Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररसुवागढी र तातोपानी नाका खुलाउने तयारी

रसुवागढी र तातोपानी नाका खुलाउने तयारी


काठमाडौँ, फागुन २८
भारतमा कोरोना भाइरस (कोभिड–१९) देखा परे पनि नेपाल–भारत नाका सहज रुपमा सञ्चालन भइरहेको छ । चीनतर्फको रसुवागढी र तातोपानी नाकालाई पनि खोल्न व्यवसायीहरुले दबाब दिएका छन् । व्यवसायीहरुको दबाब बढेपछि सरकारले विभिन्न मन्त्रालयसँग छलफल गरेर ती दुई नाका खोल्ने तयारी गरेको हो । चीनतर्फको नाका खुलेपछि नेपालमा कपडा र विद्युतीय सामग्रीको सहज आपूर्ति हुनेछ ।

‘दक्षिणतिरबाट आउने वस्तुमा कुनै समस्या छैन’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले भने, ‘तातोपानी र रसुवागढी नाकामा रहेका वस्तु नापजाँच गरेर ल्याउन सुझाव आएको छ । विभिन्न मन्त्रालयसँग छलफल गरेर टुंगो लगाइन्छ ।’

बैठकमा सहभागी निजी क्षेत्रका व्यवसायीहरुले चीनमा कोरोना भाइरसको प्रभाव कम भएको कारण अहिले भन्सारमा जम्मा भएको सामान ल्याउन दिनुपर्ने माग गरेका थिए । तर, नेपालतर्फ परीक्षण गर्ने ल्याब नभएको कारण ती सामान कहिले ल्याउने भन्नेबारे मन्त्रालयहरुले निर्णय लिन सकेका छैनन् । व्यवसायीहरुले भने ती नाका खोल्न सरकारलाई दबाब दिँदै आएका छन् ।

अर्थमन्त्री खतिवडाका अनुसार वस्तुको अभाव हुने भनेर फैलाइएको अनावश्यक हल्लाको पछि नलाग्न नागरिकलाई राज्यले अनुरोध गर्नुपर्ने धारणा पनि निजी क्षेत्रबाट आएको छ । बैठकमा सरकारले निजी क्षेत्रलाई वस्तुको अभाव हुन नदिन आग्रह गरेको थियो । भारतबाट केही औषधिजन्य वस्तुबाहेक अन्य कुनै पनि आयातमा समस्या नभएको अर्थमन्त्री खतिवडाले दाबी गरे । नेपालमा औषधि छ महिनाका लागि पुग्नेछ भने भारतले प्रतिबन्ध लगाएको केही औषधि पनि खोल्ने विषयमा सरकारले कूटनीतिक पहल थालिसकेको छ । नेपाल औषधि व्यवसायी सङ्घले ८० प्रतिशतसम्म औषधि स्वदेशमै उत्पादन गर्नसक्ने जनाएको छ । स्वदेशमै औषधि उत्पादन गर्ने हो भने आवश्यक सहयोग गर्न सरकार तयार रहेको भनेर आश्वासन दिइएको डा. खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

भारतीय सीमानाका सूचारु भएको कारण नेपालमा खाद्यान्न, ग्यासलगायत सबै पेट्रोलियम पदार्थ आयातमा कुनै समस्या छैन । तर नेपालमा अभाव हुने अफवाह फैलिएको कारण सर्वसाधारणले ग्यास र खाद्यान्न स्टक राख्न थालिसकेका छन् । नेपालीले नुनसमेत स्टक राख्न थालेपछि सरकार दबाबमा परेको छ । ग्यासको माग बढेपछि सरकारले विदाको दिन पनि भारतबाट थप ग्यास आयात गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ ग्यास सिलिण्डर बिक्री नगर्न व्यवसायीलाई आग्रह नै गरिसकेको छ । पुराना सिलिण्डरमा ग्यास भरिदिने तर नयाँ सिलिण्डर बिक्री नगर्न आग्रह गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ । भारतबाट आयात ठप्प भए पनि सरकारसँग तीन महिनाको लागि पुग्ने पेट्रोलियम पदार्थ स्टक छ । तर, अहिले भारतीय नाका सुचारु भएको कारण कुनै किसिमको आपूर्तिमा कुनै किसिमको समस्या छैन ।

बैठकमा उद्योग, व्यवसायीहरुले सिमानाका र विमानस्थलबाट आवतजावत गर्ने व्यक्तिको स्वास्थ्य परीक्षणलाई व्यवस्थित गर्न सरकारसँग अनुरोध गर्दै नेपालबाट विदेश जाने सबै स्वस्थ छन् भन्ने सन्देश विश्वमा पु-याउन जरुरी छ भनेर सरकारको ध्यानाकर्षण गराएका थिए । कोरोनाका बारेमा मनगढन्ते प्रचार रोक्न व्यवसायीले सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन् । बैठकमा नेपाली औषधि व्यवसायी सङ्घले औषधि संवेदनशील वस्तु भएकाले औषधिमा कालोबजारी हुन नदिने प्रतिबद्धता जनाएका थिए । औषधि व्यवसायीसँग अहिले पनि झण्डै पाँच महिनालाई पुग्ने औषधि छ ।

उक्त समितिको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् । यसअघि फागुन २२ मा बसेको बैठकले कोरोना भाइरस भित्रिन नदिन गरिएको विगतको प्रयासको समीक्षा गर्दै थप उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो । सरकारले कुनै समस्या परेमा तत्कालै खटिने गरी मुख्य सचिवको नेतृत्वमा ‘एक्सन कमिटी’ बनाइसकेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) एक व्यक्तिमा देखिए पनि उपचारपछि निको भएर घर फर्किएको सरकारले जनाएको छ । सरकारले उच्च सावधानी अपनाउँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा ११० देशमा फैलिएको कोभिड–१९ बाट अहिलेसम्म एक लाख १३ हजार ६ सय ७२ प्रभावित भएका छन् । भाइरस सङ्क्रमितमध्ये चार हजार १२ को मृत्यु भइसकेको छ । नेपालभित्र अहिलेसम्म थप कुनै पनि स्वदेशी तथा विदेशीलाई कोरोना भाइरस देखा परेको छैन । कोभिड–१९ को विषयमा सरकारले सबै राजनीतिक दलसँग छलफल गर्ने तयारी पनि गरेको छ । निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि सरकारले छलफल गर्न लागेको बैठकपछि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x