Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमा सहसचिवहरुको जिम्मेवारी परिवर्तन

अर्थमा सहसचिवहरुको जिम्मेवारी परिवर्तन


काठमाडौँ, फागुन २८
अर्थ मन्त्रालयले केही सहसचिवको जिम्मेवारी परिवर्तन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव रामशरण पुडासैनी राजस्व सचिव भएपछि उक्त महाशाखामा धनीराम शर्मालाई ल्याएको छ । पुडासैनी बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भएको बेला शर्मा राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए । अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखालाई शक्तिशाली महाशाखाको रुपमा लिइन्छ । त्यही भएर बजेटमा जानका लागि सहसचिवबीच तीव्र प्रतिस्पर्धा हुन्छ ।

केदार प्रसाद पनेरु अर्थ मन्त्रालयमा सहसचिवका रुपमा प्रवेश गरेपछि धेरैले उनी नै पुडासैनीपछि बजेट प्रमुख हुने अनुमान लगाएका थिए । तर, बजेटमा आउन शर्मा सफल भएका छन् । बजेटको प्रमुख भएर बस्दा देशकै बारेमा धेरै जानकारी हुन्छ । सबै मन्त्रालयको बजेटसम्बन्धी फाइल बजेट महाशाखा हुँदै अगाडि बढ्नुपर्ने अवस्था छ । त्यही भएर सबैले बजेटको प्रमुख बन्न शक्ति लगाउने गरेका छन् ।

यस्तै, शर्मा रहेको राजस्व व्यवस्थापन महाशाखाको प्रमुखमा यज्ञप्रसाद ढुंगेललाई लगिएको छ । बजेट निर्माण गर्ने बेलामा राजस्व व्यवस्थापन महाशाखाको भूमिका पनि महत्वपूर्ण हुन्छ । देशको राजस्व नीतिको तर्जुमा, राजस्व सम्बद्ध कानुनहरुको निर्माण र परिमार्जन, राजस्व संकलनको वार्षिक लक्ष्य निर्धारण र असुली, अनुगमनलगायत समग्र राजस्व प्रशासनको बीचमा समन्वयको जिम्मेवारी राजस्व व्यवस्थापन महाशाखालाई हुन्छ ।

विकास निर्माणका आवश्यकतालाई परिपूर्ति गर्ने, थप स्रोतको परिचालन र राजस्व प्रशासनको भूमिकालाई प्रभावकारी बनाउनुको साथै राजस्व नीतिलाई समयसापेक्ष रुपमा परिमार्जन र परिष्कृत गर्ने दायित्व राजस्व महाशाखाको रहेको हुन्छ । अर्थले आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुखमा रामप्रसाद घिमिरेलाई लगेको छ । यसअघि घिमिरे वित्तीय, संघीयता समन्वय महाशाखा प्रमुख थिए । घिमिरेको ठाउँमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।

अर्थमा अरु सहसचिवहरुको साबिक जिम्मेवारीमा कुनै परिवर्तन गरिएको छैन । केही सहसचिवले जिम्मेवारी परिवर्तनका लागि चासो दिए पनि अहिले कुनै परिवर्तन नगरिएको अर्थका एक अधिकारीले जानकारी दिए । अर्थमा बाबुराम भण्डारीलाई प्रशासन महाशाखा, उदयराज सापकोटालाई कानुन तथा फैसला कार्यान्वयन महाशाखा, उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा, श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र झम्क प्रसाद आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यरत छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x