्रगत लक्ष्यहरु एकल महत्वका नभई अन्तर्सम्बन्धित छन् ।
लक्ष्य नं २ कृषि उत्पादन, खाद्य सुरक्षा र पोषणसँग सम्बन्धित छ । यस लक्ष्यका सम्बन्धमा नेपालले सन् २०३० सम्ममा भोकमरी अन्त्य, सुरक्षित एवम् पोषणयुक्त खानाको सुनिश्चितता, सबै स्वरुपका कुपोषण अन्त्य, कृषिको उत्पादकत्व र आयमा दोब्बर वृद्धि, खाद्यान्न उत्पादनमा दिगो वृद्धि र २०२० सम्ममा बीज वनस्पति बैंक र जाति प्रजातिको आनुवांशिक सुरक्षा गर्ने परिमाणात्मक सूचकहरु स्थापना गरिएका छन् ।
यी लक्ष्य प्राप्त गर्न सहकारी अभियानले प्रत्यक्ष र परोक्ष योगदान गर्न सक्दछन् । सहकारी खेती प्रवर्द्धन, व्यावसायिक उत्पादन, कृषि सामग्री व्यवस्थापन, मूल्य शृंखलाका विस्तार एवम् ज्ञान, सीप र प्रविधि विकासमार्फत खेतीपाती सुधारजस्ता प्रत्यक्ष उपाय र वित्तीय पहुँच, पोषण चेतना विस्तार, खानपान व्यवहार परिवर्तन एवम् खनेपानी, सरसफाइ, विद्युत्को व्यवस्थाबाट जीवनस्तर सुधारजस्ता अप्रत्यक्ष उपाय अवलम्बन गर्न सक्छन् । यी क्रियाकलापले लक्ष्य ६ (खानेपानी र सरसफाइ) एवम् लक्ष्य ७ (दिगो ऊर्जा) सँग पनि सम्बन्धित छन् । यी क्रियाकलापमा सहकारीहरु अहिले पनि लागिरहेका छन्, सहकारीका लागि यी काम नौलो पनि होइनन् । कार्य सघनता र विस्तार मात्र भए पुग्छ ।
शिक्षा र स्वास्थ्यसम्बन्धी लक्ष्य (लक्ष्य ३ र ४) प्राप्तिमा सहकारीले शिक्षा तथा स्वस्थ्य केन्द्रहरु स्थापनामार्फत सदस्य, उनीहरुको परिवार र सामाजिक उत्तरदायित्वको अवधारणाअनुरुप आमसर्वसाधारणलाई सेवा सुविधा दिन सक्छन् भने सामाजिक पैरवी र बहस समेत सञ्चालन गर्न सक्दछन् । लक्ष्य ५ लैंगिक समानता, महिला र किशोरीको सशक्तीकरण हो । अहिले पनि समकालीन समाजमा महिला र किशोरीहरु विभेद, हिंसा र उत्पीडनमा छन् । शासकीय एवम् सामाजिक प्रक्रिया र परिवार तहमा लैंगिक सीमा विभाजन छ र सार्वजनिक एवम् सामाजिक भूमिकामा महिला पछि छन् । किशोरीहरु झनै जोखिममा छन् । चेतना, सीप र सामथ्र्य विकास महिल सशक्तीकरणको पहिलो आधार हो । आर्थिक अवसरमाथिको पहुँच विस्तार नभई अन्य विषय पाखामा पर्दछ ।
यसर्थ सहकारीले रोजगारी तथा जीवन निर्वाहका अवसर विस्तार गरेर, संगठित हुुने अवसरमार्फत स्वरोजगारी सिर्जना गरेर, सहकारी संस्थाका विभिन्न तहमा महिला सहभागिता विस्तारमार्फत नेतृत्व क्षमता विकास गरेर, महिला केन्द्रित व्यवसायमार्फत महिला विकास र सशक्तीकरणको कार्यक्रम सञ्चालन गरेर, सोलिडारिटी एक्सन गरेर, सामाजिक जिम्मेवारीमार्फत महिलाविरुद्धका कुप्रथा हटाउन र संस्कार परिवर्तन गरेर, नीति कार्यक्रममा सहभागिता एवम् साझेदारी विकास गरेर र जीवनपर्यन्त सिक्ने मञ्चका रुपमा सहकारी संस्थालाई उपयोग गरेर दिगो विकास लक्ष्यप्राप्तिमा योगदान गर्न सक्छन् ।
लक्ष्य ८ आर्थिक वृद्धि, उत्पादनशील रोजगारी र सम्मानित कार्य व्यवहारसँग सम्बन्धित छ । आर्थिक वृद्धि दिगो, विस्तृत र उच्च बनाउन सहकारी आफैँमा आर्थिक अभियान हो । स्थानीय पुँजी, प्रविधि तथा प्रतिभाको परिचालन आर्थिक संरचना परवर्तनका लागि सहकारीले परम्परादेखि नै गरिआएका काम हुन् । उत्पादनका साधनहरुको सहभागितामार्फत रोजगारी र स्वरोजगारी विस्तारमा सहकारी औचारिक र अनौपचारिक दुवै तौरबाट काम गर्दछन् । मर्यादित श्रम सम्बन्ध र कार्यव्यवस्था सुधारका लागि सहकारी आदर्श संस्था हो ।
संस्थाभित्रको कार्य व्यवहार, कार्य संस्कृति मर्यादित बनाउने, आन्तरिक सुशासन कायम गर्ने, सूचना एवम् जानकारी पारदर्शिता कायम गर्ने, सामाजिक अभियानमार्फत कामप्रति सकारात्मक सोच विकास र श्रमप्रति सम्मान गर्ने वातावरण निर्माण गर्न सहकारी आफैँमा अभियान हो । यो सापेक्षिक रुपमा बृहत् सामाजिक सञ्जाल पनि भएकोले यसले अरु संस्था र क्रियाकलापलाई पनि मर्यादित बनाउन प्रदर्शन प्रभाव पार्न सक्छ । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको विषय सहकारीमार्फत मर्यादित कार्य रहेको थियो ।
