Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबैंकहरूको ब्याजविरुद्ध नाडाले दोस्रो चरणको आन्दोलन गर्ने

बैंकहरूको ब्याजविरुद्ध नाडाले दोस्रो चरणको आन्दोलन गर्ने


काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बैंकहरूले बढाएको ब्याजदरविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । नाडाले चितवनमा देशभरका अटो व्यवसायीहरुको भेला गरी बैंकहरुको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधनको कर्जामा कायम गरिएको जोखिम भार र एलसी खोल्नुअघि नै आयातका लागि मार्जिन राख्नुपर्नेलगायतका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शन, ०७९ तत्काललाई स्थगन गर्नुपर्ने, एलसी खोल्नुअघि कायम गरिएको मार्जिनका सन्दर्भमा पहिलेकै व्यवस्था लागू गर्नुपर्ने, बैंकको ब्याज तथा प्रिमियम दर नियन्त्रणमा राख्न आवश्यक व्यवस्था गर्नुपर्ने नाडाको माग छ । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा चितवनको सौराहामा पुस ८ र ९ मा भएको अटोमोबाइल व्यवसायीको बृहत् भेला तथा केन्द्रीय कार्य समितिको बैठकले नाडाको आगामी कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावनालगायतका विषयमा नाडा केन्द्रीय कार्यसमिति र सातै प्रदेश एसोसिएसनबीच छलफल भएको थियो । कार्यक्रममा नाडाका पूर्वअध्यक्षहरुको पनि उपस्थिति थियो ।

यस्तै नाडाले दोस्रो चरणको आन्दोलनसँगै वार्ता र आन्दोलन दुवैलाई एकैसाथ अघि बढाउने जनाएको छ । साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने नाडाले उल्लेख गरेको छ । छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायी धमाधम पलायन हुने अवस्था रहेको व्यवसायीहरुले गुनासो गरेका थिए । नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरेको थियो । पहिलो चरणको कार्यक्रमअन्तर्गत नाडाले गत मंसिर २२ गते काठमाण्डौ लगायत सातवटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।

सो भेलामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा विशेष प्रस्तुति दिएका थिए । त्यसैगरी नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए भने नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापति सुनिल रिजालले व्यवसायीहरुले गर्र्ने भनिएको दोस्रो चरणको आन्दोलनको ढाचाँबारे जानकारी गराए । कार्यक्रममा सातै प्रदेशका नाडाअन्तर्गत रहेका अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्षहरुको सहभागिता थियो । यस्तै चितवनमा नै बसेको नाडाको १३औँ कार्यसमितिको बैठकले नाडाको आउँदो ४६औँ वार्षिक साधारणसभा आगामी माघ २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x