उत्थानशील पूर्वाधार निर्माण, औद्योगिक विकास र नवप्रवर्तन (लक्ष्य ९) मा सहकारी भूमिका सहकारी संरचनामार्फत सानाठूला उद्यम व्यवसाय सञ्चालन, सहकारी ग्राम सञ्चालन, वित्तीय पहुँच विस्तार, पूर्वाधार व्यवस्थापनमा सहजीकरण, श्रमशक्तिको विकास र स्थानान्तरण, परम्परागत रैथाने प्रविधि संरक्षण, आधुनिक सीप र ज्ञानको अवलम्बन र नवप्रवर्तन विकासमा रहन सक्तछ । सबै प्रकार र तहको असमानता हटाउने (लक्ष्य १०) लक्ष्यप्राप्तिका लागि असमानताविरुद्ध बहस, पैरवी र नागरिक शिक्षा विस्तार, असमान नीति र व्यवहार विरुद्धमा कार्यसूची तय, सहकारी भावना र सामाजिक न्यायका पक्षमा कार्य गर्ने कामका लागि सहकारी आफैँ परिचालित हुन्छन्, हुँदै पनि आएका छन् ।
उत्थानशील एवम् सुरक्षित सहर (लक्ष्य ११) का लागि सहकारी आवास व्यवस्थापन, सहकारी यातायात र अन्य सहरी सेवा एवम् बस्ती व्यवस्थापन, बस्ती सौन्दर्यीकरणमा सदस्य परिचालन र आधारभूत सेवा व्यवस्थापनमा सहकार्य सहकारीको कार्य भूमिका हो । कतिपय सहकारीहरु यस कार्यमा क्रियाशील छन् । वाग्मती सफाइ तथा एक घर एक बिरुवा सहकारीका अभियान हुन् । तर सहकारी आवासको अवधारणा नेपालमा व्यवहारमा आइसकेको छैन । दिगो उत्पादन तथा उपभोग (लक्ष्य नं १२) मा सहकारीबाट धेरै अपेक्षा गरिएको छ । उत्पादन संगठन दिगो एवम् वातावरणमैत्री नभएसम्म दिगो विकासको लक्ष्य कागजी बन्छ । त्यस्तै उपभोग व्यवहार किफायती र प्रकृतिसम्मत नभएमा पनि दिगो विकासको एजेण्डा औपचारिक मात्र देखिन्छ ।
यस सम्बन्धमा सहकारीले उत्पादक उपभोक्ताबीच आपूर्ति सम्बन्ध विकास, स्रोत दक्षतामा सुधार, खेरजाने वस्तुहरु न्यूनीकरण, आहारव्यवहार परिवर्तन, प्रकृतिसँग संगतिपूर्ण विकास, वातावरणमैत्री उत्पादन, उत्पादनमा रासायनिक विषादि तथा हानिकारक वस्तु नियन्त्रण, सामाजिक विकृति नियन्त्रणमा सहयोग एवम् सचेतना कार्य गर्न सक्छन् । यही कुरालाई लक्ष्य गरेर नै गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको विषय सहकारीमार्फत दिगो समाज राखिएको थियो । लक्ष्य नं १३ पनि कतिपय सन्दर्भमा यस लक्ष्यसँग जोडिन सक्छ ।
यस्तै लक्ष्य नं १६ ले दिगो विकासका लागि शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाज र संस्थागत सुशासनका लक्ष्यहरु राखेको छ । सबै स्वरुपको हिंसामुक्त समाज, कानुनी शासनको प्रत्याभूति, न्यायमा समान पहुँच, गैरकानुनी वित्तीय र हातहतियार ओसारपसार नियन्त्रण र संगठित अपराध नियन्त्रण, सबै प्रकारका भ्रष्टाचार र घुसलाई सारभूत रुपमा घटाउने, सबै तहमा प्रभावकारी, जवाफदेही र पारदर्शी संस्थाहरु विकास अनि सकारात्मक सोच, व्यवहार शुद्धीकरण र आत्मिक चेतना विकास भएपछि मात्र स्थापित लक्ष्य प्राप्त गर्न सकिन्छ ।
सहकारी सहभागितात्मक लोकतन्त्रका पाठशाला बन्न हुन्, आफ्नो संस्थाभित्रको कार्यव्यवहारलाई पारदर्शी र जवाफदेही बनाएर सहकारी अरुलाई उदाहरण बन्नसक्छ । सहकारी सदाचार र सकारात्मक क्रियाशीलताको संस्कृति विकास गर्ने संरचना हुन् । यो मानव मूल्य र सुशासनको विस्तारक हो । यसले भ्रष्टहरुलाई सामाजिक बहिष्कार गर्ने अभियान चलाउन सक्छ । नागरिकलाई अधिकारका साथसाथै कर्तव्यप्रति जागरुक गराउन र सकारात्मक सोच, व्यवहार शुद्धीकरण र आत्मिक चेतना विकासमा सदस्य परिचालन गर्नसक्छ । सहकारी अभियान यसर्थ दिगो विकासको एजेण्डालाई एक्सनमा लैजाने राज्य संरचनाबाहिरको सबैभन्दा सशक्त माध्यम हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया